
इटहरी । उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा जीवन पराजुली निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार पराजुलीले १,१८६ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्दी उम्मेदवार रञ्जु सिग्देल (चौलागाई) ले ८४७ मत प्राप्त गरिन् भने गायत्री कटवाल (भण्डारी) ले ५६३ मत प्राप्त गरिन् । यस्तै मणिन्द्रकुमार कटवालले ४० मत प्राप्त गरे । अध्यक्षमा कूल २,७९० मत खसेको थियो।
होटल व्यवसायी संघ इटहरीका वर्तमान अध्यक्षसमेत रहेका पराजुलीले व्यवसायीका हक, हित तथा समस्या समाधानकालागि काम गर्ने बताए ।
निर्वाचनमा वाणिज्यतर्फ ९ जनामध्ये पराजुली प्यानलबाट ५ र सिग्देल प्यानलबाट ४ जना उम्मेदवारले जित हात पारेका छन् । यस्तै उद्योगको ४ जनामध्ये पराजुली प्यानलबाट एक जनाले जित हात पार्दा सिग्देल समुहका तीन जना निर्वाचित भएका छन् । महिला प्यानलतर्फ भने दुवै जना पराजुली प्यानलका छन् ।