यस वर्षको एसइई आजदेखि सुरु भएर यही चैत १९ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि शुरू हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट आज बिहान ८ बजेदेखि एसइई सञ्चालन हुनेछ ।
परीक्षा तालिकाअनुसार पहिलो दिन अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा सञ्चालन हुनेछ ।
यस वर्षको माध्यमिक शिक्षा परीक्षामा पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी हुने पनि बोर्डले जनाएको छ । गत वर्ष २०८० को एसइई परीक्षामा चार लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए ।
यस वर्षको परीक्षामा विद्यार्थीको सङ्ख्या ४९ हजार २८६ जना बढेको छ ।
परीक्षामा १५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एकजना सहायक केन्द्राध्यक्ष र २० जना विद्यार्थी बराबर एकजना निरीक्षक खटाउने प्रबन्ध गरिएको छ ।
परीक्षामा ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नराखिएको कार्यालयले जनाएको छ ।
झापाको बुद्धशान्तिमा रहेको सीतारमेश बहुमुखी क्याम्पसमा भएको स्ववियू निर्वाचनमा अनेरास्ववियूका अशोक भण्डारी बिजयी भएका छन् । उनी १७३ मतका साथ सभापतिमा विजय हासिल गरेका छन् ।
उनले नेवि संघका विवेक वाग्ले र अनेरास्ववियु (क्रान्तिकारी) का सन्दिप नेउपानेलाई पछि पार्दै विजयी भएका हुन् ।
वाग्लेले १५९ मत ल्याए भने नेउपानेले ८० मत ल्याएका छन् ।
झापा बुद्धशान्तिको सीतारमेश बहुमुखी क्याम्पसमा स्ववियू निर्वाचन जारी रहेको छ अहिले सम्मको माहोल शान्तिपूर्ण छ ।नेपाली काङ्ग्रेस निकट नेविसंघ अनेरास्ववियु र नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको प्रतिस्पर्धा कडा हुने देखिएको छ ।
करिब ५३० जनाको मतदानमा नामावलि भएतापनि ४०० को हाराहारी त्यहाँ वाट नेविसंघ झापाका सचिब गोकुल पौडेलले जानकारि दिनु भयो ।
रत्नराज्य क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियु र नेकपा एस निकट अनेरास्ववियूको गठबन्धनले तालाबन्दी गरेको छ। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको अघिल्लो दिन क्याम्पसमा तालाबन्दी गरिएको हो।
निर्वाचनको अघिल्लो दिन क्याम्पस प्रशासन र कर्मचारीको मिलेमतोमा फर्जी डिजिटल कार्ड बनेको र फरक डिजिटल कार्डहरु प्रशासनबाटै जारी भएको आरोप लगाउँदै अनेरास्ववियु र ओरास्ववियूले क्याम्पसमा तालाबन्दी गरेको हो। यता, नेविसंघले भने चुनाव हार्ने डरले तालाबन्दी गरिएको आरोप लगाएको छ।
झापा मेचीनगरको एक उद्योगबाट उत्पादित चामलमा प्लास्टिक मिसाइएको प्रहरीमा उजुरी दर्ता भएपछि छानबिन सुरु गरिएको छ ।मेचीनगर-७ इटाभट्टाको राधाकृष्ण इन्डस्ट्रिजबाट उत्पादित ‘उज्यालो’ ब्रान्डको मन्सुली चामलमा प्लास्टिक मिसाइएको दाबीका साथ मेचीनगर १० का नजरलाल राजवंशीले आज इलाका प्रहरी कार्यालय धुलाबारीमा उजुरी दर्ता गरेका थिए ।
राजवंशीले मेचीनगर–१० स्थित एक किराना पसलबाट चामल किनेका थिए । उनको उजुरीका आधारमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भद्रपुरले छानबिन सुरु गरेको हो ।
डिभिजन कार्यालयबाट खटिएका खाद्य निरीक्षण अधिकृत सागरराज पोखरेलले स्थानीय जनप्रतिनिधि, प्रहरी, उपभोक्ता अधिकारवादी, व्यवसायी र पत्रकारको रोहवरमा किराना पसलबाट उज्यालो ब्रान्डको चामलको बोरा खोलेर दुई केजी चामल शिलबन्दी गरेर खाद्य परीक्षणका लागि लगेका छन् ।
उक्त चामलको नमुनालाई विराटनगरस्थित प्रादेशिक खाद्य प्रयोगशाला पठाइने पोखरेलले बताए । प्रयोगशालाबाट जाँच रिपोर्ट आएपछि यस विषयमा थप कारबाही अघि बढाइने उनले बताए ।
किराना पसलका सञ्चालकले आफूले राधाकृष्ण इन्डस्ट्रिजबाट उत्पादित चामल बोरामा प्याक भएर आउने हुँदा मिसावटका बारेमा आफूलाई कुनै जानकारी नहुने बताएका छन् ।
डिभिजन कार्यालयले जाँचको रिपोर्ट नआउञ्जेल मिसावट भएको दाबी गरिएको चामल बिक्री नगर्न उक्त पसललाई निर्देशन दिएको छ ।
माध्यमिक शिक्षा परीक्षा ‘एसईई’ २०८१ मा झापाबाट १७ हजार २८ जना सहभागी हुँदै छन् । जसमा छात्रतर्फ ८ हजार ७०८ तथा छात्रतर्फ ८ हजार ३२० परीक्षार्थी रहेका छन् ।शिक्षा विकास तथा समन्वय इकाई झापाले दिएको जानकारी अनुसार सहभागी मध्ये नियमिततर्फ ७ हजार ७९३ छात्रा तथा ७ हजार ४०८ छात्र गरी १५ हजार २०१ जना सहभागी छन् । ग्रेडवृद्धितर्फ ९ सय ९१ छात्रा तथा ८ सय ३६ छात्र गरी १ हजार ८२७ परीक्षार्थी सहभागी छन् ।
प्राविधिक धारतर्फ २ सय ३९ छात्रा तथा २ सय ८३ छात्रा गरी कुल ५ सय २२ परीक्षार्थी सहभागी हुने छन् । हाल झापाका १५ विद्यालयमा प्राविधिक धार सञ्चालनमा छन् । जसमा बाली विज्ञान, सिभिल इन्जिनियरिङ, पशु विज्ञान तथा कम्प्युटर इन्जिनियरिङ समावेश छन् ।
त्यस्तै झापाका साङ्वेद संस्कृत मावि चारपाने, अर्जुनधारा संस्कृत मावि अर्जुनधारा, कृष्ण द्धैपायन गुरुकुल वेद विद्याश्रम मावि भद्रपुर र अनन्तादर्श संस्कृत वेद विद्यालय गरी ४ संस्कृत विद्यालयका ५४ परीक्षार्थी संस्कृत शिक्षातर्फ परीक्षामा सहभागी बन्नेछन् ।
झापाका देवी मावि बिर्तामोड र हिमालय मावि दमकका ७६ जना परीक्षार्थी खुला शिक्षातर्फ सहभागी हुँदा सरस्वती मावि दमकका २ दृष्टिविहीन परीक्षार्थी यो वर्षको एसईईमा झापाबाट सहभागी बन्नेछन् ।
झापाका १ सय ३१ सामुदायिक तथा २ सय ३९ संस्थागत गरी ३ सय ७० विद्यालयका विद्यार्थीहरु एसईईमा सहभागी बन्नेछन् ।
झापामा ५७ केन्द्र निर्धारण
शिविस झापाले दिएको जानकारीमा यस वर्ष झापामा एसईई परीक्षा सञ्चालनका लागि ५७ केन्द्र निर्धारण गरिएको छ । केन्द्र निर्धारण गर्दा भौगोलिक अवस्था, भौतिक पूर्वाधार तथा विद्यालयको इच्छासमेतलाई दृष्टिगत गरी निर्णय गरिएको झापाका समन्वय इकाई प्रमुख देवेन्द्रबहादुर मल्लले बताए ।
झापाका ५७ केन्द्रमध्ये प्राविधिक धारतर्फका २ तथा संस्कृततर्फका ४ केन्द्र तय भएका छन् । अन्य केन्द्र साधारण धारतर्फका छन् ।
प्राविधिक धार सञ्चालन भएका विद्यालयमध्ये माइवारीका विद्यालयहरुको केन्द्र मोहनमाया मावि चारपाने तथा माइपारीका विद्यालयहरुको केन्द्र कमल गाउँपालिका ६ स्थित, वाणी मावि कमल तय भएको समन्वय इकाइले जनाएको छ ।
तयारीपुरा,प्रश्नपत्रसम्बन्धितस्थानमापूर्याइयो
आगामी चैत ७ गते बिहीबारबाट सुरुहुने एसईई परीक्षाको सम्बन्धमा सम्पूर्ण तयारी पुरा भएको समन्वय इकाई झापाका प्रमुख मल्लले जानकारी दिए ।
झापामा परीक्षा सञ्चालनका लागि गतवर्ष जस्तै पुरानै केन्द्र निर्धारण गरिएको छ, मल्लले भने,‘यो वर्ष होम सेन्टरका विद्यालयबीच परीक्षार्थी साटासाट गर्ने गरी केन्द्र नतोकेर अलगअलग विद्यालयका परीक्षार्थीहरु केन्द्रमा सहभागी बन्नेछन् ।
मल्लका अनुसार प्रश्नपत्र सम्बन्धित स्थानमा पु¥याई सकिएको छ । उत्तर पुस्तिका यसअघिनै सबै केन्द्रमा पु¥याइएको उनले बताए । सोमबार सबै केन्द्राध्यक्षहरुलाई अभिमुखीकरणका लागि जिल्लामा आमन्त्रण गरिएको उनले जानकारी दिए ।
चैत ७ गते बिहीबारदेखि १५ गते शुक्रबार सम्म ७ दिन सञ्चालन हुने परीक्षा हरेक दिन विहान ८ बजेदेखि ११ बजेसम्म चल्नेछ ।
होली खेल्ने क्रममा शनिवार साँझ जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धी चोकमा भएको विवादमा छुरी प्रहारबाट एक युवकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाकाअनुसार मृतक १९ वर्षीय आँशु यादव रहेका छन् । प्रहरीकाअनुसार छुरी प्रहार गरेको आरोपमा जनकपुरधाम–२३ का २१ वर्षीय धर्मेन्द्र महतोलाई पक्राउ गरिएको छ । धनुषा प्रहरीले दिएको प्रारम्भिक जानकारीअनुसार होली खेल्ने क्रममा रमाइलो गरिरहँदा विवाद उत्पन्न भएको थियो ।
सोही क्रममा धर्मेन्द्र महतोले छुरी प्रहार गर्दा गम्भीर घाइते भएका आँशुलाई अस्पताल लगिएको थियो । तर उपचारका क्रममा उनको मृत्यु भयो । धनुषासहित मधेसका अधिकांश जिल्लामा शुक्रवार होली मनाइएको भएपनि जनकपुरधाममा भने शनिवार होली मनाइएको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) वरुणकुमार सिंहले जानकारी दिनुभयो ।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि शनिबार राति १२ बजे मौन अवधि सुरु हुँदैछ । मौन अवधिमा कुनै पनि माध्यमबाट प्रचारप्रसार गर्न नपाइने हुँदा आज अन्तिम दिन विद्यार्थी संगठन प्रचारप्रसारमा व्यस्त बनेका छन् ।
झापाको बुद्धशान्तिको एकमात्र क्याम्पस सीतारमेश बहुमुखी क्याम्पसमा पनि चुनावी माहोल तातिएको छ । बिद्यार्थी संगठनका नेताहरु भोट माग्न घरदैलो नै गरिरहेका छन् ।
सीतारमेश क्याम्पसमा नेपाली काङ्ग्रेस निकट नेविसंघ, नेकपा एमाले निकट अनेरास्ववियु, राष्ट्रिय प्रजातान्त्रिक पार्टी राप्रविसंघ र नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले छुट्टाछुट्टै प्यानल बनाएर निर्वाचनमा लागेका छन् ।
अध्यक्ष पदका लागि त्रिपक्षीय भिडन्त हुने पक्का देखिएको छ । अध्यक्ष पदमा नेविसंघका विवेक वाग्ले, अनेरास्ववियुका अशोक भण्डारी र अनेरास्ववियु (आखिल)को तर्फबाट सन्दिप न्यौपाने चुनावी भिडन्तमा होमिएका छन् । उनीहरु आ-आफ्नो जितको दावेदारी दिँदै चुनावमा उत्रिएका छन् ।
त्यस्तै सचिव पदमा चार जनाले उम्मेद्वारी दिएका छन् । नेविसंघबाट डम्बर कार्की, राप्रविसबाट निगम न्यौपाने, अनेरास्ववियुबाट नितु थापा मगर र अनेरास्ववियु क्रान्तिकारीबाट नेहा कार्कीले उम्मेद्वारी दिएका छन् ।
त्यस्तै कोषाध्यक्ष पदमा नेविसंघबाट अभिशेक विश्वकर्मा घतानी, अनेरास्ववियुबाट रोशन रेग्मी र अनेरास्ववियु क्रान्तिकारीबाट काजल राजवंशीले उम्मेद्वारी दिएका हुन् ।
चैत ५ गते हुने निर्वाचनमा सीतारमेश क्याम्पसमा ५२७ जनाले भोट हाल्नेछन् ।
पत्रकारहरुको छाता संगठनका रुपमा रहेको बुद्धशान्ति प्रेस क्लब बुद्धशान्ति झापाले एकआपसमा शुभकामना साटासाट गरि होलीमिलन कार्यक्रम मनाएको छ । प्रेस क्लबका अध्यक्ष तीर्थराज तिम्सिनाको सभापतित्वमा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष एवम् क्लबका संस्थापक अध्यक्ष अनिल वाग्लेको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि वाग्ले, प्रेस क्लबका सल्लाहकार गङ्गाराम गड्तौला, संस्थापक सचिव दिपेन लावती लगायतले होलीको शुभकामना दिएका थिए ।
क्लबका सचिव रोशन भट्टराईले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष नारायण अर्यालले स्वागत गरेका थिए ।
कार्यक्रम बुधबारे स्थित दीर्घायु होटल एण्ड लजमा भएको थियो । होली मिलन कार्यक्रममा प्रेस क्लबका पदादिकारी, सदस्य एवम् सल्लाहकारहरुको उपस्थित रहेको थियो ।
अध्यक्ष तिम्सिनाले नेपाली समुदायले मनाउने पर्वको धार्मिक, साँस्कृतिक र ऐतिहासिक समेत महत्व रहेको बताउँदै यसको महत्वलाई आत्मसाथ गर्दै क्लबले हरेक बर्ष यस्ता पर्वको धुमधामले मनाउँदै आएको बताए ।