
सुनसरी — इटहरी उपमहानगरपालिकाले बिहीबारदेखि अनलाइनबाटै घरको नक्सा पास गर्न सुरु गरेको छ । इलेक्ट्रोनिक बिल्डिङ पर्मिट सिस्टम (इबीपीएस) सफ्टवेयर जडान गरेर बिहीबारबाट सुरु भएको उक्त सेवाको नगरप्रमुख हेमकर्ण पौडेलले उद्घाटन गरे । कागजरहित अवधारणा अनुसार अघि बढेको इटहरीले घर–नक्साको काम विद्युतीय प्रणालीबाट गर्ने व्यवस्था मिलाएको हो । छिटो–छरितो सेवा प्रवाहको साथै नगरवासीको सहजता र भवन निर्माण मापदण्डलाई थप प्रभावकारी बनाउन नक्सा पासलाई अनलाइन प्रणालीमा लगिएको नगर प्रमुख पौडेलले बताए ।
विद्युतीय प्रणालीबाट नक्सा पास गराउँदा सम्बन्धित व्यक्ति सेवा लिनको लागि लाइनमा बस्न र फाइल बोकेर दौडिरहन नपर्ने पौडेलको भनाइ छ । वार्षिक २ हजारको संख्यामा घर तथा भवन निर्माण भइरहेको इटहरीमा विद्युतीय प्रणालीबाट नक्सा पास गराउँदा फाइल सुरक्षित रहने तथा नगरलाई पनि तथ्यांक राख्न र जुनसुकै बेला खोज्न सहज हुने उपमहानगरले जनाएको छ ।
समयको माग, भवन निर्माण आचारसंहिता पालना र नक्सा बनाउने प्रक्रिया पारदर्शी गराउँदै इटहरीलाई स्मार्ट सहरको रुपमा विकास गर्ने योजना अन्तर्गत अनलाइन नक्सा पास प्रणाली थालिएको नगर प्रमुख पौडेलको भनाइ छ । सेवा प्रारम्भकै दिन पहिलो पटक अनलाइनबाटै नक्सा पास गर्ने इटहरी १ का आशिष कार्कीलाई सम्मान समेत गरिएको छ।यो प्रणाली अनुसार घर नक्सा दर्तादेखि सम्पन्नताको प्रमाणपत्र दिनेसम्मका काम अनलाइनबाट हुने इञ्जिनियर कैलाश तिम्सिनाले बताए । यसले सेवा प्रवाहमा हुने ढिलासुस्ती र बाहनाबाजीलाई निरुत्साहित गराउने उनको दाबी छ ।