
झापाको बुद्धशान्ति गाउँपालिका वडा न. १ मा रहेको कर्णाली एजुकेशन फाउन्डेसनले रजत महोत्सव सम्पन्न गरेको छ ।
विद्यालय स्थापना भएको २५ औं वर्ष पूरा गरेको अवसरमा रजत महोत्सव मनाएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छत्रबहादुर कार्कीको अध्यक्षतामा आयोजित समारोहमा प्रदेश १ का उद्योग, कृषि तथा सहकारी मन्त्री भक्ति प्रसाद सिटौलाको प्रमुख आतिथ्य रहेको थियो । समारोहमा उपसभामुख इन्दिरा मगर, पूर्व प्राचार्य गङगाराम गड्तौला तथा विव्यस पूर्व अध्यक्ष ध्रुव कोइरालालगायतलाई अभिनन्दन गरिएको थियो ।
कार्यक्रममा प्याब्सनका केन्द्रीय सल्लाहकार गोविन्द लम्साल, बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईं लगायत विभिन्न विद्यालयका प्रधानाध्यापक, संचालक, समाजसेवी, शिक्षासेवी, अभिभावकको बाक्लो उपस्थिति थियो । कार्यक्रममा शिक्षक शरद भट्टराई र कर्मचारी हेमबहादुर मगरलाई सम्मान गरिएको थियो ।
२५ वर्ष पार गरेको पावन अवसरमा विद्यालयले रजत महोत्सव स्मारक निर्माण गरेको छ । प्रमुख अतिथि सिटौलाले स्मारकको लोकार्पण गरेका थिए ।
कार्यक्रममा बोल्दै मन्त्री सिटौलाले विद्यालयमा पठनपाठनका अतिरिक्त सीपमूलक शिक्षा दिनु आवश्यक रहेको बताए । नेपाली संस्कृतिको संरक्षण गर्ने र जीवनोपयोगी शिक्षा आजको आवश्यकता रहेको उनको विचार थियो ।
कार्यक्रममा आफ्नो विचार राख्दै उप सभामुख मगरले आफूले संसारका विभिन्न देशमा बालबालिकाको सङगत गरेको स्मरण गर्दै नानीहरूलाई सिर्जनशील काम गर्न सझाव दिएकी थिइन् ।
कार्यक्रममा प्याब्सनका केन्द्रीय सल्लाहकार गोविन्द लम्साल, सम्मानित व्यक्तित्व ध्रुव कोइराला लगायतले मन्तव्य राखेका थिए । नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीले नृत्य तथा गायन गरी झन्डै तिस वटा प्रस्तुति दिएका थिए भने शिक्षक, शिक्षिका तथा कर्मचारीको पनि प्रस्तुति रहेको थियो ।