
झापाको कनकाईस्थित धनुषकोटीधाम (भुरुंगा) मा सोमबार साँझ भएको सामुहिक लडाइँ (ग्याङफाइट) मा कनकाई नगरपालिका वडा नम्बर ४ का वड आध्यक्ष रोशन सुवेदीसमेत संलग्न भएको भन्दै उनीमाथि उजुरी परेको छ ।
दुई समूहबीच भएको झडपमा घाइते भएकाहरुले कनकाई ४ का वडा अध्यक्ष रोशन सुवेदीको अगुवाईमा रहेका युवाहरुले आफूमाथि आक्रमण गरेको बताएका छन् ।
झडपमा बिर्तामोड-५ का उमेश चौधरी र दिपक लिम्बू घाइते भएका थिए । सोमबार साँझ वनभोजमा रमाइलो गर्न गएका दुई समूहबीच खुकुरी हानाहान भएको थियो ।
बिर्तामोडबाट गएको वनभोज समूह र अर्को समूहका युवाहरुले मादक पदार्थ सेवन गरेर विवाद सिर्जना गर्दा झडप भएको प्रहरीले जनाएको छ । चौधरीको बिएन्डसी र लिम्बूको बिर्तासिटी हस्पिटलमा उपचार भइरहेको छ ।
पीडितहरुले इलाका प्रहरी कार्यालय अनारमनीमा दिएको उजुरीअनुसार धारिलो हतियार साथमा बोकेर आएका वडा अध्यक्ष सुवेदी, वडा नम्बर ३ बस्ने दलकुमार श्रेष्ठ, भवानी पाठक, मौसम पाण्डे, श्यामकुमार अधिकारी, वडा नम्बर २ बस्ने तीर्थबहादुर श्रेष्ठ, तुलाराम विश्वकर्मा, विमल श्रेष्ठ, पप्पु भन्ने धर्मेन्द्र दाहाल, भरत पाठक, मिलन मगरलगायत २०-२५ जनाको समूहले हुलहज्जत गरी खुकुरी निकाली सवारी चालक छविराम सुबेदीलाई प्रहार गर्दा बसको अगाडि तथा साइडको सिसामा क्षति भएको र अन्धाधुन्ध खुकुरी, तरबारले प्रहार गर्दा आफूहरुको टाउकोमा चोट लागेको बताएका छन,।
घाइतेहरुले उजुरी दिए पनि प्रहरीले अहिलेसम्म कसैलाई पनि पक्राउ गर्न सकेको छैन ।
उनीहरुले प्रयोग गर्ने दुईथान मोटरसाइकल र खुकुरी बरामद गरेको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी सुरज कार्कीले बताए ।