February 17, 2026

प्रहरीले झापा बिर्तामोडकी एकजना महिलालाई वैदेशिक रोजगारीको लागि बुल्गेरिया पठाइदिन्छु भनी ठगी गरेको आरोपमा पक्राउ गरेको छ ।पक्राउ पर्नेमा झापा बिर्तामोड-४ की ५७ वर्षीया आशा परियार रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

कार्यालयका प्रहरी उपरीक्षक अंगुर जिसीका अनुसार परियारले बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभन देखाउँदै रकम असुल्दै आएकी थिइन् ।

उनलाई कीर्तिपुर-९ बाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको जिसीले जानकारी दिए ।

रोजगारीका लागि बुल्गेरिया लैजाने भन्दै लामो समयसम्म झुक्याउँदै परियार सम्पर्कविहीन भएपछि पीडितहरुले कार्यालयमा जाहेरी दिएका थिए ।

<span;>उनीविरुद्ध दुई लाख रुपैयाँको बिगो रकम माग दाबी गरिएको कार्यालयले निकालेको सूचनामा उल्लेख गरिएको छ ।

झापाको बुद्धशान्ति ३ स्थित  बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिक उत्सवको स्मरणमा उक्त सहकारी संस्थाको आयोजना, सीतारमेश बहुमुखी क्याम्पस, बुद्धशान्ति १ को सहआयोजना र मेची आँखा अस्पताल, विर्तामोड ३ को प्राविधिक सहयोगमा मिति २०८१ चैत्र १४ गते बिहीबार एक दिने बृहत् निःशुल्क आँखा शिविर सम्पन्न भएको छ।

बिहीबार सीतारमेश बहुमुखी क्याम्पसको प्राङ्गणमा सम्पन्न उक्त शिविरमा मेची आँखा अस्पतालको प्राविधिक टोलीले ३३९ जनाको आँखा परीक्षण गरी आवश्यक परामर्श प्रदान गरेको बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लि का अध्यक्ष एवं सीतारमेश बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख पुष्प प्रसाद रिजालले जानकारी दिनुभयो ।

शिविरमा आँखा परीक्षण गराएका ९८ जनालाई  चस्मा वितरण गरिएको थियो भने २९७ जनालाई आवश्यक औषधि प्रदान गरिएको थियो।

साथै मोतियाविन्दु देखिएका ६ जनाको निःशुल्क शल्यक्रियाको लागि मेची आँखा अस्पतालमा विरामीहरुलाई पठाइएको जानकारी संस्थाका कार्यकारी प्रमुख चन्द्र अधिकारीले बताउनुभयो।

शिविरमा सहकारी संस्थाका शेयर सदस्य, क्याम्पसका शेयर सदस्य, समाजसेवी, प्राध्यापक, विद्यार्थी, जनप्रतिनिधिहरु, स्थानीय वासिन्दा तथा समाजेवीहरुको उपस्थिति रहेको थियो ।

सामाजिक सरोकारका विषयमा बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लि र सीतारमेश बहुमुखी क्याम्पसले समय समयमा अन्य सामाजिक क्रियाकलापमा समेत योगदान गर्नेगरेको पाइन्छ ।

झापाको बुद्धशान्ति गाउँपालिका-६ स्थित शान्तिनगर कृषि सहकारीले बुद्धशान्ति गाउँपालिकासँग दुई वर्षको लागि लिजमा लिएर सब्जी मण्डी सोमबारदेखि अनौपचारिक रूपमा संचालनमा ल्याएको छ।

सहकारीका उपाध्यक्ष तथा मण्डी संयोजक प्रदीप देव खतिवडा (सुजन) का अनुसार सोमबारदेखि नै स्थानीय क्षेत्रमा उत्पादन भएका अर्गानिक तरकारीको किनबेच सुरु भएको छ।

शान्तिनगर कृषि सहकारीका अनुसार टमाटर, सिमी, कोपि, भण्टा लगायतका तरकारी अब सहज रूपमा सर्वसुलभ मूल्यमा उपलब्ध हुनेछन्।

सहकारीका पदाधिकारी, सदस्य, स्थानीय किसान तथा व्यापारीहरूको उल्लेखनीय उपस्थितिमा संचालनमा आएको मण्डीमा चारआली लगायत विभिन्न स्थानबाट तरकारी व्यवसायीहरू सहभागी भएका थिए।

मण्डीको औपचारिक उद्घाटन भने चैत्र १६ गते हुने सहकारीले जनाएको छ।

सुर्खेतबाट कालीकोटको नरहरिनाथ-३ डाडामाडु जाँदै गरेको बोलेर जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् कर्णाली प्रदेश ०२००२ च ०७०७ नम्बरको गाडी मंगलबार साँझ ५:४० बजे नरहरिनाथ-३, कुमालगाउँस्थित इलाका प्रहरी कार्यालय कुमालगाउँ पछाडि झन्डै २० मिटर तल खसेको हो । दुर्घटनामा गाडी चालकसहित ८ जना घाइते भएको प्रहरीले जनाएको छ ।

गाडी ब्याक गर्ने क्रममा अनियन्त्रित भई खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको कालीकोटका प्रहरी प्रमुख डीएसपी टेकबहादुर रावतले बताए । दुर्घटनामा गाडी क्षति ग्रस्त भएको छ ।

मुग्लिन–नारायणगढ सडकखण्डको चौधकिलो भन्ने स्थानबाट ट्रक अनियन्त्रित भई त्रिशूलीमा खस्दा चालकको मृत्यु भएको छ । नारायणगढबाट मुग्लिङ तर्फ जाँदै गरेको बा प्र०३–००१ ख ४८७४ नम्बरको कोइला बोकेको ट्रक अनियन्त्रित भई आज बिहान त्रिशूली नदीमा खसेको हो ।

दुर्घटनामा परी ट्रक चालक रौतहट घर भएका रामनारायण यादवको मृत्यु भएको र सहचालक रौतहटकै असुन्द्र कुमार यादव घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनाका कारण ट्रक पूर्णरुपमा क्षतिग्रस्त भएको छ । ट्रकको आधा भाग त्रिशूली नदीमा डुबेको बताइएको छ । 

झापाको कन्काई नगरपालिकामा खुकुरी प्रहारबाट श्रीमतीको मृत्यु भएको छ । घटनामा श्रीमान घाइते भएका छन् ।

कनकाई नगरपालिका वडा नं. ५ नारायणदल चौकमा आज बिहान खुकुरी प्रहारबाट लालबहादुर सार्कीकी श्रीमती ४० वर्षीया मनिषा मंग्रान्तीको घटनास्थलमानै मृत्यु भएको हो । त्यस्तै घाइते श्रीमान लालबहादुरको घाँटीमा चोट लागेको छ । घाइते लालबहादुरलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोडमा भर्ना गरीएको छ ।

घटनामा संलग्नको पहिचान नभएपनि लालबहादुरले श्रीमतीको हत्या गरी आफूले आत्महत्याको प्रयास गरेको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान गरीरहेको छ ।

हरेक बर्ष आजकै दिन संसारभर विभिन्न कार्यक्रम आयोजना गरी अन्तरराष्ट्रिय क्षयरोग दिवस मनाइन्छ । क्षयरोग रोग विरुद्ध जनचेतना जगाउने, सरल र सहज रुपमा उपचारको प्रबन्ध गर्ने, गराउने उद्देश्यका साथ यो दिवस मनाउने गरिएको छ ।

दिवसको यस वर्षको नारा ‘हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौं । लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चतता, आजको आवश्यकता’ भन्ने तय गरिएको छ । यस दिवसले क्षयरोग महामारीको अन्त्यका लागि गरिएका प्रतिबद्धता, प्रयास, तथा उपलब्धीलाई सम्झिने अवसर समेत प्रदान गरेको छ ।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले दिवसका अवसरमा विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गर्ने तयारी गरेको छ । उक्त रोगका कारण नेपालमा हजारौँ मानिस प्रभावित भइरहेका छन् । विश्वव्यापी रुपमा क्षयरोग अन्त्यका लागि गरिएका हाम्रो साझा तथा सामूहिक संकल्पमा केन्द्र कटिबद्ध रहेको जनाएको छ ।

केन्द्रका निर्देशक डा. श्रीराम तिवारीले जारी गर्नुभएको विज्ञप्तिमा क्षयरोग (टीबी) विश्वभर लाखौँ मानिसलाई प्रभावित गर्ने सरुवा रोग भएको र नेपालमा यो जनस्वास्थ्य समस्याको रुपमा रहिआएको उल्लेख छ । सन् २०२३ मा विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा अनुमानित ६८ हजार नयाँ क्षयरोग प्रभावित व्यक्तिहरू थिए, जसको दर प्रति एक लाख जनसङ्ख्यामा २२९ रहेको थियो । त्यसैगरी क्षयरोगका कारण १६ हजारको मृत्यु भएको अनुमान गरिएको छ । जसको मृत्युदर प्रति एक लाख जनसङ्ख्यामा ५४ थियो ।

सोही अवधिमा, राष्ट्रिय क्षयरोग कार्यक्रमले ४० हजार ७७६ जना क्षयरोग प्रभावित व्यक्ति उपचारका लागि दर्ता गरेको थियो । त्यसमा ३९ प्रतिशत महिला र ६१ प्रतिशत पुरुष थिए । पत्ता लागेका औषधि प्रतिरोधी क्षयरोग प्रभावित व्यक्ति ७५६ जना थिए । उपचारका लागि दर्ता भएका मध्ये ७२ प्रतिशत फोक्सोको क्षयरोग र २८ प्रतिशत फोक्सो बाहिर अन्य अङ्गमा लाग्ने क्षयरोगी थिए । त्यसैगरी उपचार सफलता दर ९२ प्रतिशत छ । उल्लेखनीय प्रगतिका बावजुद, नेपालले अझै पनि क्षयरोग अन्त्यका लागि धेरै चुनौतीको सामना गरिरहेको केन्द्रले जनाएको छ ।

अनुमानित क्षयरोग प्रभावित व्यक्ति र उपचारको दायरामा आएका क्षयरोग प्रभावित व्यक्तिको सङ्ख्यामा ठूलो अन्तर छ । करिब ४० प्रतिशत अनुमानित क्षयरोग प्रभावित व्यक्तिलाई उपचारको दायरामा ल्याउन सकिएको छैन । पर्याप्त स्रोतको अभाव ‘राष्ट्रिय क्षयरोग कार्यक्रमको पञ्च वर्षीय क्षयरोग रणनीतिक योजना २०२१/२२ देखि २०२५/२६’ का अनुसार पाँच वर्षको लागि क्षयरोग कार्यक्रमको बजेट एक सय ९२ मिलियन अमेरिकी डलर रहेकोमा एक सय १० मिलियन मात्र (अनुमानित) उपलब्ध छ । त्यो भनेको ४३ प्रतिशत बजेट अभाव हुनु हो ।

क्षयरोगको कारणबाट रोगीको परिवारमा अधिक आर्थिक व्ययभार परेको छ । राष्ट्रिय क्षयरोग बिरामी लगत सर्वेक्षण–२०२४ का अनुसार नेपालमा ५१ प्रतिशत क्षयरोग प्रभावित व्यक्ति तथा उनीहरूको परिवारलाई यस रोगको कारणबाट अधिक आर्थिक व्यय भार परेको छ ।

रोग अन्त्यका लागि सबै क्षेत्रको सहकार्य हुन नसक्दा थप प्रगति हासिल हुन नसकेको केन्द्रले स्पष्ट पारेको छ । रोगको अन्त्यका लागि स्वास्थ्य क्षेत्रसहित, स्वास्थ्य बाहेकका अन्य क्षेत्रहरू जस्तैः शिक्षा, श्रम तथा रोजगार, सामाजिक सुरक्षण लगायत अन्यको पनि महत्त्वपूर्ण योगदान रहनु आवश्यक छ । यसका साथै नीजि क्षेत्र र समुदायको संलग्नता पनि उत्तिकै महत्त्वपूर्ण छ ।

चुनौतीलाई समाधान गर्न केन्द्रले निरन्तर आफ्ना प्रयासलाई परिस्कृत गर्दै लगेको जनाएको छ । नेपालभर क्षयरोग उपचारका सेवा छ हजार २४१ स्वास्थ्य संस्था र निदानका सेवा ८०० स्वास्थ्य संस्थामा निःशुल्क उपलब्ध छन् ।

रोगको द्रूत परीक्षण सेवाको पहुँच ६७ जिल्लाका ११७ स्वास्थ्य संस्थामा पुगेको छ । यो परीक्षणबाट क्षयरोग प्रभावित व्यक्तिको औषधि प्रतिरोधको अवस्था थाहा पाउन सकिन्छ । औषधि प्रतिरोधी क्षयरोगका बिरामीको उपचार सेवा २९ वटा उपचार केन्द्र र ९८ उपचार उप– केन्द्रबाट प्रदान गरिँदै आएको केन्द्रले जनाएको छ । औषधि प्रतिरोधी बिरामीको लागि इन्जेक्सनरहित छोटो अवधिको, छ महिने उपचार ‘रेजिमेन’ उपलब्ध गराएको छ ।

मुलुकको सङ्घीय संरचनालाई ध्यानमा राखी नेपालले नवीनतम् प्रयासको रुपमा स्थानीय तहको नेतृत्व, उत्तरदायित्व र अपनत्व विकास गरी क्षयरोग अन्त्यका लागि भएका प्रयासलाई दिगो रुपमा गति दिनको लागि क्षयरोग मुक्त नेपाल अभियान १४९ स्थानीय तहमा विस्तार गरिएको छ । एआई जडित डिजिटल एक्सरे मेसिनद्वारा समुदायमा क्षयरोग बिरामीको सक्रिय खोजपड्ताल सुरुआत भएको छ ।

राष्ट्रिय क्षयरोग छैटौँ औषधि प्रतिरोध सर्वेक्षण र पहिलो क्षयरोग बिरामी लगत सर्वेक्षण जस्ता महत्त्वपूर्ण अध्ययनसम्पन्न भएको छ । प्रत्येक वर्ष क्षयरोग रोकथाम, निदान, र उपचारसम्बन्धी सीप अभिवृद्धि तालिम सञ्चालन गरिएको छ । यी प्रयास प्रभावकारी भएपनि, क्षयरोग अन्त्यका लक्ष्य प्राप्तिका लागि सुधार गर्न धेरै बाँकी रहेको केन्द्रले जनाएको छ ।

आगामी दिनमा क्षयरोग प्रभावित व्यक्तिको पहिचानमा वृद्धि गर्ने, आवश्यक स्रोत तथा साधन जुटाउन तथा परिचालनको लागि स्थानीयतहलाई नेतृत्वदायी भूमिका प्रदान, एकीकृत सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ । त्यसैगरी स्वास्थ्य प्रणालीलाई सुदृढ गरी गुणस्तरीय उपचार सेवा सुनिश्चित गर्नुका साथै निजी क्षेत्रको संलग्नतालाई सुदृढीकरण गर्ने र क्षयरोग प्रभावित व्यक्तिलाई सामाजिक सुरक्षण प्रदान गर्न आवश्यक समन्वय तथा सहकार्य बढाउन विशेष प्राथमिकता निर्धारण गरिएको छ ।

सन् २०३० सम्ममा क्षयरोग महामारीको अन्त्य र २०५० सम्ममा क्षयरोग मुक्त नेपाल हासिल गर्ने लक्ष्यतर्फ केन्द्र अग्रसर रहेको विज्ञप्तिमा उल्लेख छ । हरेकबर्ष विश्वमा ८० लाख नयाँ क्षयरोगी थपिन्छन भने २० लाखको क्षयरोगकै कारणले मृत्यू हुने गरेको डरलाग्दो तथ्याङ्क छ ।

तीन हप्ता वा सो भन्दा बढी समयदेखि लगातार खोकी लागेमा, खकारमा रगत देखिएमा, श्वास फेर्न गाह्रो भएमा वा छाती भारी भइरहेमा, अकास्मात धेरै तौल घटेमा यस रोग लागेको हुन सक्छ । त्यस्तै पसिना आउने धेरै भएर थकान बढी महसुस भएमा नजिकैको स्वास्थ चौकी गएर परीक्षण गर्नुपर्दछ । शारिरीक अवस्था कमजोर भई रोग प्रतिरोधात्मक क्षमता कम भएकामा यो रोगको संक्रमण हुन सक्छ । यो रोगसँग डराउनु नपर्ने र यसको निःशुल्क उपचारको प्रबन्ध गरिएको छ ।

रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका मान्छेमा, चुरोट रक्सी या लागुऔषध सेवन गर्नेमा र क्षयरोगको औषधिको पूर्ण मात्रा सेवन नगरेमा उक्त रोगको पुनः संक्रमण फेरि देखिन सक्ने भएकाले उपचारमा विशेष ध्यान दिनु आवश्यक हुने जनाइएको छ । औषधिको नियमित सेवनले क्षयरोग निको हुने चिकित्सकहरुको भनाइ छ ।

मोटरसाइकल दुर्घटनामा घाइते भएका झापा बाह्रदशी गाउँपालिका ६ का ३५ को विकास भट्टराईको मृत्यु भएको छ । उनी आठ दिनअघि दुर्घटनामा परी घाइते भएका थिए ।
बिर्तामोडको बीएण्डसी अस्पतालमा उपचारका क्रममा गएराति ८ बजे उनको मृत्यु भएको हो । गत चैत १ गते राति १२।४५ बजे बाह्रदशी ६ नारायण चोकस्थित भित्री पक्की सडकखण्डमा चारपानेबाट बिहीबारेतर्फ जाँदै गरेको मे ३ प ६२२६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक भट्टराई घाइते भएका थिए ।

उनको टाउकोमा गम्भीर चोट लागेको थियो । मोटरसाइकल इलाका प्रहरी कार्यालय घैलाडुब्बाको नियन्त्रणमा रहेको जिल्ला
ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

झापाको बुद्धशान्ति गाउँपालिका–४ स्थित मेची राजमार्गबाट सशस्त्र प्रहरीले ठूलो परिमाणको लागुऔषध गाँजासहित दुई ट्रक नियन्त्रणमा लिएको छ।

विशेष सूचनाका आधारमा गरिएको जाँचका क्रममा इलामबाट झापातर्फ आउँदै गरेका को १ ख ५००१ र प्र १–०२–००२ ख ०५८४ नम्बरका मिनी ट्रकबाट १,६३६ किलो गाँजा बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन्।

प्रहरीले उक्त ट्रकमा सवार धनकुटाको शहीदभूमि नगरपालिका–४ का महेश राई र इलामको माइजोगमाई गाउँपालिका–२ का ३७ वर्षीय गङ्गा बहादुर बस्नेतलाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट ८७ हजार ८८० रुपैयाँ नगद र ५ वटा मोबाइल सेट पनि बरामद गरिएको छ।

सशस्त्र प्रहरीले पक्राउ परेका व्यक्ति, बरामद गाँजा र ट्रकलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइसकेको जनाएको छ।

रोङ गाउँपालिका वडा ५, इरौंटारमा बिहीबार फरक कार्यक्रम चलिरहेको थियो । किसानको एउटा ठूलो समूह एकापट्टिको मञ्चमा लहरै थियो । मन्त्रीसहितका अतिथि चाहिँ दर्शकदीर्घामा । कार्यक्रम उद्घोषकले अतिथिलाई मञ्चमै बोलाइन् । अनि, मन्त्रीले छेवैमा बसेका व्यक्तिलाई सोधे– ‘हामी पनि मञ्चमै जाने हो ?’ 

हो’ भन्ने संकेत पाएपछिमात्र उनी पनि मञ्च चढे । बिहीबारै मन्त्रिपरिषद् बैठक थियो । तर, बैठकमा आफू नआउने सूचना गत सोमबार नै प्रधानमन्त्रीलाई दिएर रोङको कार्यक्रममा आएका थिए– संघीय सरकारका कृषि, पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी । कार्यक्रममा उनीमात्रै थिएनन्– कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङ्गाम पनि थिए । र, थिए अरू पनि विशिष्ट व्यक्तित्व ।

रोङ गाउँपालिका अध्यक्ष मनीकुमार स्याङ्बो (सुवास) उमेरले इलामका १० पालिकाका अध्यक्ष/प्रमुखमध्ये सबैभन्दा ‘कान्छा’ हुन् । उनकै अवधारणामा नयाँ–नयाँ काम गर्दै रोङ गाउँपालिका देशभर चर्चा कमाउँदैछ । केही दिनअघि कोशी प्रदेशसभामा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले समेत रोेङ गाउँपालिकाले गरिरहेका काममध्ये गुन्द्रुक ब्रान्डिङको चर्चा गरेका थिए ।

र, बिहीबारको कार्यक्रममा प्रधानमन्त्रीले कृषिमन्त्री अधिकारीमार्फत् रोङलाई कृषि क्षेत्रमा गरिरहेका कामका लागि ‘शुभकामना’समेत पठाएका थिए । जबाफमा गाउँपालिकाले प्रधानमन्त्रीलाई कृषिमन्त्रीमार्फत् नै ‘कोसेली’ पठायो– रोङकै ब्रान्डेड तितेकरेला, सिस्नो र गुन्द्रुक ।

इरौंटारको बिहीबारको कार्यक्रम चाहिँ त्योभन्दा पनि फरक थियो–पालिकाका एक सय २१ जनालाई ‘गुरु किसान’ घोषणा गर्ने । र, उनीहरूलाई सम्मान पनि गर्ने । कसैले किसान कस्तो हुनुपर्छ ? भन्ने प्रश्न गरे रोङले दिने ‘जबाफ’ थिए उनीहरू । अर्थात्, पालिकाका नमुना किसान । देश–विदेशलाई देखाउने नेपाली किसान ।

पालिकाले ‘गुरु किसान व्यवस्थापन कार्यविधि–२०८०’ निर्माण गरी त्यसैअन्तर्गत पालिकाका नमुना किसानलाई ‘गुरु किसान’का रूपमा उत्पादन गर्र्दैछ ।

पालिकाको कार्यक्रमअन्तर्गत मन्त्री अधिकारीले एक सय २१ लाई ‘गुरु किसान’ घोषणा गरे । ‘गुरु किसान’ लेखिएका ब्याग दिए, ब्याच र पोसाक पनि लगाइदिए । पालिकाले गरेको सम्मानमा किसान गद्गद् देखिए ।

उनीहरूले आफू असल किसान बन्ने प्रतिबद्धता पनि गरे । पालिकाका अनुसार अब उनीहरूले अरू किसानलाई पनि सफल किसान बन्ने तरिका सिकाउने छन् । आफू उदाहरणीय किसान बन्नेछन् ।

कार्यविधिमा तोकिएका मापदण्ड पूरा गरेपछिमात्र किसान ‘गुरु किसान’ सूचीमा दर्ज हुन पाउँछन् । गुरु किसानका लागि पालिकाले वर्षमा एकपटक वा आवश्यकताअनुसार सूचना जारी गर्छ । जसले मापदण्ड पूरा गर्छ, उसले आवेदन दिन्छ ।

पालिकाले आवेदन अध्ययन गरी ‘गुरु किसान’ घोषणा गर्छ । जुन उत्पादनमा गुरु किसान हुने हो, कम्तीमा तीन वर्षदेखि त्यही खेतीमा किसान आबद्ध भएको हुनुपर्छ, वार्षिक आम्दानी, रोजगारी सिर्जना र सहकार्यलगायत दर्जनौं मापदण्ड पार गर्नुपर्छ किसानले ।

रोङ विकासको मुख्य आधार : कृषि, वन र पर्यटनको पूर्वाधार हाम्रो पालिकाको नारा हो,’ अध्यक्ष मनीकुमार स्याङ्बो भन्छन्, ‘किसान आफैं सक्षम बनून्, सानातिना प्राविधिक काममा पनि सरकारको मुख ताक्न नपरोस् भनेर किसानलाई आत्मनिर्भर बनाउने कार्यक्रम हो गुरु किसान ।’

उनले कृषि उत्पादनको गुणस्तर वृृद्धि, ब्रान्डिङ, व्यावसायिक कृषिका लागि यो अवधाराणा ल्याएको सुनाए । ‘यही अवधारणामा अहिले रोङका किसान मौरी पालनमा सक्षम भएका छन्, त्यसैगरी यहाँको अलैंची, बेसार, तितेकरेला, गुन्द्रुकलगायत उत्पादनमा किसानलाई आफैं सक्षम बनाउन यो कार्यक्रमले सघाउँछ ।’

उनले किसानलाई प्रविधि हस्तान्तरण र उत्पादनका लागि चाहिँ प्रदेश तथा संघीय सरकारले सघाउनु आवश्यक रहेको बताए । सिँचाइमा पानीको पुनः प्रयोग, उत्पादकत्व वृद्धि र उत्पादनको गुणस्तरमा पनि यो कार्यक्रम प्रभावकारी भइरहेको सुनाए । ‘अब रोङले गफाडी किसान होइन, मेहनती किसान उत्पादन गर्छ, उनीहरूलाई मात्र सघाउँछ,’ अध्यक्ष स्याङ्बो भन्छन्, ‘गुरु किसानलाई के सहयोग गर्न सकिन्छ, पालिकाले कानुन बनाएरै सघाउँछ, सघाइरहेको छ ।’

पालिका उपाध्यक्ष विष्णुमाया खवासले देशका स्थानीय तहमध्ये रोङले किसानका लागि नमुना कार्यक्रम ल्याएको बताए । ‘कृषिप्रधान देशले किसानको मर्म र भावना बुझ्न नसकेको अवस्थामा रोङले किसानलाई उनीहरूको मेहनतको सम्मान गरेको छ, यो कार्यक्रम उदाहरणीय छ,’ उनले भनिन्, ‘किसानले पसिना बगाउँदा कसैले सम्मान गरेको बुझिएन । किसानलाई अघि राख्दा हामीलाई चाहिँ गर्व छ ।’

उनले कोशी प्रदेशसभामा प्रधानमन्त्रीले रोङ गाउँपालिकाले कृषिमा गरेको कार्यको प्रशंसाले पालिकालाई उत्साहित गरेको सुनाइन् । ‘अहिले पालिकालाई प्रदेश र संघीय सरकारबाट आइरहेको कुल बजेटको आधा चाहिँ कृषिका लागि आओस् भन्ने माग गर्छु,’ उनले भनिन्, ‘किसानलाई सम्मान नगरी देश समृद्ध बन्दैन ।’ उनले गुरु किसान घोषणालाई ‘आत्मनिर्भर कृषितर्फको ऐतिहासिक कदम’ भनेकी छिन् । उत्पादन र आधुनिक कृषि प्रणालीतर्फ अघि बढ्न स्थानीय तहले कृषि पेसालाई प्रेरित गर्नुपर्ने बताएकी उपाध्यक्ष खवासले कृषिलाई पनि सबल र सम्मानजनक पेसाका रूपमा स्थापित गर्नु आवश्यक रहेको बताइन् ।

समयानुकूल कृषि प्रविधिहरू अवलम्बन गर्दै उत्पादनलाई बढाउनु अहिलेको प्रमुख आवश्यकता हो,’ उनले भनिन्, ‘परम्परागत कृषिबाट मात्र हाम्रो भविष्य सुरक्षित हुनेछैन । वैज्ञानिक प्रविधि, जैविक तथा व्यावसायिक खेतीका विधि अपनाउँदै उत्पादन बढाउनुपर्छ ।’

किसान, सरोकारवाला र पालिकाका जनप्रतिनिधिको कुरा सुनेपछि मन्त्री अधिकारीले संघीय सरकारले रोङको कृषि क्षेत्र विकासका लागि करिब तीन करोड रुपैयाँ छुट्याउने आश्वासन दिए । उनले रोङले संघीय सरकारलाई समेत उछिनेर कृषिमा उदाहरणीय काम गरिरहेको मन्त्री अधिकारीको भनाइ छ । प्रदेशका कृषिमन्त्री लिम्बूले पनि पालिकाले गरिरहेको उदाहरणीय काममा प्रदेश सरकारले सघाउने प्रतिबद्धता गरे ।