
झापाको बुद्धशान्ति २ स्थित जगदिश्वर शिव पञ्चायन मन्दिर ले जेष्ठमातापिता लक्षित स्वास्थ्य शिविर तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
निलकण्ठ डायगोनोष्टिक सेन्टर बिर्तामोडबाट आएका डाक्टर दिपेन्द्रप्रकाश ओली, दीक्षा ओली र सन्तोष भट्टराईको सहजिकरणमा भएको शिविरबाट १०० जना बढि मातापिताले प्रेसर, सुगर, थाइराइड, अक्सिजन लेबल चेक जाँच गरी स्वास्थ्य रहन भिटामिन, क्याल्सियम र फलफूल समेत वितरण गरिएको थियो । कार्यक्रममा विभिन्न रोगहरुबाट बच्ने उपायको विषयमा जानकारी दिइएको थियो ।
मन्दिर समितिका अध्यक्ष पुष्पराज न्यौपानेको अध्यक्षता, डाक्टर दिपेन्द्रप्रकाश ओलीको प्रमुख आतिथ्यता त्यस्तै जेष्ठ नागरिक संरक्षण चौतारी जयपुरका अध्यक्ष छविरमण विमली, बुधबारे सानासहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष ध्रुव ओली, निलकण्ठ डायगोनोष्टिकका संस्थापक ज्ञानेन्द्र प्रसाद ओली, बुधबारे जेसिजका पूर्व अध्यक्ष मुकेश भट्टराई लगायतको आतिथ्यतामा भएको कार्यक्रममा अध्यक्ष न्यौपानेले उपस्थित सम्पूर्णलाई शाब्दिक स्वागत गर्दै कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।
मन्दिर समितिको सभाहलमा संचालन गरिएको कार्यक्रममा जेष्ठ चौतारिका अध्यक्ष छविरमण विमलीले शुभकामना मन्तव्य राखेका थिए भने मन्दिर कार्य समितिका सचिव रामचन्द्र पौडेलले कार्यक्रम संचालन गरेका थिए ।