October 19, 2025

झापा मेचीनगरको एक उद्योगबाट उत्पादित चामलमा प्लास्टिक मिसाइएको प्रहरीमा उजुरी दर्ता भएपछि छानबिन सुरु गरिएको छ ।मेचीनगर-७ इटाभट्टाको राधाकृष्ण इन्डस्ट्रिजबाट उत्पादित ‘उज्यालो’ ब्रान्डको मन्सुली चामलमा प्लास्टिक मिसाइएको दाबीका साथ मेचीनगर १० का नजरलाल राजवंशीले आज इलाका प्रहरी कार्यालय धुलाबारीमा उजुरी दर्ता गरेका थिए ।

राजवंशीले मेचीनगर–१० स्थित एक किराना पसलबाट चामल किनेका थिए । उनको उजुरीका आधारमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भद्रपुरले छानबिन सुरु गरेको हो ।

डिभिजन कार्यालयबाट खटिएका खाद्य निरीक्षण अधिकृत सागरराज पोखरेलले स्थानीय जनप्रतिनिधि, प्रहरी, उपभोक्ता अधिकारवादी, व्यवसायी र पत्रकारको रोहवरमा किराना पसलबाट उज्यालो ब्रान्डको चामलको बोरा खोलेर दुई केजी चामल शिलबन्दी गरेर खाद्य परीक्षणका लागि लगेका छन् ।

उक्त चामलको नमुनालाई विराटनगरस्थित प्रादेशिक खाद्य प्रयोगशाला पठाइने पोखरेलले बताए । प्रयोगशालाबाट जाँच रिपोर्ट आएपछि यस विषयमा थप कारबाही अघि बढाइने उनले बताए ।

किराना पसलका सञ्चालकले आफूले राधाकृष्ण इन्डस्ट्रिजबाट उत्पादित चामल बोरामा प्याक भएर आउने हुँदा मिसावटका बारेमा आफूलाई कुनै जानकारी नहुने बताएका छन् ।

डिभिजन कार्यालयले जाँचको रिपोर्ट नआउञ्जेल मिसावट भएको दाबी गरिएको चामल बिक्री नगर्न उक्त पसललाई निर्देशन दिएको छ ।

माध्यमिक शिक्षा परीक्षा ‘एसईई’ २०८१ मा झापाबाट १७ हजार २८ जना सहभागी हुँदै छन् । जसमा छात्रतर्फ ८ हजार ७०८ तथा छात्रतर्फ ८ हजार ३२० परीक्षार्थी रहेका छन् ।शिक्षा विकास तथा समन्वय इकाई झापाले दिएको जानकारी अनुसार सहभागी मध्ये नियमिततर्फ ७ हजार ७९३ छात्रा तथा ७ हजार ४०८ छात्र गरी १५ हजार २०१ जना सहभागी छन् । ग्रेडवृद्धितर्फ ९ सय ९१ छात्रा तथा ८ सय ३६ छात्र गरी १ हजार ८२७ परीक्षार्थी सहभागी छन् ।

प्राविधिक धारतर्फ २ सय ३९ छात्रा तथा २ सय ८३ छात्रा गरी कुल ५ सय २२ परीक्षार्थी सहभागी हुने छन् । हाल झापाका १५ विद्यालयमा प्राविधिक धार सञ्चालनमा छन् । जसमा बाली विज्ञान, सिभिल इन्जिनियरिङ, पशु विज्ञान तथा कम्प्युटर इन्जिनियरिङ समावेश छन् । 

त्यस्तै झापाका साङ्वेद संस्कृत मावि चारपाने, अर्जुनधारा संस्कृत मावि अर्जुनधारा, कृष्ण द्धैपायन गुरुकुल वेद विद्याश्रम मावि भद्रपुर र अनन्तादर्श संस्कृत वेद विद्यालय गरी ४ संस्कृत विद्यालयका ५४ परीक्षार्थी संस्कृत शिक्षातर्फ परीक्षामा सहभागी बन्नेछन् ।

झापाका देवी मावि बिर्तामोड र हिमालय मावि दमकका ७६ जना परीक्षार्थी खुला शिक्षातर्फ सहभागी हुँदा सरस्वती मावि दमकका २ दृष्टिविहीन परीक्षार्थी यो वर्षको एसईईमा झापाबाट सहभागी बन्नेछन् ।

झापाका १ सय ३१ सामुदायिक तथा २ सय ३९ संस्थागत गरी ३ सय ७० विद्यालयका विद्यार्थीहरु एसईईमा सहभागी बन्नेछन् । 

झापामा ५७ केन्द्र निर्धारण 

शिविस झापाले दिएको जानकारीमा यस वर्ष झापामा एसईई परीक्षा सञ्चालनका लागि ५७ केन्द्र निर्धारण गरिएको छ । केन्द्र निर्धारण गर्दा भौगोलिक अवस्था, भौतिक पूर्वाधार तथा विद्यालयको इच्छासमेतलाई दृष्टिगत गरी निर्णय गरिएको झापाका समन्वय इकाई प्रमुख देवेन्द्रबहादुर मल्लले बताए । 

झापाका ५७ केन्द्रमध्ये प्राविधिक धारतर्फका २ तथा संस्कृततर्फका ४ केन्द्र तय भएका छन् । अन्य केन्द्र साधारण धारतर्फका छन् । 

प्राविधिक धार सञ्चालन भएका विद्यालयमध्ये माइवारीका विद्यालयहरुको केन्द्र मोहनमाया मावि चारपाने तथा माइपारीका विद्यालयहरुको केन्द्र कमल गाउँपालिका ६ स्थित, वाणी मावि कमल तय भएको समन्वय इकाइले जनाएको छ ।

तयारी पुरा, प्रश्नपत्र सम्बन्धित स्थानमा पूर्याइयो

आगामी चैत ७ गते बिहीबारबाट सुरुहुने एसईई परीक्षाको सम्बन्धमा सम्पूर्ण तयारी पुरा भएको समन्वय इकाई झापाका प्रमुख मल्लले जानकारी दिए । 

झापामा परीक्षा सञ्चालनका लागि गतवर्ष जस्तै पुरानै केन्द्र निर्धारण गरिएको छ, मल्लले भने,‘यो वर्ष होम सेन्टरका विद्यालयबीच परीक्षार्थी साटासाट गर्ने गरी केन्द्र नतोकेर अलगअलग विद्यालयका परीक्षार्थीहरु केन्द्रमा सहभागी बन्नेछन् ।

मल्लका अनुसार प्रश्नपत्र सम्बन्धित स्थानमा पु¥याई सकिएको छ । उत्तर पुस्तिका यसअघिनै सबै केन्द्रमा पु¥याइएको उनले बताए । सोमबार सबै केन्द्राध्यक्षहरुलाई अभिमुखीकरणका लागि जिल्लामा आमन्त्रण गरिएको उनले जानकारी दिए ।

चैत ७ गते बिहीबारदेखि १५ गते शुक्रबार सम्म ७ दिन सञ्चालन हुने परीक्षा हरेक दिन विहान ८ बजेदेखि ११ बजेसम्म चल्नेछ ।

होली खेल्ने क्रममा शनिवार साँझ जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धी चोकमा भएको विवादमा छुरी प्रहारबाट एक युवकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाकाअनुसार मृतक १९ वर्षीय आँशु यादव रहेका छन् । प्रहरीकाअनुसार छुरी प्रहार गरेको आरोपमा जनकपुरधाम–२३ का २१ वर्षीय धर्मेन्द्र महतोलाई पक्राउ गरिएको छ । धनुषा प्रहरीले दिएको प्रारम्भिक जानकारीअनुसार होली खेल्ने क्रममा रमाइलो गरिरहँदा विवाद उत्पन्न भएको थियो ।

सोही क्रममा धर्मेन्द्र महतोले छुरी प्रहार गर्दा गम्भीर घाइते भएका आँशुलाई अस्पताल लगिएको थियो । तर उपचारका क्रममा उनको मृत्यु भयो । धनुषासहित मधेसका अधिकांश जिल्लामा शुक्रवार होली मनाइएको भएपनि जनकपुरधाममा भने शनिवार होली मनाइएको थियो ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) वरुणकुमार सिंहले जानकारी दिनुभयो ।

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि शनिबार राति १२ बजे मौन अवधि सुरु हुँदैछ । मौन अवधिमा कुनै पनि माध्यमबाट प्रचारप्रसार गर्न नपाइने हुँदा आज अन्तिम दिन विद्यार्थी संगठन प्रचारप्रसारमा व्यस्त बनेका छन् ।

झापाको बुद्धशान्तिको एकमात्र क्याम्पस सीतारमेश बहुमुखी क्याम्पसमा पनि चुनावी माहोल तातिएको छ । बिद्यार्थी संगठनका नेताहरु भोट माग्न घरदैलो नै गरिरहेका छन् ।

सीतारमेश क्याम्पसमा नेपाली काङ्ग्रेस निकट नेविसंघ, नेकपा एमाले निकट अनेरास्ववियु, राष्ट्रिय प्रजातान्त्रिक पार्टी राप्रविसंघ र नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले छुट्टाछुट्टै प्यानल बनाएर निर्वाचनमा लागेका छन् ।

अध्यक्ष पदका लागि त्रिपक्षीय भिडन्त हुने पक्का देखिएको छ । अध्यक्ष पदमा नेविसंघका विवेक वाग्ले, अनेरास्ववियुका अशोक भण्डारी र अनेरास्ववियु (आखिल)को तर्फबाट सन्दिप न्यौपाने चुनावी भिडन्तमा होमिएका छन् । उनीहरु आ-आफ्नो जितको दावेदारी दिँदै चुनावमा उत्रिएका छन् ।

त्यस्तै सचिव पदमा चार जनाले उम्मेद्वारी दिएका छन् । नेविसंघबाट डम्बर कार्की, राप्रविसबाट निगम न्यौपाने, अनेरास्ववियुबाट नितु थापा मगर र अनेरास्ववियु क्रान्तिकारीबाट नेहा कार्कीले उम्मेद्वारी दिएका छन् ।

त्यस्तै कोषाध्यक्ष पदमा नेविसंघबाट अभिशेक विश्वकर्मा घतानी, अनेरास्ववियुबाट रोशन रेग्मी र अनेरास्ववियु क्रान्तिकारीबाट काजल राजवंशीले उम्मेद्वारी दिएका हुन् ।

चैत ५ गते हुने निर्वाचनमा सीतारमेश क्याम्पसमा ५२७ जनाले भोट हाल्नेछन् ।

पत्रकारहरुको छाता संगठनका रुपमा रहेको बुद्धशान्ति प्रेस क्लब बुद्धशान्ति झापाले एकआपसमा शुभकामना साटासाट गरि होलीमिलन कार्यक्रम मनाएको छ । प्रेस क्लबका अध्यक्ष तीर्थराज तिम्सिनाको सभापतित्वमा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष एवम् क्लबका संस्थापक अध्यक्ष अनिल वाग्लेको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि वाग्ले, प्रेस क्लबका सल्लाहकार गङ्गाराम गड्तौला, संस्थापक सचिव दिपेन लावती लगायतले होलीको शुभकामना दिएका थिए ।

क्लबका सचिव रोशन भट्टराईले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष नारायण अर्यालले स्वागत गरेका थिए ।

कार्यक्रम  बुधबारे स्थित दीर्घायु होटल एण्ड लजमा भएको थियो । होली मिलन कार्यक्रममा प्रेस क्लबका पदादिकारी, सदस्य एवम् सल्लाहकारहरुको उपस्थित रहेको थियो ।

अध्यक्ष तिम्सिनाले नेपाली समुदायले मनाउने पर्वको धार्मिक, साँस्कृतिक र ऐतिहासिक समेत महत्व रहेको बताउँदै यसको महत्वलाई आत्मसाथ गर्दै क्लबले हरेक बर्ष यस्ता पर्वको धुमधामले मनाउँदै आएको बताए ।

नेपालका पहाडी र हिमाली जिल्लामा आज (बिहीबार) होली अर्थात् फागु पर्व मनाईँदै छ। फागुन शुक्ल पूर्णिमाको दिन मनाईने होली आज पहाडी र हिमाली जिल्ला तथा भोली (शुक्रबार) तराईका जिल्लामा मनाइने छ। होली पर्वका अवसरमा सरकारले आज देशका पहाडी र हिमाली ५६ जिल्लामा सार्वजनिक बिदा दिएको छ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने होली पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ। 

गृहमन्त्रालयले होलीमा कसैको इच्छा विपरित जबर्जस्ती रंग नदल्न, लोला नहान्न आग्रह गरेको छ। होलीका नाममा उच्छृंखल गतिविधि गरे कारबाही गर्ने चेतावनी प्रहरीले दिएको छ। 

केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलोरूपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ। सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम कम हुँदै गएको छ।
त्रेता युगमा दैत्यराज हीरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ।

कहिले गुन्द्रक ब्रान्डिङ त कहिले तीतेपाती खेतीलगायतमा किसानलाई उक्साइरहेको रोङ गाउँपालिकाले अब भने कृषकलाई प्रतिस्पर्धी बनाउने ‘कृषि गुरु’ कार्यक्रम अघि सारेको छ। यो देशमै पहिलो र नमुना कार्यक्रम हो। यो कार्यक्रममा संघीय सरकाले १५ लाख सहकार्य गरेको छ भने बाँकी सबै खर्च गाउँ पालिकाले बेहोर्ने छ।झापाबाट इलाम प्रवेश गर्नासाथ इलामको रोङ गाउँपालिका टेकिन्छ। झापाबाट इलाम प्रवेश गर्नेलाई स्वागत गर्ने पहिलो गाउँपालिका कृषिमा भने ‘आफ्नै मोडल’का कारण चर्चामा आउने गरेको छ।
रोङ गाउँपालिकाको भौगोलिक परिवेश, प्राकृतिक स्रोत एवं बजारको पहुँचले उपलब्ध गराएको अवसर र किसानहरूको अन्तर्निहित क्षमतालाई विकास गर्दै आधनिक कृषि प्रविधिहरूको उपयोगगरी व्यावसायिक कृषिको माध्यमबाट दिगो आर्थिक वृद्धि तथा खाद्य सुरक्षाका लागि नेपालमै पहिलो पटक कृषि गुरुनामक योजना अघि सारेको पालिकाले जनाएको छ।

रोङ गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बो भन्नु हुन्छ  ‘कृषि भूमिको अवैज्ञानिक प्रयोग, निर्वाहमुखी कृषि प्रणाली र गैरकृषि क्षेत्रको तुलनामा कृषि क्षेत्रको न्यून आम्दानीको कारण कृषि क्षेत्र आकर्षक र सम्मानित हुन सकेको छैन हामी यो कार्यक्रममार्फत वास्तविक किसानको अवस्था परिवर्तनको प्रयासमा लागेका छौं।’ 

उहाँले लाखौं युवा कृषि पेसाबाट विदेश पलायन हुने अवस्थामा परिवर्तन ल्याउनसमेत यो कार्यक्रम अघि सारेको बताउनु भयो । उहाँले कृषि क्षेत्रलाई उत्पादन, आम्दानी र रोजगारको माध्यम बनाउनका लागि प्रतिस्पर्धी र व्यावसायिक कृषक बनाउने अभियानमा गाउँपालिका लागेको बताउनु भयो । रोङ गाउँपालिकाभित्र रहेका कृषकहरूमध्येबाट नै उत्कृष्ट ज्ञान, सीप, दक्षता नेतृत्व हासिल गरेका ‘गुरु किसान’ तयार गर्न कार्यविधि निर्माण गरेको अध्यक्ष स्याङ्बोले बताउनु भयो । पालिका अध्यक्ष स्याङ्बो भन्नुहुन्छ, ‘सानो सानो प्रयास गरिरहेका छौं, किसानको जीवनस्तर कसरी माथि उठाउन सक्छौं भनेर प्रयास गरिरहेका छौं।’ गुरु किसान कार्यक्रम यसैको निरन्तरता भएको उहाले सुनाउनु भयो । गुरु किसान कार्यक्रमले रोङ गाउँपालिकाका परि श्रमी र समर्पित किसानहरू मध्येबाट गुरु कृषक छनोट गरी कृषि तथा पशुपालनसम्बन्धी अन्य किसानहरूलाई ज्ञान, सीप क्षमता विकासमा योगदान गर्ने जनशक्तिको विकास गर्ने लक्ष्य राखेको छ। 

गुरु किसान हुन योग्य किसानको छनोट गरेपछि कृषि सामग्री, तालिम, कृषि उपकरणलगायतको क्षत्रमा सहजीकरण गर्ने अध्यक्ष स्याङ्बोले बताउनु भयो । उहाँले भने ‘गुरु किसान योग्य र उदाहरणीय भए पछि अरू कृषकहरूलाई आफ्नो योग्यता, क्षमता र अनुभवबाट उदाहरणीय बनाउन सहयोग गर्नेछन्।’

कार्यक्रमले गुरु किसानहरूको नेतृत्वमा अन्य कृषकहरूमा खाद्यबाली, तरकारी, उच्च मूल्य बालीलगायत पशुपालनको क्षेत्रमा व्यावसायिक क्षमता विकास गर्ने लक्ष्य राखेको छ। कार्यक्रमले गुरु किसानलाई व्यावहारिक र अनुभवले खारिएको अघोषित प्राविधिकको रूपमा विकास गर्ने लक्ष्यसमेत राखेको छ।

‘सुरुमा करिब तीन सय जना ‘गुरु किसान’ पहिचान गर्ने तयारी छ,’ गाउँपालिका अध्यक्ष स्याङ्बोले भन्नु भयो, ‘किसानको उत्पादन, परिमाण, गुणस्तर र निरन्तर उत्पादनजस्ता कुरामा एकरूपता ल्याउन गुरु किसान कार्यविधिलाई कार्यपालिकाले स्वीकृत गरेको छ।’

उनीहरूलाई ‘लोगो’ र परिचयपत्र वितरण गरिने गाउँपालिकाले जनाएको छ। उनले भन्नु भयो ‘गुरु किसानलाई पालिकको हरेक कार्यक्रमममा आशनग्रहण हुन्छ, सम्मान हुन्छ।’ गाउँपालिकाले गुरु किसानमार्फत उत्पादकत्वमा प्रतिस्पर्धा गराउन खोजेको छ। 

रोङ गाउँपालिकाको कुल १५६ दशमलव ०२ वर्ग किलोमिटर क्षेत्रमध्ये ४९ दशमलव ६२ वर्गकिलोमिटर जमिनखेती योग्य रहेको छ। पालिकाको तथ्यांकअनुसार पालिकाभरिमा अलैंची २० मेट्रिकटन, धान ३५० मेट्रिकटन, मकै १५० मेट्रिकटन, सुन्तला १६० मेट्रिकटन, सुपारी ३५ मेट्रिकटन, अदुवा १५ मेट्रिकटन, केरा १०० मेट्रिकटन, आलु १८० मेट्रिकटन र स्कुस ५०० मेट्रिकटन उत्पादन हुने गरेको छ।

यसबाहेक तोरी, बेसार, सिस्नु, खुर्सानी, च्याउ, कुरिलो, मुला, काँक्रो, टमाटर, तीतेकरेला, कुरिलोलगायतका बाली किसानले लगाउने गरेको पालिकाको कृषि शाखाले जनाएको छ।

रोङ गाउँपालिकामा उत्पादन भएको कृषि उपज स्थानीय बजार जोरकलश, हर्कटे, झापाको चारआली, बिर्तामोड, काँकडभिट्टा, इटहरीदेखि भारतको सिलिगुडीसम्म पुग्ने गरेको स्थानीय कृषक एगा अर्याल बताउँनु हुन्छ । 

रोङ गाउँपालिकाका ८० प्रतिशत नागरिक कृषि पेसामा आबद्ध भएको एक तथ्यांकले देखाएको छ। अध्यक्ष स्याङ्बो भन्नु हुन्छ  ‘हामी तिनै किसानको दिगो विकासका लागि काम गरिरहेका छौं।’

  कृषकलाई गुरु बनाउने योजना सुरु

गुन्द्रुक ब्रान्डीमा देशमै पहिलो

महको राजधानी बन्ने तयारी 

 कफीमा व्यावसायिक बनाउन लगानी

 पशु नश्ल सुधारमा आधा अनुदान 

 कृषि ऐनमा काम हुँदै

गुन्द्रुक ब्रान्ड
नेपाली माँझ हेपिएको कृषिउपज ‘गुन्द्रुक’लाई नेपालमा पहिलो पटक रोङ गाउँपालिकाले नै ब्रान्डिङको प्रयास गरेको हो । घरघरै उत्पादन हुने सागबाट गुन्द्रुक उत्पादन अभियानमा जुटेको रोङ अहिले चाहिँ किसानलाई नै गुरु बनाउने अभियानमा जुटेको हो। गुन्द्रुकको ठूलो बजार समात्न उसले गरेको प्रयासमा एकपछि अर्को सफलता मिलिरहेको गाउँपालिकाको दाबी छ।

गुन्द्रुक बजार पुर्‍याइसकेपछि ८० प्रतिशतभन्दा बढी रकम गाउँमा प्रवेश गर्ने, स्थानीय सरकार जनतासँग उत्पादनमा प्रत्यक्ष जोडिने र रोजगारीसमेत सिर्जना हुने लगायतका बहुआयामिक फाइदा हुने देखेर गुन्द्रुक उत्पादन अभियान थालेको गाउँपालिकाले यो प्रयासमा पछि हट्नु परेन। गाउँपालिकाले गुन्द्रुक उत्पादन अभियान सुरु गरेपछि भने सबै गाउँलेले समान मूल्य पाएका छन्। उत्पादनपछि गाउँपालिकाले अनुदानको पनि प्रबन्ध गरेको छ। 

गाउँपालिका अध्यक्ष स्याङ्बोका अनुसार गाउँपालिकाले सागको न्यूनतम समर्थन मूल्य प्रतिकेजी १० रुपैयाँ निर्धारण गरेको छ। साग गाउँपालिकाको फ्याक्ट्रीलाई दिने किसानले सागमा प्रतिकेजी ६ रुपैयाँ अनुदान पनि पाउने व्यवस्था गाउँपालिकाले गरेको छ। त्यस्तै गुन्द्रुकमा प्रतिकेजी ८० रुपैयाँ अनुदानको व्यवस्था छ। त्यो पनि अन्ततः किसानकै भागमा पर्ने गाउँपालिकाको भनाइ छ।

उहाका अनुसार ग्रामीण अर्थतन्त्र बलियो बनाउन र उत्पादनपछिको सबै पैसा गाउँमै रहने एउटा उपयुक्त माध्यम गुन्द्रुक हुने ठहर गरेर यो कामको थालनी भएको हो। गत आर्थिक वर्षमा ९ सय किलो तयारी गुन्द्रुक उत्पादन गरेको कृषि शाखा कृषि प्राविधिक सन्तोष लाप्चाले जानकारी दिनु भयो । उहाँका उनुसार पालिकाले तयारी गुन्द्रुकमा प्रतिकिलो ८० रुपैयाँ अनुदान दिएर गुन्द्रक प्रबद्र्धनमा सहयोग गरिरहेको छ। 
महमा सधैं अगाडि

ग्रन्द्रुक ब्रान्डिङमा सफल भएको इलामको रोङ गाउँपालिका महमा समेत एक कदम अघि बढेको हो। पछिल्लो समय ‘रोङ मह’ सधैं र सबै ठाउँमा किन्न पाइँदैन भन्ने नारासहित सो गाउँपालिका अघि बढेको रोङ गाउँपालिका अध्यक्ष अध्यक्ष मणिकुमार स्याङ्बो (सुवास) बताउनु हुन्छ ।

गाउँपालिकाले मौरीपालनलाई गाउँपालिकाको पहिचानका रूपमा स्थापित गर्न यो कार्यक्रम नै अगाडि बढाएको अध्यक्ष मणिकुमार 
स्याङ्बो (सुवास)ले जानकारी दिनु भयो । उहाका अनुसार मौरीपालन व्यवसायमा गाउँपालिकाले पहिला पनि लगानी गरेको र अब पनि प्राथमिकतामा यस व्यवसायलाई अघि बढाइनेछ। 

गाउँपालिकाले मौरी विकास केन्द्र नै स्थापना गरेर मौरीपालनको विकासमा लागेको छ। मौरीले वातावरण जोगाउनका लागि राम्रो भूमिका निर्वाह गर्ने भएकाले पनि मौरी जोगाउनुपर्ने बताइएको छ। साथै मौरी रहेमा महसमेत उत्पादन गर्ने र किसानको जीविकोपार्जनमा सहयोग पुर्‍याउनेछ। गाउँपालिकाले मौरीपालनलाई विषादी नियन्त्रणको अस्त्रको रूपमा पनि प्रयोग गरेको छ। 
परागशेचनले तरकारीबाली फल्नसमेत मद्दत गर्ने भएकाले पनि मौरी जोगाउन लगानी गरेको गाउँपालिका अध्यक्ष स्याङ्बो बताउनु हुन्छ । मौरी व्यवसायी कुमार तामाङ पर्यावरण र दिगो कृषिका लागि मौरी पालन व्यवसाय आवश्यक रहेको बताउँनु हुन्छ । 

गाउँपालिकाले मौरी विकास केन्द्रबाट मह तथा मौरीका घार तथा मौरीसमेत बिक्री वितरण गर्ने र आम्दानीको स्रोत बढाउने रहेको छ। रोङले सुन्तला र अलैंची प्रबद्र्धनमा समेत काम गर्दै आएको छ। अध्यक्ष स्याङ्बोले स्थानीय सरोकारवालाको सहकार्यमा कृषि ऐन निर्माण गरेर थप प्रभावकारी काम सुरु गर्ने तयारी गरेको बताउनु भयो । राष्ट्रिय कृषक समूह महासंघ कोशी अध्यक्ष कुसुम दाहालले रोङ गाउँपालिकाले कृषकका पक्षमा अरू स्थानीय तहले समेत अनुसरण गर्ने खालको काम गरिरहेको बताउनु भयो । 

खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले इलामको चार स्थान तहको भ्रमण पछि भने ‘रोङ गाउँपालिकाबाट देशका सबै स्थानीय सरकारले धेरै कुरा सिक्न सक्ने देखियो।’ उहाले भन्नू भयो रोङ गाउँपालिकाले केन्द्र सरकारले गर्न नसकेको काम गरिरहेको बताउनु भयो । गाउँपालिकाले ५० हजार कफीरोपण गराएर कृषकलाई कफीमा व्यावसायिक रूपमा लाग्न प्रोत्साहन गरेको शाखाले जनाएको छ। केही वर्षदेखि कफीखेती विस्तारमा लागेको पालिकाका २ सय २० जना किसानले कफी उत्पादन, प्रशोधन र बजारीकरण गरिरहेको गाउँपालिकाले जनाएको छ।

पशु नश्ल सुधारमा किसानसँग साझेदारी 

रोङ गाउँपालिकाले गाई, बाख्रा र बंगुरको नश्ल सुधार गर्नका लागि कृत्रिम गर्भाधानका लागि कृषकलाई ५० प्रतिशत अनुदान प्रदान गर्ने गरेको छ। ८० देखि ९० प्रतिशतसम्म बाच्छी जन्मने सेक्सड सिमेन (बीर्य)को मूल्य ३ हजार पर्छ। पशुपन्छी तथा मत्स्य विकास शाखाका पशु सेवा प्राविधिक राकेशकुमार राउतका अनुसार सो रकमको आधा अथवा एक हजार ५ सय रोङ गाउँपालिकाले व्यहोर्छ भने आधा रकम किसानले बेहोर्ने गरेका छन्।

सिमेनबाहेक प्राविधिक खर्चबापत किसानले ७ सय प्राविधिक खर्च बेहोर्ने व्यवस्था छ। गत आर्थिक वर्षमा पालिकको लागत सहयोगमा २ हजार ५९३ वटा गाई, बाख्रा र बंगुरमा कृत्रिम गर्भधारण गराएको राउतले बताउनु भयो ।

रोङ गाउँपालिकामा ३१ वटा दुग्ध संकलन केन्द्रमार्फत दैनिक ८ हजार लिटर दुग्ध संकलन हुने गरेको छ। दुग्ध उत्पादन वृद्धि गर्ने योजनासहित कृत्रिम गर्भधारणमा अनुदानको प्रबन्ध गरेको गाउँपालिकाले जनाएको छ। यस वर्षदेखि किसानका लागत सहभागिता घटाउने तयारी गरेको पालिकाले जनाएको छ।

इलामको सूर्योदय नगरपालिकाकामा नागरिकता बितरणको क्षेत्रअधिकार बिस्तार भएको छ । पाँचवटा वडा बासीलाई बितरण गरीदै आएको नागरिकता सेवा बिस्तार गरी १४ वटै वडाका नागरीकले पाउने ब्यवस्था भएको हो । अव सेवा बिस्तार संगै १४ वटै वडाका नागरिकले आगामी चैत्र तीन गतेबाट नगरपालिकाबाटै नागरिकता पाउने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय इलामको मिति २०८१ फागुन २० गतेको पत्र अनुसार सूर्योदय नगरपालिका २ पशुपतिनगरको अध्यागमन तथा सीमा प्रशासन कार्यालयबाट नागरिकता दिने ब्यवस्था गरीएको हो ।

यस अघि उक्त कार्यालयबाट वडा नं. १ देखि वडा नं.५ सम्मका नागरीकलाई नागरिकता प्रदान गरीदै आएकोमा चैत्र ३ गतेबाट वडा नं.६ देखि १४ का नागरीकले सोहि कार्यालयबाट नागरिकता पाउने यवस्था भएको अध्यागमन तथा सीमा प्रशासन कार्यालय पशुपतिनगरका कार्यालय प्रमुख होमनाथ पोख्रेलले जानकारी दिनु भयो । सबैवडाको नागरिकता उक्त कार्यालयबाट पाउने ब्यवस्था मिलाउन नगरले लामो समय देखि पहल गरेको थियो ।

नगर प्रमुख रण बहादुर राईले संघीयताको मर्म र भौगोलिक दृश्टिकोणबाट नगरबासीले उक्त कार्यालयबाट नागरिकता पाउदा धेरै सहज हुने बताउनु भयो ।

२०८१ चैत्र ३ गतेदेखि सूर्योदय नगरपालिकाका सबै वडा कार्यालयलाई नागरिकता सिफारिस अध्यागमन तथा सीमा प्रशासन कार्यालय पशुपतिनगरमा पठाउनका लागि पत्राचार सकिएको नगरका प्रमुख प्रशासकीय अधिकृत अमृत बहादुर राईले जानकारी दिनु भयो ।

नगर उप प्रमुख दुर्गाकुमार बरालका अनुसार अब करिब ४५ किलोमिटर धाएर इलाम जाने बाध्यताको अन्त भएको छ । जसले गर्दा नागरीकको समय र पैसाको समेत बचत हुने उहाले बताउनु भयो । यस अघि नै नगरपालिकाबाट राष्ट्रिय परिचय पत्र खिचाउने र बितरण गर्ने ब्यवस्था समेत भैसकेको छ ।

इलामको रोङ गाउँपालिका वडा नं ३ स्थित बैङकिङ कसुर मुद्दाका फरार रहेका हरि प्रसाद ढकाललाई प्रहरीले पक्राउ गरेको छ ।

स्ववियु निर्वाचन २०८१ को सन्दर्भमा, चैत्र ५ गते नेविसंघ सीतारमेश बहुमुखी क्याम्पस इकाई समितिको सम्पर्क कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न भएको  छ ।

यस अवसरमा, स्ववियु निर्वाचनका लागि अध्यक्ष पदमा विवेक वाग्ले, सचीव पदमा डम्बर कार्की, र कोषाध्यक्ष पदमा अभिषेक घतानीलाई उम्मेदवारका रूपमा सार्वजनिक गरियो।

नेविसंघले निरन्तर रूपमा विद्यार्थीहरूको हक, हित, र अधिकारको पक्षमा आवाज उठाउँदै आएको छ।

क्याम्पसमा विद्यार्थीहरूको आवश्यकता र मागअनुसार विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको संगठनले आगामी स्ववियु कार्यकालका लागि पनि विद्यार्थीमैत्री नेतृत्व चयन गरेको नेविसंघ सीतारमेश इकाई समितिका सभापति सन्ताहाङ लिम्बुले बताए। विद्यार्थीहरूको अपेक्षा अनुसार उनीहरूको प्रतिनिधित्व गर्न सक्षम जुझारु उम्मेदवारलाई अघि सारिएको उनको भनाइ छ।