
इलामको सूर्योदय नगरपालिका वडा नं १३ लक्ष्मीपुर स्थित किरण टोलमा भाइले दाजुलाई छुरी प्रहार गरेका छन् । घरायसी विवादका क्रममा स्थानीय चन्द्र ध्वज नेम्वाङका एक्लो छोरा २७ बर्षीय तिलक नेम्बाङ्गले मधिरापान गरी बुवा आमालाई कुटपिट गरेपछि छुट्याउन पुगेका आफ्नै सानीमाको छोरा ३३ बर्षीय सन्तोष लिम्बुलाई तिलकले गए राती धारिलो छुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक प्रकाश जबेगुले जानकारी दिनुभयो ।
छुरी प्रहारबाट गम्भीर घाईते भएका सन्तोषको झापास्थित बी एण्ड सी अस्पतालमा उपचार भईरहेको जबेगुले बताउनु भयो । आरोपितलाई प्रहरीले सूर्योदय–१३ को भालुखोपबाट नियन्त्रणमा लिएको जनाएको छ । उनलाई थप अनुसन्धानका लागि नजीकैको प्रहरी विट तिनघरेमा राखिएको जबेगुले बताउनुभयो । घटनाको थप विवरण आउन बाँकी छ ।