
- झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ५ स्थित शान्ती निकेतन अङ्ग्रेजी मा.बि ले हरेक हप्ताको शुक्रवार गुड फ्राईडे”को रुपमा विद्यार्थीहरुको सर्वब्यापी बिकासको लागि अतिरिक्त क्रियाकलाप संचालन गर्दै आईरहेकोमा यस हप्ताको शुक्रवार देखि ब्यवहारिक ज्ञान सिकाउन सुरु गरेको छ।
विद्यालयले मिति भदौ १ गते शुक्रवार बाट कक्षा ८,९,१० का विद्यार्थीहरुलाई दुना टपरी गाँस्न सिकाउन थालिएको बुद्धशान्ति गाउँकार्यपालिका सदस्य तथा विद्यालयका कोअर्डिनेटर दिनेश लेप्चाले जानकारी दिनु भयो।
गाउँ घरका ज्येष्ठ नागरिक तथा आमाहरुले मात्र गाँस्न जान्नुहुने भएकाले अहिलेको पिढीले यस्ता ब्यवहारिक ज्ञान नसिके निकट भबिस्यमा यस्ता ज्ञान लोप भएर जाने साथै आफ्ना घरमा गाउँमा हुने शुभ अशुभ सबै कार्यहरूमा समेत दुना टपरी प्रयोगमा आउने भएकाले आफुसँग भएको सीप जतिबेला पनि प्रयोगमा आउने भएकाले पनि अहिले साना साना नानिहरूलाई पनि यस्तो व्यवहारिक ज्ञान सिकाउन सुरू गरिएको विद्यालयका प्रीन्सिपल उदय चन्द्र कोईरालाले बताउनु भयो ।
यस्तै दुना टपरी हरेक घरको शुभकार्य गर्दा आवश्यकता पर्ने भएकाले र घरवरपर नै सहजै उपलब्ध हुने रुखका पातहरुबाट बनाउन सकिने भएकाले बिनाखर्च आफ्नो सीप प्रयोग गरि यसलाई बनाउन सकिने विद्यालयका भाईस प्रीन्सिपल रबिन कोईरालाले बताउनु भयो।
विद्यालयका बिज्ञान बिषयका शिक्षक सुनिल पौडेल साथै अन्य शिक्षकहरु विशाल शिवाकोटी,भेस चाम्लिङ,कृष्ण घिमिरेद्वारा सहजिकरण गरिएको कार्यक्रममा शिक्षकहरु कबिता भण्डारी,रचना ढुंगाना,भिक्टोरी श्रेस्ठ लगायतले प्रशिक्षकको भुमिका निर्वाह गर्नुभएको थियो।