बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्थाको आठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
शनिबार रामजानकी मन्दिरको सभाहलमा संस्थाका अध्यक्ष पुष्प प्रसाद रिजालको सभापतित्वमा आयोजित साधारण सभाको प्रमुख अतिथिका रुपमा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल रहेका थिए ।
त्यस्तै बचत तथा ऋण सहकारी संघ झापाको कोषाध्यक्ष गोविन्द पौडेलको विशेष आतिथ्य, मेची आँखा अस्पतालका प्रशासन प्रमुख आलोक श्रेष्ठ लगायत विभिन्न संघ संस्थाका प्रतिनिधी, संचारकर्मी सहितको आतिथ्यमा सम्पन्न कार्यक्रमको संचालन संस्थाका सचिव चन्द्र अधिकारीले गरेका थिए ।
यता संस्थाका उपाध्यक्ष नारायण बरालले उपस्थित सम्पूर्णलाई शाब्दिक स्वागत गर्नुभएको कार्यक्रममा ‘आँखा दान, महादान’को इच्छापत्रमा हस्ताक्षर गर्ने महानुभावलाई सम्मानपत्रद्वारा सम्मान समेत गरिएको थियो ।
साधारण सभामा संस्थाले ७ जना जेष्ठ नागरिक, ५ जना उत्कृष्ट बचतकर्ता, ५ जना उत्कृष्ट ऋणी सदस्य र संस्थाकी उत्कृष्ट वर्ष कर्मचारीको रुपमा संगीता पौडेल भुजेललाई सम्मान समेत गरेको थियो ।
साथै सोही कार्यक्रममा एसइइ परीक्षामा उत्कृष्ट नतिजा ल्याउने संस्थाका सदस्यका २ छोरा जना २ जना छोरीहरुलाई पनि नगद सहित सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढकालले छोटो समयमा उल्लेख्य प्रगति गर्ने सहकारीको रुपमा बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था रहेको बताउनु भयो ।
त्यस्तै विशेष अतिथि गोविन्द पौडेलले सहकारीको छाता संगठनहरुले संस्थाको विकास, विस्तार र प्रर्वद्धनमा जिम्मेवार भएर अघि बढ्ने हो भने सहकारी क्षेत्रमा कुनै समस्या नआउने समेत बताउनु भयो ।
संस्थाले गत वर्ष २५ लाख ३३ हजार कुल नाफा गरेको र हाल सम्म कुल वसालत ८ करोड भन्दा बढि रहेको प्रतिवेदनमा उल्लेख छ ।