April 19, 2025

 

अस्मिता बर्देवा । झापाको बुद्धशान्ति गाउँपालिकाको १४ औं गाउँसभा  अधिवेशन बुधबार बाट सुरू भएको छ बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईंको अध्यक्षतामा बसेको गाउँसभाले आ.व.८१/८२ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । वार्षिक नीति तथा कार्यक्रम शंसाेधन सहित सर्वसहमतिले पारित पनि भएकाे छ । गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईंले गाउँपालिकाको नीति तथा कार्यक्रम पेश गर्नुभएको थियो ।
नेपालको संविधान स्थानीय सरकार संञ्चालन ऐन २०७४, बजेटका सिद्धान्त र उदेश्य दिगो विकासका लक्ष्य तथा रणनीति लगायतको विषयहरुको सैद्धान्तिक र व्यवहारिक पक्षहरुलाई आत्मसाथ गर्दै बुद्धशान्ति गाउँपालिका आम नागरिकको आवश्यता र मागलाई ध्यानमा राखि गाउँपालिका अध्यक्ष प्रसाईले ३७ पृष्ठ लामो नीति तथा कार्यक्रम पेश गर्नुभएको थियो ।गाउँपालिकाले निकै लामो समय सम्म बजेटको तयारी र छलफल गरी ल्याएको नीति तथा कार्यक्रममा लोकतन्त्र प्रति पूर्ण प्रतिबद्ध ,सुशासन, गाउँबासीहरु प्रतिको उत्तरदायी प्रशासनिक कार्य, भ्रष्टाचारमुक्त सभ्य र सुसंस्कृत समाज निर्माणका लागि कर्तब्यनिष्ट भई सुदृढ ढंगले लाग्ने कुरा उल्लेख गरिएकाे छ । पालिकाले समानता र न्यायको पक्षपोषण गर्दै सबै प्रकारका भेदभाव र अन्यायहरुको अन्त्य, सामाजिक न्यायको प्राप्ति र सबैका लागि समृद्धि आफ्नो मूल नीति लिएको छ । नागरिकहरूको नजिकमा रहेर नागरिकलाई पुर्याउनु पर्ने शिक्षा, स्वाथ्य, कृषि,खानेपानि तथा सरसफाई, पूर्वाधार निर्माण लगायतका सार्वजानिक सेवा सुविधाको प्रभावकारी ढङ्गबाट प्रवाह गर्ने श्रम संस्कृतिको उजागर गर्दै स्थानीय विकास निर्माणमा जनताको अधिकतम श्रम सहभागिता मार्फत कम नगद लागतमा श्रममुलक योजनाहरु संञ्चालन गरिने बताइएकाे छ ।
खोला नदि उकासमा रहेका तथा अन्य सार्वजनिक जग्गाहरुको पहिचान गरी सम्भाव्यताको आधारमा वृक्षारोपण तथा सामुहिक खेती गरी गाउँपालिकाको आन्तरिक श्रोतलाई मजबुत गर्दै लैजाने उल्लेख छ ।

संचालन हुने योजनालाई पारदर्शी र जनमुखि बनाउन हाल देखिएका समस्याहरुलाई सम्बोधन गर्न स्थानीय दररेट ढुवानी , भूमिहिन दलित सुकुम्बासी अव्यवस्थित वसोवासीहरुको समस्या समाधान गर्ने कामलाई उच्च प्राथमिकताका साथ अगाडी बढाइने बताईएको छ ।

बुद्धशान्ति उद्योग बाणिज्यसंघ बुद्धशान्ति झापाले नवनिर्वाचित पदाधिकारीलाई सपथ ग्रहण तथा पद हस्तान्तरण गराएको छ ।
सोमबार संस्थाको आफ्नै सभाहलमा एक कार्यक्रमको आयोजना गर्दै नवनिर्वाचित पदाधिकारीलाई सपथ ग्रहण तथा पद हस्तान्तरण गराएको हो । निर्वाचन समितिका संयोजक डिल्लीराम तिम्सिनाको सभापतित्व तथा झापा उद्योग बाणिज्यसंघ शाखा बुद्धशान्तिका संस्थापक अध्यक्ष बेणुप्रसाद सङ्ग्रौलाको प्रमुख आतिथ्यतामा सपथ ग्रहण तथा पद हस्तान्तरण गरीएको थियो ।

कार्यक्रममा निर्वाचन समितिका संयोजक संस्थापक अध्यक्ष बेणुप्रसाद तिम्सिनाले नवनिर्वाचित अध्यक्ष दिपक सापकोटा सहित १३ सदस्यीय पदाधिकारीहरुलाई सपथ ग्रहण गराउनु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि संस्थापक अध्यक्ष बेणुप्रसाद सङ्ग्रौलाले सम्पूर्ण निर्वाचित पदाधिकारीलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै उद्योगी व्यवसायीको हितमा काम गरेर नमूना कार्यसमितिको रुपमा चिनाउनु पर्ने बताउदै आफ्ना भनाई राख्नु भएको थियो ।

सपथ ग्रहण पश्चात नवनिर्वाचित अध्यक्ष दिपक सापकोटाले विश्वास गरेर आँफूलाई अध्यक्षको जिम्मेवारी दिनुहुने सम्पूर्ण व्यवसायीलाई धन्यवाद दिदै व्यवसायीको विश्वासलाई कहिल्यै गुम्न नदिने आफ्नो कार्यकाल उद्योग, व्यवसायीकै हितमा कार्य गर्ने उद्योग बाणिज्यसंघको संस्थागत हित र उद्योगी व्यवसायीको स्तर बढाउन स्थानीय निकाय, जनप्रतिनिधि, राजनीतिक दल, सामाजिक संघसंस्था लगायतसंग हातेमालो गर्दै अघि बढ्ने समेत बताउनु भयो  ।

निर्वाचन समितिका सदस्य भवानी शंकर उप्रेतीले उपस्थित सम्पुर्ण अतिथिहरूलाई  स्वागत गर्नु भएको कार्यक्रममा निर्वतमान अध्यक्ष रुद्रप्रसाद चापागाईं,मेची उद्योग बाणिज्य संघका सदस्य योगेन्द्र चिमरिया,संस्थाका अध्यक्ष चन्द्रप्रसाद उप्रेति नेकपा एमाले बुशान्तिका अध्यक्ष नेत्र रिजाल, लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा नेपाली काँग्रेस बुद्धशान्तिका उपसभापति मनेश दाहाल, माओवादी केन्द्र बुद्धशान्तिका अध्यक्ष प्रेम नेम्वाङ, राष्टिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष नारायण न्यौपाने बुधबारे जेसिजका अध्यक्ष  दुर्योदन देव सिह जनता समाजबादी पार्टी ,नेपाल बुद्धशान्तिका अध्यक्ष दुर्गा नेम्बाङ विभिन्न संघ संस्थाका प्रतिनिधि सञ्चारकर्मी, सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको कार्यक्रमको सन्चालन निर्वाचन समिति सदस्य घनश्याम सापकोटाले गर्नु भएको थियो ।

गत जेठ २८ गते सम्पन्न भएको निर्वाचनबाट संघको उद्योग उपाध्यक्षमा दुर्गा कुईंकेल, बाणिज्य उपाध्यक्षमा उमाराज ढकाल, महासचिवमा लक्ष्मीप्रसाद उप्रेती, उद्योेग सचिवमा हेमन्तराज बराल, बाणिज्य सचिवमा ज्ञानु थापा, कोषाध्यक्षमा ओमप्रकाश बाँस्तोला सर्वसम्मत रुपमा चयन हुनुभएको थियो भने महिला सदस्यमा ललिता गौतम र टिकादेवी चौलागाईं सर्वसम्मत चयन हुनु  भएको थियो भने अन्य चार जना खुल्ला सदस्यमा भने पाँच जनाको उम्मेद्वारी परेकाले निर्वाचन गरिएको थियो जसमा खुल्ला सदस्यमा रामलाल कोईराला, मदन कुमार भट्टराई, चन्द्र कुमार कटुवाल र श्रीलाल रसाइली विजयी हुनु भएको निर्वाचन समितिका संयोजक डिल्लीराम तिम्सिनाले जानकारि दिनु भयो ।

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ५ मा नेकपा एमाले को दोस्रो वडा अधिवेशन शनिवार सम्पन्न भएको छ ।

 नेकपा एमाले वडा कमिटी बुद्धशान्ति ५ का अध्यक्ष गजाधर पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य हरि वहादुर राजवंसीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथी नेकपा एमाले केन्द्रीय कमिटी सदस्य हरि वहादुर राजवंसीले नवनिर्वाचित कमिटीलाई बधाई तथा शुभकामना दिदै ३६५ दिनमा ३६४ दिन एमाले र १ काङ्गेस नहुन आग्रह गर्दै संगठन विस्तार भावी दिनमा कमिटी टोल लाई सकृय,गतिशिल,र अब्बल बनाउने साथै मुलुकको समसामयिक राजनिती र भावी निर्वाचनको सवालमा टोल कमिटी र अन्य मतदाताले खेल्नु पर्ने भुमिकाको बारेमा प्रष्ठ पार्नु भएको थियो ।

 बुद्धशान्ति ५ स्थित  जेष्ठ नागरिको शभाहलमा शनिवार सम्पन्न भएको  अधिबेशनमा नेकपा एमालेमा रहेर योगदान पुर्याउनु हुने २५ जना वुद्धबुवा अामा हरूलाई  सम्मान समेत गरेको छ ।

नेकपा एमाले झापा जिल्ला लेखा कमिटी सदस्य सम्भु पौडेल स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य टीका पाठक ,कोशि प्रदेश सदस्य लक्ष्मी कुमार राई , कोशी प्रदेस सदस्य धनश्याम अधिकारी नेकपा एमाले बुद्धशान्ति गाउँ कमिटी अध्यक्ष नेत्र रिजाल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

शनिवार सम्पन्न दोस्रो वडा अधिवेशनबाट पुन गजाधर पौडेलको अध्यक्षमा रहदै उपाध्यक्षमा प्रबिन धिमाल, सचिव रामचन्द्र भट्टराई,सहसचिवद्वय दिनेश पोख्रेल र कल्पना तोलाङ्गि  सहित २४ समिति सदस्य निर्वाचित भएका छन ।

कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि सदस्यहरू भगवती न्यौपाने, चन्द्र पौडेल, दिपक गौतम, गंङ्गा सुवेदी ,सृजना शेर्मा लगायतको उपस्थित रहेको कार्यक्रम सन्चालन नेकपा एमाले गाउँ कमिटी सदस्य भरत खतिवडा गर्नु भएको थियो ।

बुद्धशान्ति उद्योग बाणिज्य संघको आसन्न २०८१ जेठ २८ गते हुन गाइरहेको निर्वाचनमा संयुक्त ब्यवसायीहरुका तर्फ वाट सदस्य पदका लागि ४ जना उमेदवारहरु चुनावी मैदानमा रहनु भएको छ ।

विगत लोमो समय देखी बुद्धशान्ति गाउँपालिकामा ब्यवसाय सञ्चालन गर्दै आउनु भएका मदन कुमार भट्टराई, रामलाल कोइराला, श्रीलाल रसाइली र चन्द्र कुमार कटुवाल चुनावी मैदानमा रहनु भएको छ ।

कार्यसमितिका अध्यक्ष सहित ९ जना भने निर्विरोध निर्वाचित हुनुभएको छ ।

बुद्धशान्ति गाउँपालिका वडा नं. ३ स्थित बुधवारे बजारमा अस्मिता कृषि भण्डार नाम दिएर ब्यवसायमा निरन्तर रहनु भएका मदन कुमार भट्टराई कृषि सम्बन्धि मल विउ विजन लगायतका सामग्रीको ब्यवसायमा सहभागी हुनुहुन्छ । मल विउ विजन बिक्रेताको तर्फ वाट प्रतिनिधित्व गर्दै भट्टराईको उमेदवारी परेको हो । आफु बाणिज्य संघको नेतृत्वमा पुग्दै गर्दा सम्पूर्ण ब्यवसायीको पक्षमा रहेर वकालत गर्ने साथै कृषि क्षेत्रमा सहभागी ब्यवसायीहरुका लागि आफ्नो तर्फ वाट कानुनत गर्न सक्ने पहल गर्ने पनि भट्टराईले प्रतिवद्धता जनाउनुभयो । उहाँको चुनाव चिन्ह साईकल रहेको छ ।

त्यसै गरी बुद्धशान्ति गाउँपालिका वडा नं. १, पुलचोकमा लामो समय देखी हार्डवेयर ब्यवसाय सञ्चालन गरिरहनु भएका अनुभवी ब्यवसायी रामलाल कोइराला पनि चुनावी मैदानमा हुनुहुन्छ । हार्डवेयर ब्यवसायीको प्रतिनिधित्व गर्दै कोइरालाले उमेदवारी दिनुभएको हो । कोइरालाले सम्पूर्ण हार्डवेयर ब्यवसायीहरुको पक्षमा रहेर काम गर्ने प्रतिवद्धता सहित आफुले उमेदवारी दिएको वताउनुभयो । उहाँको चुवान चिन्ह कैँची रहेको छ ।

त्यसैगरी बुद्धशान्ति गाउँपालिका वडा नं. ३ पहाडि चोकमा श्री माता पाथिभरा ज्वेलर्स सञ्चालन गरिरहनु भएका श्रीलाल रसाइली पनि चुनावी मैदानमा हुनुहुन्छ । सम्पूर्ण सुनचाँदी ब्यवसायीहरुको तर्फ वाट आफ्नो उमेदवारी परेको श्रीलालले बताउनुभयो । बाणिज्य संघको नेतृत्वमा पुग्दै गर्दा आफु सम्पूर्ण सुनचाँदी ब्यवसायीको पक्षमा रहेर काम गर्ने प्रतिवद्धता पनि उहाँले जनाउनुभयो । उहाँको चुनाव चिन्ह पानिको धारा रहेको छ ।

बुद्धशान्ति गाउँपालिका वडा नं. ३ बालुवाटारमा अमृता ट्रेड एण्ड सप्लायर्स का सञ्चालक ब्यवसायी चन्द्र कुमार कटुवाल पनि चुनावी मैदानमा हुनुहुन्छ । किराना पसल गर्ने ब्यवसायीहरुको साझा उमेदवारको रुपमा आफु मैदानमा रहेको कटुवालले बताउनु भयो । आफ्नो कार्यकाल भर किराना ब्यवसाय सञ्चालन  गर्ने ब्यवसायीहरुका पक्षमा रहेर वकालत गर्ने पनि कटुवालले प्रतिवद्धता जनाउनुभयो । उहाँको चुनाव चिन्ह हात्ती रहेको छ ।
यतिवेला ब्यवसायीहरुको साझा संगठन बुद्धशान्ति उद्योग वाणीज्य संघको चुनावी सरगर्मी वढी रहेको छ । चारजना सदस्यहरुका लागि ५ जनाको उमेदवारी परेसँगै सघको अधिवेशन चुनावी मैदानमा धकेलिएको हो ।  चार जना अनुभवी तथा ब्यवसायी उमेदवारको विपक्षमा रहेर अर्का एक जना असन्तुष्ट पक्षधर मनोरथ तिवारीको उमेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

आ–आनफ्ना क्षेत्रसँग ब्यवसायीहरुका हक हितका लागि सकारात्मक कदम चाल्न कोही कसैसँग संझौता नगर्ने चारै जना ब्यवसाइहिरुले प्रतिवद्धता जनाएका छन् ।

आफुहरु निरन्तर ब्यवसायमा सकृय रहेको दावी गर्दै गैर ब्यवसायी र ब्यवसायी छुट्याएर मतदान गर्न समेत मदन कुमार भट्टराई, रामलाल कोइराला, श्रीलाल रसाइली र चन्द्र कुमार कटुवालले आम ब्यवसायीहरुमा अनुरोध गर्नु भएको छ ।

निर्वाचन समितिको २०८१ जेठ २४ गतेको निर्णय अनुसार बुद्धशान्ति उद्योग वाणिज्य संघका लागि अध्यक्ष दिपक सापकोटा, उद्योग उपाध्यक्ष दुर्गा प्रसाद कुईकेल, वाणिज्य उपाध्यक्षमा उमाराज ढकाल, महासचिवमा लक्ष्मी प्रसाद उप्रेती, उद्योग सचिवमा हेमन्त राज बराल, वाण्ज्यि सचिवमा ज्ञानु थापा, कोषाध्यक्ष ओम प्रकास वास्तोला, दुइजना महिला सदस्यहरुमा ललीता गौतम र टिका देवी चौलागाई निर्विरोध निर्वाचित हुनु भएको छ ।

जिउ र पेट दुखेको भन्दै बुधवार विराटनगरस्थित विराट नर्सिङ होममा भर्ना भएकी इटहरी–५ सिमरबनाकी दुर्गा रिमाल (घिमिरे) को शंकास्पद मृत्यु भएको छ।

डाक्टरकै सल्लाह अनुसार अस्पताल भर्ना भएकी उनको बिहीबार मृत्यु भएको हो। डाक्टरले उनलाई मृत घोषणा गरेपछि विराट नर्सिङ होमको अवस्था तनावग्रस्त बनेको थिए। उनलाई अत्यधिक औषधि प्रयोग गरेका कारण निधन भएको परिवारले जनाएको छ।

परिवारका एक सदस्यले दिएको जानकारी अनुसार दुर्गा खाजा खाएर अस्पतालको तला माथि हिँड्दै चढेकी थिईन। त्यसपछि एकै पटक लगातार पाँच वटा भन्दा बढी सिरिन्जबाट औषधि चलाएको थियो।

त्यसपछि मुटुमा समस्या आएको कारण बिरामी अचेत भएको बताएका डाक्टरले बिहीबार उनलाई मृत घोषणा गरेका हुन्। डाक्टरहरू भानु न्यौपाने र डाक्टर ललित राजवंशीको लापरबाहीको कारण बिरामीको मृत्यु भएको परिवारले जनाएको छ।

प्रहरीले झापा दमकबाट लागुऔषधसहित एकजना महिलालाई पक्राउ गररेको छ ।

आज दिउँसो २ः३० बजे दमक-४ बस्ने ४८ वर्षीया गायत्रा गौतमलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए ।

गौतमले लागुऔषध बिक्री वितरण गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

गौतमको शरीर तथा घरकोठाहरु खानतलासी लिँदा उनले बट्टाभित्र लुकाई राखेको प्रतिबन्धित लागुऔषध खैरो हिरोइन ९ ग्राम ५३० मिलिग्राम बरामद गरेको थियो ।

त्यस्तै, प्रहरीले गौतम सुत्ने बेडको सिरानीमुनि राखेको विभिन्न दरका नेपाली नोटहरु तीन लाख ३६ हजार ४०० रुपैयाँ र आइटेल कम्पनीको मोबाइल एकथान पनि बरामद गरेको छ ।

उनीमाथि इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

झापामा यस वर्ष बाढीको उच्च जोखिममा रहेकाले पूर्वसूचना प्रणालीलाई जोड दिँदै विभिन्न स्थानमा साइरन जडान गरिएको छ ।

मनसुनजन्य विपदको क्षति न्यूनीकरण गर्न झापाका विभिन्न स्थानमा साइरन जडान गर्ने कार्यलाई तीव्रता दिइएको हो ।

जल तथा मौसम विज्ञान विभागले करिब दुई साताअघि जिल्लाको निन्दा र बिरिङ खोलामा एकएकवटा साइरन जडान गरेको छ ।

यसअघि नेपाल रेडक्रस सोसाइटीको पहलमा कनकाई नदीको ९ ठाउँमा साइरन जडान गरिएको थियो ।

करिब ६ वर्षअघि कनकाईको विभिन्न ठाउँमा ९ वटा साइरन जडान गरिएको रेडक्रस झापाका सभापति लोकराज ढकालले बताए ।

त्यस्तै, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि झापामा साइरन जोड्ने भएको छ ।

अहिलेसम्म झापाको राजमार्ग क्षेत्रमा मात्र साइरन जडान गरिएकोमा जिल्लाको झापा गाउँपालिका, कचनकवल गाउँपालिका, बाह्रदशी गाउँपालिका र गौरीगञ्ज गाउँपालिकाको अति जोखिमयुक्त क्षेत्रमा एकएकवटा साइरन जडानको लागि माग गरिएको रेडक्रसका सभापति ढकालले बताए ।

नदी तथा खोलाहरुमा जल सतह सतर्कता तहभन्दा माथि पुगेपछि ती साइरनले आवाज दिँदै स्थानीयबासीहरुलाई सचेत गराउने गर्छन् ।

त्योसँगै कनकाईमा एसएमएस प्रणालीको पनि व्यवस्था गरिएको छ । कनकाईमा रहेको वर्षामापन यन्त्रले जलसतह ३.८ मिटर माथि पुगेपछि एसएमएस पठाउने गरेको सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालले बताए ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार जलसतह ५.२ मिटरलाई सतर्कता तह मानिन्छ भने ५.६ मिटरलाई खतराको तह मानिन्छ ।

निन्दा र बिरिङमा जडान गरिएका साइरनले पूर्णता पाइनसकेको बताउँदै सहायक प्रमुख जिल्ला अधिकारी नेपालले जिल्ला विपद व्यवस्थापन समितिसँग समन्वय गरेर पूर्वसूचना प्रवाह गरिने जानकारी दिए ।

जिल्लाका १५ पालिकामध्ये बाढीको उच्च जोखिममा ७ पालिका छन् । गौरीगञ्ज, कचनकवल, बाह्रदशी, कमल, झापा गाउँपालिका, शिवसताक्षी र भद्रपुर नगरपालिका बाढीको उच्च जोखिममा छन् ।

त्यस्तै, मेचीनगर, गौरादह, अर्जुनधारा, कनकाई, दमक नगरपालिका बाढीको मध्यम जोखिममा रहेका छन् भने हल्दिबारी, बुद्धशान्ति गाउँपालिका र बिर्तामोड नगरपालिका न्यून जोखिममा छन् ।

यो वर्ष अत्यधिक वर्षा हुने मौसम विभागको प्रक्षेपणअनुसार समितिले जिल्लामा करिब आठ हजार ९१९ घरधुरी बाढीका कारण प्रभावित हुने आँकलन गरेको छ ।

इलामको सूर्योदय नगरपालिका शिक्षा क्षेत्रमा काम गर्ने कोशी प्रदेशकै सर्वाेत्कृष्ट पालिका घोषित भएको छ । 

देशभरका सामुदायिक विद्यालयका प्रधानाध्यापकको संस्था प्रिन्सिपल्स एसोसिएसन अफ् नेपालले सूर्याेदयलाई कोशी प्रदेशको उत्कृष्ट पालिकाका रूपमा पुरस्कृत गर्न लागेको हो । 

एसोसिएसनले लामो समयसम्म शिक्षा क्षेत्रमा अतुलनीय योगदान गरेका उत्कृष्ट पालिका, विद्यालय र प्रधानाध्यापकलाई पुरस्कृत गर्न गठित मूल्यांकन समितिले कोशी प्रदेशमा सूर्याेदयलाई छानेको जनाएको छ । जेठ २६, २७ र २८ मा काठमाडौंमा हुने राष्ट्रिय सम्मेलनमा नगरपालिकालाई पुरस्कृत गर्न लागिएको एसोसिएसन अध्यक्ष सुदाम गौतमले जानकारी दिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्मेलन उद्घाटन गर्नेछन् । 

गौतमका अनुसार देशका सातै स्थानीय तहका एक–एक स्थानीय तह, एक–एक प्रधानाध्यापक र एक–एक विद्यालयलाई वर्षको उत्कृष्ट घोषित गरी पुरस्कृत गर्न लागिएको हो । पालिकालाई शिक्षामा गरेको लगानी, निःशुल्क र समावेशी शिक्षाको पहल, दीर्घकालीन योजना, प्राविधिक धार सञ्चालन, स्थानीय पाठ्यक्रम÷सूचना तथा प्रविधि र शिक्षामा सुशासन अभ्यास मापदण्डका आधारमा छनोट गरिएको सभापति गौतमले जानकारी दिए । 

कोशीमा इलामको सूर्याेदय, मधेसमा बाराको कौहलवी, वाग्मतीमा काठमाडौं महानगर, गण्डकीमा नवलपरासीपूर्वको मध्यविन्दू नगरपालिका, लुम्बिनीमा बर्दियाको ठाकुरबाबा नगरपालिका, कर्णालीमा रुकुमपश्चिमको चौरजहारी नगरपालिका र सुदूरपश्चिममा धनगढी उपमहानगरलाई यो वर्ष शिक्षा क्षेत्रमा काम गर्ने प्रदेशका उत्कृष्ट पालिका छानिएको उनले बताए । 

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा.चित्रबहादुर बुढाथोकी संयोजकत्वको चार सदस्यीय छनोट समितिले विभिन्न मापदण्डका आधारमा पुरस्कृत पालिका, विद्यालय र प्रधानाध्यापक छनोट गरेको उनको भनाइ छ । छनोट समितिमा रामप्रसाद सुवेदी, धनञ्जय शर्मा र प्रकृति अधिकारी सदस्य छन् । 

सूर्याेदयले शिक्षा क्षेत्रमा विभिन्न महत्वपूूर्ण कार्यक्रम सञ्चालन गरिरहेको छ । विद्यालयको भौतिक पूर्वाधार विकासदेखि शिक्षकको दक्षता अभिवृद्धि, प्रोत्साहन र विद्यालयमा विद्यार्थी आकर्षित गर्ने दर्जनौं योजना सूर्याेदयले कार्यान्वयन गरेको छ । 
मेयर रणबहादुर राईले नगरले शिक्षा क्षेत्रमा दीर्घकालीन उपलिब्ध हासिल गर्ने कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए । ‘यो नगर बालमैत्री नगर पनि भएकाले विद्यालय तहको शिक्षा क्षेत्रमा विशेष कार्यक्रम सञ्चालन गरिरहेका छौं,’ उनले भने, ‘बालबालिकाका लागिमात्र होइन, नगरका छोरी र बुहारीको उच्च शिक्षासमेतमा हामीले विशेष ध्यान दिएका छौं ।’

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ४ मा रहेको  श्री गणेश माध्यमिक  विद्यालयका विद्यार्थीहरूलाई  शैक्षिक साथै खेलकुद सामाग्री वितरण गरिएको छ ।बुद्धशान्ति ४ मा रहेको सृजनशिल युवा समाजले आज एक कार्यक्रमको आयोजना गरि श्री गणेश माद्यमिक विद्यालयमा अध्यनरत कक्षा नर्सरी देखि कक्षा ५ सम्मका ३० जना गरिव तथा जेहेन्दार बिद्यार्थिहरूलाई  ५५  हजार  बराबरको  शैक्षिक साथै  खेलकुद सामाग्री वितरण गरेको हो  ।सृजनशिल युवा समाजका अध्यक्ष निर्मल पराजुलिको अध्यक्षतामा भएको कार्यक्रममा  बुद्धशान्ति गाउँपालिका वडा नं ४ का अध्यक्ष  शेर वहादुर रायको प्रमुख आतिथ्यता रहेको थियो ।कार्यक्रममा प्रमुख  अतिथि वडा नं ४ का अध्यक्ष शेर बहादुर रायले विद्यार्थीहरूलाई  शैक्षिक साथै खेलकुद सामाग्री वितरण गर्दै यश सृजनशिल युवा समाजले  विगत केही वर्ष अगाडि देखिनै वडा नं ४ मा विभिन्न सामाजिक कार्य गर्दै  समाजमा  छुट्टै छाप छोड्न थालेको  बताउदै संस्थाको खुलेर प्रशंसा गर्दै संस्थाले वडा कार्यलयको समन्वयर सहकार्यमा काम गर्ने र सहयोग समेत गर्दै जाने बताउनु भयो ।त्यस्तै कार्यक्रममा आफ्ना भनाई राख्दै सृजनशिल युवा समाजका अध्यक्ष निर्मल पराजुलिले विद्यार्थीहरूलाई पढाइ सङसगै खेलकुदको क्षेत्रमा पनि  उतिकै रुचि राख्ने भएकाले  र अहिले देखिनै यि साना साना  नानिहरूलाइ पढाइ संङसगै खेलकुदको क्षेत्रमा  समेटेर लैजाने हो भने भोलि राष्ट्रिय स्तरमै चिनाउने खेलाडी बन्न पनि थप हौसला हुनेछ  भनेर शैक्षिक सामाग्री संगै खेलकुद सामाग्री समेत वितरण गरेको  बताउदै हाल अमेरिकामा रहेर संस्थालाई आर्थिक सहयोग गर्नुहुने सेतु तामाङ साथै विनय तामाङ लाई धन्यबाद दिदै  आगामि दिनमा  पनि समाजमा विभिन्न समाजिक काम गर्दै जाने बताउनु भयो ।संस्थाका अध्यक्ष  निर्मल पराजुलीले औचित्य माथि प्रकास पार्नु भएको कार्यक्रममा सन्जित कुमार थेबे, न्यु एभर ग्रिन सेकेन्डरी इङ्लिस  स्कुल बुद्बशान्ति ४ का शिक्षक लोक बहादुर कमाल बुद्धशान्ति वडा नं ४  कार्यपालिका सदस्य दुर्गा ढुङ्गेल लगायतले शुभकामना मन्तव्य व्यक्त राख्नु भएको थियो।संस्थाले लामो समय देखि संस्थामा रहेर अतुलनिय  सहयोग पुर्याउनु हुने  बुद्धशान्ति ४ का रामचन्द्र कोईरालालाई  दोसल्ला साथै सम्मान पत्र द्वारा सम्मान समेत गरिएको थियो ।कार्यक्रममा बुद्धशान्ति गाउँपालिका वडा नं ४ का वडा  सदस्य  सन्जित कुमार थेबे,न्यु एभर ग्रिन अङ्ग्रेजी स्कुलका  शिक्षक सन्जय लिम्बू रास्ट्रिय स्वत्रन्त्र पाटी बुद्धशान्ति ४ का अध्यक्ष रोसन कटुवाल,विद्यालयका शिक्षक अभिभावक विद्यार्थी,स्थानिय बासी संन्चारकर्मी  लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो  lविद्यालयका  प्रधानाध्यापक  डिल्लिराम खतिवडाले सानो संस्था भएपनि  विद्यालयमै आएर सृजनशिल युवा समाजले यसरी शैक्षिक  साथै  खेलकुद सामाग्री दिएर  विद्यालयलाई  विद्यार्थी भाइ बहिनिहरूलाई  पढाइ साथै खेलकुदको क्षेत्रमा थप हौसला थपिदिनु भएकोमा  सृजनशिल युवा समाजलाई  धन्यबाद  दिदै आफ्ना भनाई राख्नु भएको थियो । गणेश माध्यमिक  विद्यालयको सभाहलमा भएको कार्यक्रममा उपस्थित सम्पुर्ण अतिथिहरूलाई  सृजनसिल युवा समाजका  उपाध्यक्ष नारायण कुमार रेग्मीले स्वागत गर्नुभएको  थियो भने उक्त कार्यक्रमको सञ्चालन संस्थाका सदस्य  साजन तामाङले गर्नु भएको थियो  ,

झापा। जिल्लाका अधिकांश पालिकाहरू बाढीको उच्च जोखिममा रहेकाले विपद् व्यवस्थापनको तयारी तीव्रगतिमा भइरहेको जिल्ला विपद् व्यवस्थापन समिति झापाले जनाएको छ ।

समितिले आपत्कालीन आश्रयस्थल तोक्ने, राहत वितरणको मापदण्ड बनाउने, जोखिममा पर्नसक्ने घरधुरीको तथ्याङ्क सङ्कलन गर्ने, पालिकाहरूमा ‘फोकल पर्सन’ तोक्ने र विपद् व्यवस्थापनकार्यलाई प्रभावकारी बनाउने प्रयास भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालले बताउनुभयो ।

जिल्लाका १५ पालिकामध्ये बाढीको उच्च जोखिममा छवटा पालिका रहेका छन् । गौरीगञ्ज, कचनकवल, बाह्रदशी, कमल गाउँपालिका, शिवसताक्षी र भद्रपुर नगरपालिका बाढीको उच्च जोखिममा रहेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार मेचीनगर, गौरादह, अर्जुनधारा, कनकाई, दमक नगरपालिका बाढीको मध्यम जोखिममा रहेका छन् भने हल्दिबारी, बुद्धशान्ति गाउँपालिका र विर्तामोड नगरपालिका न्यून जोखिममा रहेका छन् ।

यस वर्ष अत्यधिक वर्षा हुने मौसम विभागको प्रक्षेपणअनुसार समितिले जिल्लामा करिब आठ हजार नौ सय १९ घरधुरी बाढीका कारण प्रभावित हुने आकलन गरेको छ ।

जिल्लामा बाढीबाट विस्थापित हुनसक्ने परिवारलाई राख्न सम्बन्धित स्थानका विद्यालय, सामुदायिक भवन, रेडक्रस, स्वास्थ्यचौकीलगायतका दुई सय ५० वटाभन्दा बढी स्थानलाई आकस्मिक आश्रयस्थल तोकिएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “समितिले विपद् प्रतिकार्य योजना नै बनाएर अघि बढेको छ । जनधनको क्षति हुन नदिन सबै प्रकारका उपाय अलवम्बनको तयारी छ ।”

प्रहरी, सेना, रेडक्रस र स्थानीय पालिका प्रमुखहरूसँग समन्वय गरेर विपद् व्यवस्थापनका लागि एकीकृत योजना बनाइएको उहाँले जानकारी दिनुभयो ।

जिल्ला विपद् व्यवस्थापन समिति झापाले मनसुनजन्य विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना नै तयार गरेर सरकारी तथा गैरसरकारी सङ्घसंस्थासँग आवश्यक सामग्रीको तयारी गर्न आग्रह गरेको छ ।

जिल्लामा धेरै प्रकारका विपद् भएता पनि प्राथमिकीकरणका आधारमा पहिलो नम्बरमा बाढी प्रकोप भएकाले यसबाट जनधनको क्षतिलाई न्यूनीकरणका लागि स्थानीय सरकार, नेपाल रेडक्रस सोसाइटी, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तयार रहेको उहाँले बताउनुभयो ।

उहाँले जिल्लाका मेची, निन्दा, रतुवा, मावा, कनकाई, विरिङलगायत दर्जनौँ नदीबाट हुनसक्ने बाढी र डुबान प्रभावितलाई उद्धारका लागि लाइफ ज्याकेट, रबर बोट, रेस्क्यू हेल्मेट, प्लास्टिकजन्य ट्युब र एम्बुलेन्स तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई आग्रह गरिएको बताउनुभयो ।

बाढीका कारण जिल्लामा प्रत्येक वर्ष ठूलो धनजनको क्षति व्यहोर्नु परिरहेको छ । नेपाल रेडक्रस सोसाइटी झापा शाखाको तथ्याङ्कअनुसार सात वर्षमा बाढीकै कारण ६० जनाको मृत्यु भएको छ । विसं २०७३ देखि २०७९ सम्ममा ६० जनाको मृत्यु र छजना बेपत्ता भएको तथ्याङ्कमा उल्लेख छ ।