October 20, 2025

झापाको बुद्धशान्तिमा हुने दोस्रो संस्करणको बर्खा स्मृति झापा जिल्ला अन्तरपालिका टि–२० पुरुष क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ । झापाका १५ वटै पालिका सहभागी रहने प्रतियोगिताको आयोजकले यस अघि नै खेल तालिका सार्वजनिक गरिसकेको आयोजक बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिका अध्यक्ष मदन प्रसाईंले बताउनु भयो ।

यही माघ ११ गतेदेखि १९ गतेसम्म बुद्धशान्ति-३ स्थित पेट्रोल पम्पछेउको खुला मैदानमा हुने प्रतियोगिताका लागि खेल मैदानको स्तरोन्नति सकिएको छ भने पिच निर्माणको स्टेज निर्माणको काम पूरा भएको बुद्धशान्ति गाउँपालिका क्रीकेट टिम मुख्य प्रशिक्षक गोकुल पौडेलले बताउनु भयो ।दोस्रो संस्करणको प्रतियोगिताको उद्घाटन खेलमा भद्रपुर नगरपालिका र दमक नगरपालिका खेल्दै छन् ।

खेलतालिका अनुसार प्रतियोगिताको दोस्रो दिन बिर्तामोड नगरपालिकाले कमल गाउँपालिकाको सामना गर्नेछ भने सोही दिन कनकाई नगरपालिकाले बाह्रदशी गाउँपालिकाविरुद्ध खेल्नेछ ।

त्यस्तै, माघ १३ गते शिवसताक्षी नगरपालिका र झापा गाउँपालिका तथा मेचीनगर नगरपालिका र हल्दिबारी गाउँपालिका भिड्ने छन् ।
माघ १४ गते बुद्धशान्ति गाउँपालिकाले गौरादह नगरपालिका र गौरीगञ्ज गाउँपालिकाले कचनकवल गाउँपालिकाको सामना गर्नेछन् । अर्जुनधारा नगरपालिकाले बाइ पाएको छ ।

यसैबीच, प्रतियोगिताको दौरान भारतीय महिला टिम र नेपाली महिला टिमबीच दुई खेल हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद ७५ हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउने अध्यक्ष प्रसाईंले बताउनु भयो । खेलको प्लेयर अफ द म्याचलाई ३ हजार, सेमिफाइनलको प्लेयर अफ द म्याचलाई ५ हजार र फाइनलको दिन ७ हजार तथा प्लेयर अफ द सिरिजलाई १३ हजार पुरस्कार दिइने बताईएको  छ ।

इलामको सूर्योदय नगरपालिका पूर्वी नेपालको ढोका मानिन्छ । भारतीय सीमावर्ती क्षेत्रमा रहेको यो नगरपालिका पर्यटन, कृषि, पशुपालन, शिक्षामा अब्बल मानिन्छ । यसै नगरपालिकाको अन्तुबाट देखिने सूर्योदयका कारण इलामलाई सूर्योदयको जिल्ला भनेर पनि चिनिन्छ ।

चियाको राजधानीका रूपमा रहेको यो नगरपालिका जिल्लाकै बढी चिया उत्पादन हुने क्षेत्र हो । अन्तु, कन्याम जस्ता पर्यटकीय क्षेत्रका यो नगर पर्यटनमा कहलिएको छ ।  प्रदेश सरकारले पर्यटकीय नगरी घोषणा गरेको यो नगरपालिका यसअघि नै बालमैत्री नगर घोषणा भइसकेको छ । पोषणमैत्री नगर घोषणाको तयारीमा छ ।

पेपरलेस अभियानमा जुटेको नगरले सबै सेवा अनलाइनबाटै गर्ने गरेको छ । यस नगरमा पछिल्लो समय नगरका असल अभ्यास हेर्न र सिक्न देशभरका पालिकाका जनप्रतिनिधि आउने गरेका छन् ।

नगरमा विदेशी दातृ निकायको समेत राम्रो लगानी रहेको छ । नेकपा (एकीकृत समाजवादी) का तर्फबाट विजयी रणबहादुर राई विकासप्रेमी नगरप्रमुखका रूपमा परिचित हुनुहुन्छ । दोस्रो कार्यकालमा काम गरिरहनुभएका प्रमुख राईसँग पत्रकार प्रेम अधिकारीले गर्नुभएको कुराकानी : तपाईंसहितको नगरपालिकाको समूह हालै छिमेकी मुलुक चीनको भ्रमणबाट फर्किएको छ । उक्त भ्रमणको उपलब्धि के रह्यो ? 

छिमेकी मुलुक चीनको भ्रमण उपलब्धिमूलक रह्यो । हामी छ दिनका लागि चीन गएका थियौँ । चियाको व्यावसायिकता र बजारीकरणको काम भयो । भ्रमणमा जाँदा हामीले के पायौँ भने चीनमा एकप्रकारको बाँस पाइँदो रहेछ । त्यसबाट उनीहरूले निकै राम्रो व्यवसाय पनि सञ्चालन गर्दै आएका रहेछन् ।

हाम्रा खुला ठाउँमा पनि त्यस्तो बास लगाउन सकिने सम्भावना हामीले देख्यौँ । त्यस्तो बाँसले एकै वर्षमा आम्दानी पनि दिने रहेछ । त्यहाँ गरिँदै आएको माछापालन पनि हेर्ने अवसर हामीलाई मिल्यो । उनीहरूले माछापालनमा ठुलो उपलब्धि हासिल गरेको रहेछन् । उनीहरू नेपालमा केही उद्योगधन्दा खोल्न चाहन्छन् । त्यहाँको सङ्घीय, प्रदेश र स्थानीय सरकार यहाँ लगानी गर्न इच्छुक देखिएका छन् । 

के त्यस्तो लगानी सूर्योदय नगरपालिकामा ल्याउन सम्भव छ ?

हो, चिनियाँहरू चिया खेतीमा लगानी गर्न इच्छुक देखिए । माछापालन व्यवसायका लागि पनि अध्ययन गर्ने सहमति भएको छ । बाँस रोप्नका लागि हामीले कति जग्गा उपलब्ध गराउन सक्छौँ, त्यसमा भर पर्छ । उद्योग सञ्चालन गर्न त बाँस धेरै चाहिन्छ । सूर्योदय नगरपालिकाले अग्रसरता लिएर अन्य पालिकामा बाँस रोप्न प्रोत्साहन गर्ने सहमति छ । विदेशी दातृ निकायले पनि विशेष रूपमा हेर्दै आएको सूर्योदय नगरपालिकामा विदेशी साझेदारीका के कस्ता कार्यक्रम सञ्चालन भइरहेका छन् ? 

नेपालमा आएकामध्ये केही राजदूत मात्र यस नगरपालिकामा आउन बाँकी छन् । अमेरिका र कोरियाका राजदूत आउन बाँकी छ । स्विस, जापानलगायतका राजदूत त धेरै पटक आउनुभयो । हामीले सिस्टममा गरेका काम उहाँहरू मन पराउनुहुन्छ । अब नेपाल चाहिँ विकासोन्मुख देशबाट विकासशील देशतर्फ उन्मुख हँुदै छ । उहाँहरू के भन्नुहुन्छ भने सूर्योदयमा उदाहरणीय काम भएका छन् । 

यहाँका कतिपय असल अभ्यासका कुरालाई अन्य पालिकामा पनि लैजानु पर्छ भन्ने उहाँहरूको मान्यता छ । सूर्योदयलाई राम्रो काम गर्ने सिकाइ केन्द्रका रूपमा विकास गर्न उहाँहरूले सुझाउने गर्नुहुन्छ ।

त्यति मात्र नभएर युएन ह्याबिट्याटमार्फत म चीनमा नेपालका पालिकाहरूको प्रतिनिधित्व गरेर पनि गएँ । अर्धविकसित देशको डिजिटलाइजेसन कस्तो छ ? प्रविधिमा पालिकाले कस्तो अभ्यास गरेका छन् भन्नेबारे हाम्रोमा केही उदाहणीय काम भएकाले म नेपालकै प्रतिनिधित्व गरेर गएँ । त्यहाँ ‘सेभेन इन्टरनेसनल हाई लेभल’ को कार्यव्रmममा मैले दुई वटा प्रस्तुतीकरण राखेँ । धेरैले त्यो प्रस्तुतीकरणलाई अनुसरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यो हाम्रा लागि महìवपूर्ण थियो ।

मेयर्स एकेडेमी, विश्व बैङ्क, युएन डिआरआर, सिडिआरएफसँंग काम भइरहेको छ । विश्व बैङ्कले कोशी प्रदेशमै सूर्योदय नगरपालिका छानेको छ । स्विस सरकारको साना सिँचाइ आयोजना, सामी, रेमी, इन्र्सोयर जस्ता परियोजना यस नगरमा दातृ निकायको सहयोगमा सञ्चालनमा छन् । कोरियाले समेत पर्यटन क्षेत्रमा काम गर्ने भएको छ ।

यो नगरमा सबै जोखिमका सम्बन्धमा जिपिएस, जिआइएस र आरभिएसमा समेत समावेश गरेका छौँ । यी नै काम उहाँहरूका लागि उदहरणीय बनेको हामीले पाएका छौँ । 

दिगो विकासका लक्ष्यलाई स्थानीयकरण गर्ने भनेर लाग्नुभएको छ । कसरी स्थानीयकरण हुन्छ ? 

पहिला हामीले स्थानीयकरणका लागि एसडिजीको भेला राख्यौँ र सबैलाई बुझाएर स्थानीयकरणतर्फ लाग्याँै । हामीले दिगो विकासका १७ वटा लक्ष्यलाई सङ्घ, प्रदेश र स्थानीय सरकारबिच त्यसको दायित्व र जिम्मेवारीको बाँडफाँट गरेका छौँ ।

यहाँ दिगो विकासका लक्ष्यलाई स्थानीयकरण गर्नेभन्दा अनौठो हुन सक्छ । यसलाई यसरी बुझाँै स्वास्थ्यमा हाम्रो दायित्व के हो त ? स्वास्थ्यमा हामीले कति वटा सूचकाङ्क पूरा गर्नु पर्छ ? ती सूचकाङ्कभित्र बसेर बजेट विनियोजन गरी सन् २०३० सम्ममा सबै स्वास्थ्यका लक्ष्य पूरा गर्न सक्नु नै दिगो विकासका लक्ष्यको स्थानीयकरण हो । बाल मृत्युदरको अवस्था कस्तो छ ? पोषणमैत्री नगर बनाउन के गर्ने ? एउटा एउटा गरी लक्ष्य प्राप्त गर्नु नै दिगो विकासका लक्ष्यको स्थानीयकरण हो । शिक्षातर्फ नगरका शतप्रतिशत बालबालिकाले कक्षा ८ पास गरेको हुनुपर्ने छ । साक्षरता प्रतिशत हेरिन्छ, भोकमरीको अन्त्य गर्ने, सिँचाइको व्यवस्था गर्ने गरी बजेटको साङ्केतिकीकरण गरिएको हुन्छ । 

यस नगरपालिकाको बेरुजु शून्य जस्तै छ । सुशासनका हिसाबले नगरको अवस्था कस्तो छ ? 

विसं २०७४ तिर यहाँको बेरुजु उच्च थियो । अनि त्यसपछि स्थानीय क्षमता विकास, स्वमूल्याङ्कन, स्थानीय आर्थिक विकासका कुरासँगै हामीले आन्तरिक नियन्त्रण प्रणालीलाई चुस्तदुरुस्त रूपमा अगाडि बढायौँ । यो बेरुजु भनेको चाहिँ पालिकालाई हेर्ने एउटा ऐना हो । बेरुजुको अवस्थाले पालिका कहाँ छ भन्ने देखाउँछ । अरूले अङ्क प्राप्त गर्न काम गरे । हामीले संस्थागत सुशासन, क्षमता अभिवृद्धि, सेवा प्रवाह विस्तार र विस्तृतीकरण गर्ने गरी काम गरेका छौँ । नगरपालिका सिस्टममा अगाडि बढेको हुनाले बेरुजु कम भयो । 

कृषि र पशुपालनमा अब्बल छ सूर्योदय । खोरेतमुक्त र ९५ प्रतिशत बाच्छी जन्माउने अभियानको अवस्था कस्तो छ ? 

हामीले यहाँका नागरिकलाई यहीँ बस्न योग्य ठाउँ बनाउनु पर्छ । सूर्योदय दुध उत्पादन वृद्धि गर्नु पर्छ भनेर लागेको छ । विसं २०७४ मा दैनिक ३४ हजार लिटर दुध उत्पादन भएको थियो । अहिले त्यो बढेर ८० हजार लिटरभन्दा बढी भएको छ । 

दुध उत्पादन गरेर मात्र भएन, त्यसको बजार सुनिश्चित पनि हुनु पर्छ । नगरले २०७९ सालमा एउटा कार्यविधि बनाएर नगरपालिकालाई खोरेतमुक्त बनाउने कानुन पास गरे पनि सङ्घ र प्रदेशले त्यो कानुन नबनाएका कारण निकै समस्या भयो । नगर, प्रदेश र सङ्घले खोरेतमुक्त प्रमाणित गर्ने कुरा भएन । अन्तर्राष्ट्रिय लेभलबाटै हुनुपर्ने रहेछ । 

नगरपालिका खोरेतमुक्त (एफएमडी) भएन भने दुधबाट उत्पादित वस्तु विदेश निर्यात गर्न सकिँदैन । युरोपलगायतका देशमा दुधका परिकार पठाउन खोरेतमुक्त प्रमाणीकरण भएको हुनै पर्छ । बल्ल अब चाहिँ सङ्घ र प्रदेशले खोरेतमुक्त बनाउने कार्यविधि बनाइसकेपछि गाई जोन बनाउनु पर्छ भनेर व्यापक रूपमा लागेका छौँ । हजाराँै पशुलाई खोप लगाएका छौँ । यसमा प्रदेश र सङ्घले पनि सहयोग गरेको छ ।

हामी दैनिक दुई लाख लिटर दुध उत्पादन गर्ने लक्ष्यमा छाँै । दुई लाख लिटर दैनिक दुध बनाउन बाच्छी चाहियो । त्यो भएकाले युएस र क्यानडाबाट सेक्स सिनेम ल्याएर त्यो बाँडेका छौँ । यसमा किसानको पनि केही लगानी हुन्छ । सेक्स सिमेनबाट ९० प्रतिशत बाच्छी जन्माउने लक्ष्य हो ।

हामी सफल भयौँ । अहिले ९५ प्रतिशत बाच्छी जन्मिएका छन् । पशुको गर्भधारणको दर ठाउँ अनुसार फरक फरक हुन्छ । नेपालकै सबैभन्दा राम्रो गर्भधारण दर इलामलाई मानिन्छ । त्यसमा पनि सबैभन्दा राम्रो सूर्योदय नगरपालिकामा भएको विज्ञहरूले जानकारी दिएका छन् । 

भौतिक पूर्वाधारमा भन्दा बढी लगानी सामाजिक क्षेत्रमा कसरी सम्भव भयो ? 

सबैले तत्काल सबै काम खोज्छन् । दुई÷तीन लाख रुपियाँ बजेट हालेर मात्र विकास हुने होइन । नागरिकको सबैभन्दा बढी खर्च शिक्षा र स्वास्थ्यमा हुन्छ । शिक्षा र स्वास्थ्यको खर्च मात्र घटाउन सकियो भने आफैँ गरिबी निवारण हुन्छ । सामुदायिक अस्पतालमा नगएर निजीमा उपचार गराउँदा नागरिकको लाखौँ खर्च हुन्छ । हाम्रो नगर अस्पताल निर्माण हुँदै छ । त्यहीँबाट उत्कृष्ट सेवा दिने लक्ष्य छ । अहिले १४ वटै वडामा स्वास्थ्य कार्यालय बनिसकेका छन् । सबैमा अनलाइन सिस्टम छ ।

मनिटरिङ नगरबाटै हुन्छ । रोग लाग्नुभन्दा अघि नै सचेत गराउनका लागि बालबालिकादेखि वृद्धवृद्धासम्मका लागि निःशुल्क शिविर सञ्चालन गरिरहेका छौँ । अर्को कुरा शिक्षालाई वैज्ञानिक बनाउने अभियान छ । हामीले करफोकमा कृषि इनोभेसन सेन्टर बनाएका छौँ । त्यहाँ अटो मेसिन जडान गरिएको छ । मोबाइलबाटै त्यहाँ पानी लगाउनेदेखि सबै काम हुन्छ । त्यो हेरेर पनि भविष्यमा केटाकेटीले केही सिक्न सकून् भन्ने हो । हामीले एआईमार्फत अटो मेसिनले गर्ने गरी कृषिको परिभाषा बदल्ने प्रयास गरिहेका छौँ । 

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. ४ स्थित हापेन चोकमा बोलेरो र अटो ठोक्किँदा एक जनाको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् ।चारआलीबाट इलामतर्फ जाँदै गरेको बोलेरो गाडी प्र.१–०१–००१ ज ३८५१० र विपरीत दिशाबाट आइरहेको अटो प्र.१–०१–००२ ह ३६३० आपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा परि अटोमा सवार बुद्धशान्ति गाउँपालिका वडा नं. ४ की २७ वर्षीय अमृता तामाङको मृत्यु भएको छ।

घाइते अवस्थामा भद्रपुरस्थित प्रादेशिक अस्पताल पुर्‍याइएकी तामाङलाई चिकित्सकले मृत घोषणा गरेका हुन्।

घटनामा अन्य तीनजना घाइते भएका छन्। अटोमा सवार २१ वर्षीया कृतिका तामाङको अनुहारमा चोट लागेको छ।

४१ वर्षीया मञ्जु तामाङको दायाँ खुट्टामा चोट लागेको छ। बोलेरोका चालक मेचीनगर नगरपालिका–१२ निवासी ४० वर्षीय दिलकुमार माझीको दायाँ हातमा चोट लागेको छ।

तीनै जनाको उपचार बुधबारेस्थित सिटी अस्पतालमा भइरहेको छ । दुर्घटनापछि इलाका प्रहरी कार्यालय बुधबारेबाट प्रहरी निरीक्षक सुवास शेर्पाको नेतृत्वमा टोली खटिएको थियो।

दुवै सवारीसाधन र अटो चालकलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बुधबारेमा राखिएको छ।

झापाको बुद्धशान्तिमा यहि माघ ११ गते देखि हुन लागेको दोस्रो संस्करणको बर्खा स्मृति अन्तरपालिका पुरुष क्रिकेट प्रतियोगिताका लागि  बुद्धशान्ति गाउँपालिकाको खेलाडी छनोट गरिएको छ ।

आज खेल मैदान स्थलमा भएको छनोट खेलमा १५ जना खेलाडी छानिएको खेलकुद बिकास समिती बुद्धशान्तिका संयोजक पर्शुराम चेम्जोङले जानकारी दिनु भयो  । अर्पण कार्किको कप्तानिमा पारस निरौला (उपकप्तान) , मन्जिल पौडेल , आदिहाङ फागो, प्रकाश खनाल,पर्शुराम पौडेल , प्रबिन कोइराला , रिजन आङ्देम्बे, टेकेन्द्र कार्की, पंकज तिम्सिना , सचिन लिम्बू, रिकेस आङदम्बे, आगल्स अधिकारि, असिम रिजाल, कौशल  ढकाल छानिएको मुख्य प्रशिक्षक गोकुल पौडेलले जानकारी दिनु भयो  ।  त्यसैगरी वैकल्पिकमा साजन गदाईली, प्रीन्स गुप्ता र आदर्श कार्की रहेको छन् ।

 

झापाको बुद्धशान्तिमा नेपाली भाषा साहित्य बृहत् कवि गोष्ठी सम्पन्न भएको छ । बुद्धशान्ति वडा नं ६ स्थित ठुटेवरमा   प्राङगणमा मंगलबार एक कार्यक्रमको आयोजना गरि नेपाल प्रज्ञा प्रतिष्ठानको सहयोग तथा ठुटेबर संरक्षण तथा विकास समितीको आयोजनामा बृहत् कवि गोष्ठी सम्पन्न भएको हो । ठुटेवर संरक्षण तथा विकास समितिका अध्यक्ष खड्ग पान्धाक सुब्बाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठान साहित्य मातृ भाषा विभाग प्रमुख राजन मुकारूङको प्रमुख आतिथ्यता रहेको थियो । नेपाल प्रज्ञा प्रतिष्ठान साहित्य मातृ भाषा विभाग प्रमुख राजन मुकारूङले उद्घाटन गर्नु भएको कार्यक्रममा ५० जना वढि कविहरूको तथा स्रष्टा सिर्जना राखिएको थियो ।धर्म संस्कृति भाषा कला र साहित्य हाम्रो शान ऐतिहासिक ठुटेबर हाम्रो पहिचान भन्ने स्लोगन सहितको बृहत् कवि गोष्ठिको अवसर पारेर झापा जिल्लाका सुगम देखि विकट क्षेत्रमा शान्ति, सुरक्षा र अमनचयन कायम गरी आम जनसमुदायमा राज्यको उपस्थिति बोध गर्न पाएको भन्दै विगत वर्ष देखि झापामा रही शान्ति सुरक्षा दिनु हुने जिल्ला प्रहरी कार्यलय झापाका प्रहरी उपरीक्षक मिलन केशीलाई सम्मान समेत गरिएको थियो ।कार्यक्रममा प्रमुख अतिथि राजन मुकारूङ लगायत मामृभाषा कोष तथा विभाग प्रमुख प्राज्ञ त्रैलोक्यमान वनेपाली, नेपाल प्रज्ञा प्रतिष्ठान प्रज्ञासभा सदस्य प्राज्ञ मुनाराज शेर्मा,चन्द्र भन्डारी जय भन्डारी लगायतले सम्युक्त रूपमा सडक पुस्तकालयको समेत उद्घाटन गर्नु भएको थियो ।कार्यक्रममा विभिन्न विद्यालय साथै बाल क्लबहरूका विद्यार्थीहरूको कविता प्रतियोगिता समेत प्रस्तुत गरिएको थियो । प्रतियोगितामा शान्तिनिकेतन अङ्ग्रेजी विद्यालय बुद्धशान्ति ५ कि मन्सु ढकाल प्रथम ,बहुवन मा वि रोङ ५ कि गृसा सक्तेल दोस्रो, र सिदेश्वर बाल बगैँचा कल्बका स्वागत अधिकारी तेस्रो भएका थिए।

कार्यक्रममा प्रमुख अतिथि  राजन मुकारूङ रोङ गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्वो ठुटेवर संरक्षण तथा विकास समितिका अध्यक्ष खड्ग पान्धाक सुब्बा अतिथिहरू चन्द्र भन्डारी जय भन्डारी लगायतले आफ्नो धारणा राख्नु भएको थियो ।कार्यक्रममा विभिन्न संङ सस्थाका प्रतिनिधि सामाजिक व्याक्तित्व स्थानिय बासी लगायतको बाक्लो उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । ठुटेवर संरक्षण तथा विकास समितिका सचिव कृष्ण प्रसाद आचार्यले उपस्थित सम्पर्ण अतिथिहरूलाई स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सञ्चालन नेपाली भाषा साहित्य बृहत् कवि गोष्ठी कार्यक्रम समिति सदस्य सोमनाथ पौडेल र नारायण अधिकारीले गर्नु भएको थियो ।

इलामको रोङ गाउँपालिकाले अभिभावक शिक्षा प्रभावकारी बनाउन मोबाइल एप(डिजिटल) प्रर्णाली सुरु गरिएको छ।

गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकलाई विद्यालयप्रति रुचि बढाउनका लागि मासिक रुपमा अभिभावक पढाउँदै आएको गाउँपालिकाले अभिभावक शिक्षालाई थप प्रभावकारी बनाउनका लागि मोबाइल एप(डिजिटल) प्रणाली सुरु गरिएको हो । 

पालिकाको शिक्षा तथा युवा खेलकुद शाखाले बाल स्याहार, घरबाटै शिक्षा दिन र बालबालिकाको स्वास्थ्य सुधारका लागि मोबाइल एप निर्माण गरी अभिभावकको सबै विवरण एपबाटै अद्यावधिक गर्न सुरु गरेको शिक्षा तथा युवा खेलकुद शाखा प्रमुख श्रुति तामाङले जानकारी दिनुभयो । 

प्रयास प्रारम्भको प्राविधिक सहयोगमा अभिभावककाे सबै विवरण राख्ने गरी निर्माण गरिएको मोबाइल एप नेपालमै फरक र पहिलो अभिभावक शिक्षा सम्बन्धी एप भएको प्रयास प्रारम्भका विज्ञ लोकप्रिय खनालले जानकारी दिनुभयो ।

अभिभावक  शिक्षामा सहजकर्ताको समेत काम गरी रहनुभएका खनालले रोङमा मात्र नभई देशका अन्य पालिकालाई समेत काम लाग्ने गरी एप निर्माण गरिएको जानकारी दिनुभयो ।

‘प्रविधिको प्रयोगले शिक्षकको समय बचत गर्न र त्यो समय उहाँहरुले विद्यालयका अन्य काममा खर्चन सक्नुहुन्छ,’ खनालले भन्नुभयो ।

अभिभावक  उपस्थिति र मूल्याङ्कनको मापन गर्ने गरी तयार गरिएको मोबाइल एप शिक्षा शाखा, सहजकर्ता शिक्षक र विद्यालयले प्रयोग गर्ने गरी निर्माण गरिएको छ ।

उक्त एपमा विद्यार्थी नियमित भए-नभएको, अभिभावकले विद्यार्थीको पढाइबारे विद्यालयमा चासो राखे÷नराखेको सबै जानकारी थाहा पाउन सकिन्छ ।

गाउँपालिकाले एक वर्षअघि देखि कार्यविधि नै बनाएर सामुदायिक विद्यालयका विद्यार्थीका अभिभावकलाई महिनामा एक पटक विद्यालयमा भेला पारेर अभिभावक शिक्षा दिँदै आएको छ ।

गाउँपालिकाले महिनामा एक दिन अभिभावक अनिवार्य विद्यालयमा आएर अभिभावक शिक्षा लिनुपर्ने र त्यो दिन विद्यार्थीले घरमा बसेर अभिभावकको काम गर्नुपर्ने बाध्यकारी कानुन नै निर्माण गरेको छ । 

हालसम्म गाउँपालिकाका ३० वटा सामुदायिक विद्यालयमा अध्ययनरत दुई हजार तीन सय विद्यार्थीका अभिभावकमध्ये एक हजार तीन सय बढीलाई अभिभावक शिक्षा दिइएकाे गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले जानकारी दिनुभयो ।

उहाँले अभिभावक दर्ता, हाजिरी, अभिभावकको शैक्षिक मूल्याङ्कन, हाजिरी प्रतिवेदन, मूल्याङ्कन प्रतिवेदन र अभिभावक परिचय पत्रसमेत एपबाटै अध्ययन गर्न सकिने भएकाले पछिल्लो समय सामुदायिक विद्यालयप्रति अभिभावकको रुचि बढ्न थालेको जानकारी दिनुभयो ।

अध्यक्ष स्याङ्बोले भन्नुभयो, “सामुदायिक विद्यालयका विद्यार्थी, शिक्षक र अभिभावकमा एकरुपता ल्याउन सके मात्र शैक्षिक गुणस्तर सुधार गर्न सकिन्छ, त्यसकै लागि हामीले एप निर्माण गरी लागु गरेका हौं ।”

गाउँपालिकाले शुरुमा ४० शिक्षकलाई सहजकर्ता शिक्षकको रुपमा तालिम दिएर अभिभावक शिक्षा सुरु गरेको थियो ।

पालिकाले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि आर्थिक वर्ष २०८१-०८२ मा २० करोड लगानी गरेको छ ।

विद्यालयको भौतिक संरचनादेखि आईसीटी ल्याब र अभिभावक शिक्षा लगायतमा गाउँपालिकाले जोड दिएको गाउँपालिका उपाध्यक्ष विष्णुमाया भुजेलले जानकारी दिनुभयो । 

अविभावक शिक्षासँगै गाउँपालिकाले आमा समूहलाई सक्रिय बनाएको छ । आमा समुह परिचालन गरेर सामुदायिक विद्यालयको गुणस्तर सुधारमा काम थालिएको छ ।

पालिकाले कार्यविधि निर्माण गर्दै अभिभावक परिचय पत्र, अविभावक शिक्षा, अनुगमन, मूल्याङ्कन, पुरस्कार र दण्ड सजायका विषयमा स्पष्ट उल्लेख गरेको छ ।

अभिभावक शिक्षा लागु भएपछि विद्यार्थी नियमित विद्यालय जाने, विद्यार्थीको स्वास्थ्य र खानपानमा ख्याल पुग्ने गरेको रोङ ६ को सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक गोविन्द पौडेलले जानकारी दिनुभयो । 

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल झापाको अध्यक्षमा छत्रबहादुर कार्की निर्वाचित हुनुभएको छ  ।

आइतबार (आज) भएको १४औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा कर्णाली एजुकेशन फाउण्डेशन बुद्धशान्तिका कार्की निर्वाचित हुनभएको हो  ।

उहाँलेले १७६ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्दी जनार्दन ढकालले १०८ मत प्राप्त गर्नु भएको थियो ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा बुद्धस्मृति एजुकेसन फाउण्डेशन बिर्तामोडका हरिकृष्ण (एचके) पाठक निर्वाचित हुनु भएको छ ।

उहाँले १८९ मत प्राप्त गर्नु भएको थियो ।
उहाँका प्रतिद्वन्दी उत्तम खनालले ९५ मत प्राप्त गर्नु भएको थियो  ।

उपाध्यक्षमा एम्स एकेडेमी अर्जुनधाराका टीआर गौतम १२२ मतसहित विजयी बन्नु भएको ह‍ो ।

उहाँका प्रतिद्वन्दीहरु बदिराम राईले ९६ र भवानी पाठकले ६१ मत प्राप्त गर्नु भएको प्याब्सन झापाका सचिव त्रिलोचन गौतमले जानकारी दिनु भयो  ।

सचिवमा दिपजन अंग्रेजी बोर्डिङ स्कुल बाह्रदशीका लक्ष्मीप्रसाद उप्रेतीले १६९ मत प्राप्त गरी विजयी हुनु भयो ।
अर्का उम्मेदवार रुद्र सिटौलाले ११४ मत प्राप्त गर्नु भयो ।

कोषाध्यक्ष पदमा सगरमाथा इङ्गलिस बोर्डिङ स्कुल शिवसताक्षीका अमृतकुमार तिम्सिना निर्वाचित हुनु भयो ।

उहाँले १४९ मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्दी जनार्दन मैनालीले १३६ मत प्राप्त गर्नु भएको थियो  ।

सहसचिवद्वयमा प्रजिता एजुकेशन एकाडेमी दमकका जिवन शिवाकोटी १७० र बेनुबाजा इङ्गलिस बोर्डिङ स्कुल कनकाईका विनोद सुब्बा १६८ मतसहित विजयी बन्नु भयो भने डम्बर रुचालले १३२ मतमात्र प्राप्त गर्नु भयो ।

सहकोषाध्यक्षमा साउथ होराइजन इङ्गलिस स्कुल झापाका नारायण सुवेदी निर्विरोध निर्वाचित बन्नु भएको  हो।

सदस्यहरुमा सुमन शर्मा जमरकट्टेल, दशरथ (देवेन्द्र) हुमागाई, कुलबहादुर श्रेष्ठ, कुमार राया, मोहन थापा, कल्पना थापा र प्रेमकुमार ओझा निर्विरोध चयन हुनभएको हो ।

सदस्य पालिकाबाट १५ पदसंख्या मध्ये गणेशकुमार श्रेष्ठ, सुर्यबहादुर कटुवाल, युवराज बराल, गोपाल ढुंगेल, भोजबहादुर कार्की, सन्तोष सुब्बा, दिपेन्द्र सुब्बा र अनुप राय चयन हुनुभएको छ ।

त्यस्तै अधिवेशनले १३ जना महाधिवेशन प्रतिनिधीमध्ये पाँच जनालाई चयन गरेको छ ।

इश्वरी श्रेष्ठ, डिल्लीप्रसाद चापागाई, श्रवण पोखरेल, चन्द्रप्रकाश राई र गीताराज खड्का (हरी) महाधिवेशन प्रतिनिधीमा चयन भएको निर्वाचन समिति संयोजक अमृतबहादुर बुढाथोकीले जानकारी दिनु भयो ।

३०९ जना मतदाता मध्ये २८९ मत खसेको थियो ।

झापाको बुद्धशान्तिमा दोस्रो बुद्धशान्ति गाउँपालिका वडा स्तरिय  नकआउट भलिवल प्रतियोगिताको हुने भएको छ । बुद्धशान्ति गाउँपालिका खेलकुद विकास समितिको संयोजन तथा वडा नं ६ खेलकुद विकास समितिको आयोजनामा यहि माघ  २५ र २६  गते प्रतियोगिता संचालन हुने भएको हो ।

बुद्धशान्तिका गाउँपालिकाका ७ वटै वडाको टिम सहभागिता हुने प्रतियोगितामा विजेताले नगद २० हजार मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद १० हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउने बुद्धशान्ति वडा नं ६ खेलकुद विकास समितिका अध्यक्ष असोक लाखेले बताउनु भयो । खेलकुद विकास समितिका पदाधिकारी, विभिन्न संघ संस्थाका प्रतिनिधिको उपस्थितमा भएको पत्रकार सम्बेलनमा माघ २५ गते उद्घाटन हुने प्रतियोगिताको खेल तालिका आयोजक समितका सचिब बाबुल दाहालले गर्नु भएको थियो ।

बुद्धशान्ति गाउँपालिकाको आर्थिक सहयोगमा सन्चालन हुने प्रतियोगिताले युवाहरुलाई खेलकुदको माध्यमबाट शारीरिक तथा मानसिक रुपमा स्वस्थ राख्न पालिकाले विभिन्न खेलकुदहरूको आयोजना गर्दै आएको बताउदै भलिवल विकासका लागि वडास्तरीय प्रतियोगिता आयोजना गर्न लागिएको बुद्धशान्ति गाउँपालिका खेलकुद विकास समिति संयोजक पर्शुराम चेम्जोङले बताउनु भयो ।पत्रकार सम्मेलन मार्फत शुभकामना दिदै वडा नं ६ का वडा अध्यक्ष शिवराज पौडेलले अनुशासनको महत्व सिकाउदै आन्तरिक पर्यटन प्रवर्धन गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको  बताउनु भयो  । बुद्धशान्ति–६  स्थित ठुटेवरको खेल मैदानमा हुने प्रतियोगिताका लागि खेल मैदानको पनि तयारी भईसकेको बताउँदै वडा नं ६ वडा सदस्य दिनेस लेप्चाले प्रतियोगिताको प्रतेक खेलमा विधागत पुरस्कार अन्तर्गत उत्कृष्ट खेलाडीलाई नगद रू १ हजार  प्रतियोगिताको बेस्ट स्पाईक ट्रफी, बेस्ट सेटर ट्रफी, बेस्ट लिबेरो ट्फी,बेस्ट सरबर ट्रफी,पाउने बताउनु भयो ।

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं १ स्थित बुद्धआदर्श माध्यमिक विद्यालयका समकालीन साथी समूह-२०५४ ले आज एक कार्यक्रमको आयोजना गरि वनभोज तथा तेस्रो वार्षिक साधारण सभा साथै शिक्षक सम्मान कार्यक्रम सम्पन्न गरेको छ । शनिबार मेचिनगर १३ स्थित कालिका सिमसार पर्यापर्यटन  पार्कक्षेत्रमा कार्यक्रमको आयोजना गरिएको थियो ।

समकालीन साथि समुहले साधारण सभा साथै बनभोजको अवसर पारेर समुहबाट बुद्धआदर्श माद्यमिक विद्यालयका प्रधानाध्यापक दिपक बुढाथोकीलाई सम्मान समेत गरिएको थियो ।कार्यक्रम संयोजक नारायण न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा  बुद्धआदर्श माद्यमीक विद्यालयका प्रधानाध्यापक दिपक बुढाथोकीको प्रमुख आतिथ्यतामा कार्यक्रममा सम्पन्न गरिएको थियो । उहाँलाई खदा लगाई मिस्ठान परिकारको साथै मायाको चिनो सहित सम्मान पत्र द्वारा सम्मान गरिएको थियो ।

बुद्धआदर्श मावि समकालीन साथी समूह-२०५४ ले आयोजना गरेको वनभोज साथै साधारण सभामा आआफ्नो पेशा र व्यवसायले निकै टाढा भएपनि समकालीन साथीहरू सबैजना यसरी भेला भएर कार्यक्रममा आफ्ना तितामीठा अनुभवहरू साटासाट गर्न पाएकोमा सबैले खुशि व्यक्त गर्नु भएको थियो ।शिक्षकलाई सम्मान सँङसँगै कार्यक्रममलाई थप रोचक बनाउन हाँडी फुटाउने कविता,गजल, मुक्तक,नृत्य तातो आलु लगायत विभिन्न कार्यक्रमको आयोजना गरिएको थियो ।

समूहका सदस्य  बेदनिधी न्यौपानेले बैदेशिक रोजगारको शिलशिलामा विदेसमा रहेर पनि यश कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने  राजन दुलाई लाई  विशेष धन्यबाद दिदै उपस्थित सम्पुर्ण अतिथिहरूलाई शाब्दिक स्वागत गर्नु भएको  थियो । कार्यक्रमका सभा अध्यक्ष नारायण न्यौपानेले कार्यक्रमको आौचित्यमाथि प्रकाश पार्दै शुभकामना मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको संचालन समकालीन साथी समुहका सदस्य दुर्गानाथ ढकालले गर्नु भएको थियो ।

झापाको बुद्धशान्तिमा पाँच विगे देवी बस्ति सम्वृद्धि बहुउदेश्यीय शहकारी संस्थाको ११ अौ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

बुद्धशान्ति २ स्थित नवज्योति युवा क्लबको सभाहलमा ११ अौ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।पाँच विगे देवि बस्ति सम्वृद्धि बहुउदेश्यीय शहकारी संस्थाका अध्यक्ष चन्द्र कला निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा  बुद्धशान्ति गाउँपालिका सहकारी विभाग प्रमुख देवेन्द्र कटुवालको प्रमख आतिथ्यता रहेको थियो ।कार्यक्रमलाई सम्बोदन गर्दै प्रमुख अतिथि  प्रमुख अतिथि देवेन्द्र कटुवालले पाच विगे देवि बस्ति बहुउदेश्यीय सहकारी संस्था हालको अवस्थामा आइपुग्दा संस्थाको आर्थिक प्रतिवेदन अद्ययनको आधारमा  बुद्धशान्तिको क्षेत्रमा यस पाँच विगे देवी बस्ति सम्वृद्धी बहुउदेश्यीय सहकारी अभिभावकत्व गर्न सक्ने संस्था रहेको बताउदै पछिल्लो समय बजारमा फैलिएको ऋण मिनाहाको हल्लाले लघुवित्त संस्थाहरू प्रभावित भएको बताउदै यस्तो हल्लाको पछि नलाग्न सबैमा अनुरोध गर्दै आफ्नो धारण राख्नु भएको थियो ।कार्यक्रममा संस्थाको निरिक्षण तथा पदपुर्ति समितिका संयोजक राजकुमार श्रेष्ठले बचत तथा कर्जा लगानि असुलि कार्बिधि २०८१/ को प्रस्तुत गर्नु भएको थियो भने पाँच विगे देवी बस्ति सम्वृद्धि बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष चन्द्र कला निरौलाले सहकारि सिद्धान्त अनुरूप गुणस्तरिय वित्तिय सेवा मार्फत विपन्न सदस्यको आर्थिक जीवन उकास्ने उद्येस्य लिएर अगाडि वढेको बताउदै संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाको ११ अौ  वार्षिक साधारण सभाको अवसर पारेर संस्थाले गर्दै आएको सदस्य सम्मान कार्यक्रम अन्तरगत जेष्ठ सदस्यमा तुलाराम श्रेष्ठ उत्कृष्ठ बचतकर्तामा देवेन्द्र कुमार  लुम्रे मगर साथै उतकृष्ठ ऋणकर्तामा कौशिला भुजेललाई सम्मान गरिएको थियो ।नवज्योति युवा क्लबको साहलमा सम्पन्न सभामा भएको सभामा बुद्धशान्ति वडा नं २ कार्यवाहक अध्यक्ष सन्जु पौडेल कामधेनु दुग्ध सहकारी संस्थाका अध्यक्ष दुर्गा कुँइकेल जिल्ला सहकारी संघका लेखा सुपरिवेक्षण समिति सदस्य प्रेम सागर सापकोटा लगायतले लगायले शुभकामना मन्तव्य राख्नु भएको थियो ।कार्यक्रममा संस्थाले संस्थामा रहेर नियमित कारोबार गर्दै आउनुहुने संस्थाका सेयर सदस्यहरूलाइ कृषि आौजार समेत वितरण गरिदै आएको बताउदै उपस्थित सम्पुर्ण अतिथिहरूलाई संस्थाका उपाध्यक्ष प्रेम प्रसाद न्यौपानेले स्वागत मन्तव्य राख्नु भएको थियो ।कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि संस्थाका सेयर सदस्य सन्चारकर्मी लगायतको उपस्थितिमा सम्पन्न भएको कार्यक्रमको सन्चालन संस्थाका सचिब चुडामणि पान्डेले गर्नु भएको थियो ।