इलामको रोङ गाउँपालिकाले आर्थिक अभावले बालबालिकाले पढाइ छाड्न नपरोस् भन्ने उद्देश्यले अध्यक्षसँग विद्यार्थी’ कार्यक्रमअन्तर्गत ‘एक रुपैयाँ बचत’ सुरु गरेको छ ।
केही समय लाग्ने भएपनि कोसिस आफैंले गर्ने हो भन्दै गाउँपालिकाले एक रुपैयाँ बचत गर्दा एक जनाले महिनामा पाँच हजार रुपैयाँसम्म बचत गरेको बताईएको छ ।
पालिकाका विद्यार्थीका लागि पालिकाले सबै विद्यार्थीको बैंक खाता खोलिदिँदैछ । यसका लागि प्राइम कमर्सियल बैंकसँग सम्झौता भएको पालिका अध्यक्ष मनीकुमार स्याङ्बो सुवासले जानकारी दिए । उनका अनुसार बैंकले पनि प्रत्येक विधार्थीको खातामा सय रुपैयाँ जम्मा गरिदिने छ ।
यसबाट पालिकाका करिब दुई हजार पाँच सय विद्यार्थी लाभान्वित हुने पालिकाले अनुमान गरेको छ । हरेक वर्ष वित्तीय साक्षरता र संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले पालिकासँग सम्झौता गरेको हो । पालिका अध्यक्ष स्याङ्बोले विद्यार्थीको बैंक खाता विद्यालयमै खोलिने बताउनु भयो।
अध्यक्षसँग विद्यार्थी, विद्यालयमा आधारित उद्यमशीलताका लागि १४ सर्तमा बैंकसँग सम्झौता भएको छ,’ उहाले भन्नुभयो ‘कार्यक्रमका लागि कार्यविधि पारित भएको छ ।’ अहिले यसका लागि निर्देशक समिति र स्कुल–स्कुलमा कार्यान्वयन समितिसमेत गठन गरिएको छ । प्रचारप्रसार र सचेतना विभिन्न माध्यमबाट सम्पन्न गरिएको छ । ‘अभिभावकसँग पालिकाको भेटघाट कार्य तीव्र हुँदैछ, बैंक खाता खोल्ने तयारी हुँदैछ, आइतबार सबै विद्यालयमा यो काम सुरु हुन्छ,’ उहाँले भन्नू भयो ‘मंसिरमा यो कार्यक्रमअन्तर्गत न्यूनतम् ५० देखि पाँच हजार रुपैयाँसम्म जम्मा भएको जानकारी आएको छ ।’
यसरी बचत गर्दैजाँदा विद्यार्थीलाई उच्च शिक्षाका लागि सहज हुने पालिकाको आशा छ । बचत कार्यक्रमको विवरण व्यवस्थापनका लागि सफ्टवेयर तयार गरिएको र फोकल शिक्षकलाई सामान्य तालिमसमेत गराउने पालिकाको तयारी छ । ‘हाम्रो पुस्ताले भोगेको समस्या आउँदो पुस्ताले भोग्न नपरोस् भन्ने हाम्रो उद्देश्य हो,’ अध्यक्ष स्याङ्बो बताउनु हुन्छ ‘भविष्यको भन्दा वर्तमानको आवश्यकता गति तीव्र हुन्छ तर भविष्य निकै महत्वपूर्ण हुन्छ । भोलिका लागि आजैबाट लगानी सुरु गर्नुपर्छ भनेर यो अवधारणा ल्याइएको हो ।
‘माछा मारेर दिनुभन्दा माछा मार्न सिकाउनु उपलब्धिमूलक हुन्छ,’ उहाँ भन्नू हुन्छ ‘अनावश्यक खर्च कटौती गरी भविष्यका लागि बचत गर्ने कार्यक्रम हो यो ।’
अहिले गाउँपालिकाको ठूलो बजेट छात्रवृत्ति शीर्षकमा खर्च भइरहेको छ । तर, सबै विद्यार्थीले पर्याप्त छात्रवृत्ति पाउन सकेका छैनन् । छात्रवृत्ति वितरण गर्नु दिगो समाधान नभएको भन्दै छात्रवृत्ति पाउनुपर्ने समस्याको स्थायी समाधान प्रयास थालिएको अध्यक्ष स्याङ्बो बताउनु हुन्छ । यसले बचतको संस्कार स्थापित गर्ने र साक्षरता बढाउने पालिकाको अपेक्षा छ ।
विद्यार्थी बचतका लागि प्राइम कमर्सियल बैंकले दुई लाख ५० रुपैयाँभन्दा बढी सहयोग गर्ने बैंकले जनाएको छ । पालिकामा ३० विद्यालय छन् ।