हरिकुमार प्रसाईं अन्तर माध्यमिक विद्यालयस्तरीय गणित हाजिरीजवाफ प्रतियोगिताको उपाधि बुद्धशान्ति ३ स्थित एरा एभरग्रीन अंग्रेजी विद्यालयले जितेको छ ।
झापाको बिर्तामोड-५ मा अवस्थित न्युटन्स एजुकेशन एकेडेमीले विद्यालयका संस्थापक प्रिन्सिपल स्व.हरिकुमार प्रसाईंको स्मृतिमा आयोजना गरिएको प्रतियोगितामा बुद्धशान्तिको एरा एभरग्रीन उपाधि जित्न सफल भएको हो ।
त्यस्तै प्रतियोगितामा आयोजक न्युटन्स एजुकेशन एकेडेमी द्वितीय, लक्ष्मी माध्यमिक विद्यालय अर्जुनधारा तृतीय र इष्ट होराइन अंग्रेजी माध्यमिक विद्यालय धुलाबारी सान्त्वना भएको छ । प्रतियोगितामा प्रथम, दोश्रो, तेस्रो र सन्त्वना हुनेलाई क्रमश: २० हजार, १५ हजार, १० हजार र ५ हजार नगद, सर्टिफिकेट र मायो चिनो प्रदान गरिएको थियो ।
प्रतियोगिताका विजेतालाई कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिका वडा नं.२ का वडाध्यक्ष किशोरकुमार पौडेल, बिर्तामोड नगर शिक्षा अधिकृत जानुका गुरागाईं, विद्यालयका प्रिन्सिपल देवेन्द्र हुमागाईं, कार्यक्रम संयोजक धुर्वकुमार कार्की लगायतले पुरस्कार वितरण गरेका थिए । हाजिरीजवाफको सञ्चालन कार्यक्रम व्यवस्थापक तथा सिनियर गणित शिक्षक केशव अधिकारीले गरेका थिए । काठमाडौँ उपत्यका बाहिर मोफसलमै पहिलोपटक आयोजना गरिएको प्रतियोगितामा झापाका ३० वटाभन्दा बढी विद्यालयको सहभागिता रहेको विद्यालयका प्रिन्सिपल देवेन्द्र हुमागाईंले जानकारी दिए ।विद्यालयका एकेडेमिक इञ्चार्ज नोयल पेरेराले मन्तव्यबाट स्वागत गरेको समापन कार्यक्रमको सञ्चालन शिक्षक पवित्रा पौडेलले गरेकी थिइन् ।विद्यालयले २२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम बिहीबार सम्पन्न गरेको थियो ।