
झापा । बेपत्ता भएको एक साता बित्दा पनि नेपाल टेलिकम सुरुङ्गा शाखाका निमित्त कार्यालय प्रमुख दिलिप सुवेदी अझै भेटिएका छैनन् । गत शनिबार बिहान ९ बजेदेखि कनकाई नगरपालिका ३, सुरुङ्गाको नयाँबस्तीस्थित क्वाटरबाट सुवेदी बेपत्ता भएका थिए ।
बेपत्ता सुवेदीको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक सुरज कार्कीले बताए । उनले अहिलेसम्म कुनै सुराक फेला नपरेको जानकारी दिए । ‘कोही कसैसंग लेनदेन देखिदैन, कसैसंग रिसइबी पनि देखिदैन’, प्रनाउ कार्कीले भने,‘ परिवारले दिएको हुलियाका आधारमा खोजी कार्य र अनुसन्धान जारी छ ।’
अधिकृत छैठौ तहका कर्मचारी ३१ वर्षीय सुवेदीले नेपाल टेलिकम सुरुङ्गा शाखामा गत फागुन महिनादेखि काम गर्न थालेका हुन् । त्यहाँका कार्यालय प्रमुख असार महिनामा बिर्तामोडमा सरुवा भएपछि उनले सुरुङ्गा शाखाको जिम्मेवारी सम्हालेका थिए । बिराटनगर नगरपालिका ४ राजवंशी चौकमा स्थायी घर भएका सुवेदी टेलिकमले उपलब्ध गराएको क्वाटरमा बस्दै आएका थिए ।
आफ्ना श्रीमान् आफैं नहराएको सुवेदीकी श्रीमती ब्रजुना भट्टराई सुवेदीको भनाइ छ । ‘क्वाटरमा वालेट, स्कुटीको चाबी, एटीएम कार्ड, मोबाइलको चार्जर, चस्मा छोडिएको छ’, उनले भनिन्, ‘घर बस्ने लुगामा उहाँ हिँड्नुभएको छ ।’
ब्रजुनाले आफ्ना श्रीमानसंग अन्तिम पटक शनिबार बिहान ८ बजेर ४९ मिनेटमा कुराकानी भएको र कुराकानीमा सामान्य कुरामात्रै भएको बताएकी छन् । फेरि दिउँसो १२ बजे कुरा गर्दा मोवाइल अफ पाएको उनले बताइन् । सुवेदीको मोबाइल अझै अफ रहेको प्रहरीले जनाएको छ ।