झापाको बुद्घशान्ति गाउँपालिका वडा नं १ स्थित कर्णाली एजुकेसन फाउन्डेसनको छब्बिसौं वार्षिकोत्सव विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरी फाउन्डेसनले आफ्नो स्थापना दिवस मनाएको छ ।
शनिबार विद्यालयको प्राङ्गणमा नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीहरूले गीत, नृत्य, नाटक लगायत विभिन्न आफ्नो कला प्रस्तुत गरेका थिए । कार्यक्रममा शिक्षक, कर्मचारीलगायतले समेत आफ्नो नृत्य प्रस्तुत गर्नुभएको थियो ।
विद्यालयका प्रबन्ध निर्देशक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छत्रबहादुर कार्कीको अध्यक्षतामा आयोजित वार्षिकोत्सव कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ, झापाका संयोजक राजकुमार बिकको प्रमुख आतिथ्यता रहेको थियो ।
वार्षिकोत्सव कार्यक्रममा शिक्षक तारानिधि खतिवडा, कर्मचारी उमेश भट्टराईलाई सम्मान गरिएको थियो । त्यसै गरी एसईई परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याउने अनुशा लावतीलाई ‘कर्णाली शैक्षिक पुरस्कार’ र नवीन विमली र जुनु विमलीद्वारा स्थापित ‘जयदिव्य शैक्षिक पुरस्कार’ वितरण गरिएको थियो ।
कार्यक्रममा झापा प्याब्सनका अध्यक्ष गौरीमान फागो, बुद्धशान्ति गाउँ पालिकाका उपाध्यक्ष भवानी प्रसाद खतिवडा तथा पालिका शिक्षा शाखा प्रमुख कमल निरौलाको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला प्याब्सन, पालिका प्याब्सनका प्रतिनिधिको समेत उपस्थिति रहेको थियो ।
त्यसै गरी स्थानीय सामुदायिक तथा संस्थागत विद्यालयका प्रधान अध्यापक, शिक्षक, स्थानीय शिक्षा तथा समाजसेवी, अभिभावक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राजकुमार बिकले भन्नू भयो , ‘विद्यालय शिक्षामा नानीहरूले व्यावहारिक शिक्षा पनि सिक्नुपर्छ ।’ ‘कार्यक्रम हेरेपछि कर्णालीमा मैले त्यो पाए“ ।’ उनले वर्तमानमा बालबालिकाहरू अन्य कुराले प्रभावित हुँदै गएकाले शिक्षाप्रति आकर्षण गर्नु आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै विशिष्ट अतिथि गौरीमान फागोले भने, ‘कर्णाली एजुकेसन फाउन्डेसन जिल्लाकै एक अब्बल विद्यालय हो । मैले यस विद्यालयलाई विगत चौध वर्षदेखि अवलोकन गरिरहेको छु ।’ कर्णालीले पठनपाठनका साथै अतिरिक्त क्रियाकलापमा समेत जिल्लामै आफूलाई स्थापित गरेको बताउनु भयो ।
विशिष्ट अतिथिकै रूपमा रहेका पालिका उपाध्यक्ष भवानी खतिवडाले सामुदायिक र संस्थागत दुवै विद्यालय एकसाथ अघि बढ्नुपर्ने बताए । यसका लागि पालिकाले विज्ञ टोली समेत गठन गरिसकेको र निकट भविष्यमा नै टोलीले सबै विद्यालय अनुगमन गरी परामर्श तयार गर्ने बताए । पूर्व प्राचार्य गङ्गाराम गड्तौलाले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो ।