झापा। कोच राजवंशी समुदाय तथा पूर्वी तराईमा बसोबास गर्ने समग्र आदिवासी समुदायले पुस २९ गतेलाई राष्ट्रिय भक्का दिवसका रूपमा मनाउने गरेका छन् ।
पछिल्लो समय कोच राजवंशी समुदायसँगै अन्य जातजातिले पनि रुचाएपछि भक्का खाने चलन व्यापक बनेको छ । राजवंशी जातिमा मात्र सीमित रहेको भक्का खाने चलन सबै जातजातिबिच लोकप्रिय बनेपछि यसलाई प्रवर्द्धनात्मक कार्यक्रमसहित पुस २९ गते भक्का दिवस मनाउन मनाइन्छ ।
राजवंशी समुदायको परम्परागत परिकार भक्का, पूर्वी नेपालको सर्वाधिक रुचाइने एउटा परिकार हो जुन विशेषतः हिउँदमा बढी खाने गरिन्छ ।
चामलको पिठोलाई पानीको बाफमा पकाएर तयार गरिने भक्कालाई चटनीसँग खाने गरिन्छ । जे भने पनि यसको मौलिक विशेषता र स्वास्थ्यकर फाइदा दुवैलाई प्रवर्द्धन गरिन जरुरी भएको ठम्याइका साथ हरेक वर्ष पुस २९ मा राष्ट्रिय भक्का दिवस मनाइन्छ ।
माघे सङ्क्रान्तिलाई लक्षित गरी पछिल्लो एक सातामा मात्रै काठमाडौंको कालीमाटीमा ७ सय ९० टन तरुल भित्रिएको छ । माघे सङ्क्रान्तिमा तरुल खाने चलन छ ।
कालीमाटी तरकारी तथा फलफूल व्यापार विकास समितिका अनुसार पछिल्लो एक महिनामै १२ सय ११ टन तरुल काठमाडौंमा आयात भएको हो । जबकि यो वर्षको हालसम्म १४ सय ८९ टन भित्रिएको तथ्यांक छ ।
गत वर्ष १६ सय ९३ टन आयात भएको थियो । पछिल्ला केही दिनयता कालीमाटीमा अन्य तरकारीको तुलनामा तरुलको व्यापार बढेको छ ।
पछिल्ला केही दिनयता दैनिक १० क्विन्टलसम्म तरुल बिक्री हुने गरेको छ । साताअघि भने दैनिक २ क्विन्टलसम्म बिक्री हुने गरेको थियो । साताअघिसम्म प्रतिकिलो ५० रुपैयाँमा बिक्री हुँदै आएको तरुल अहिले होलसेलमै प्रतिकिलो ६० रुपैयाँभन्दा माथि पुगेको छ ।
तरुलको खुद्रा मूल्य पनि सोही दरमा महँगिएको छ । जातअनुसार मूल्य फरक-फरक छ । नेपाली बजारमा घर तरुल, वन तरुल, पातले, मुढेलगायतका जातका तरुल पाइन्छन् । काठमाडौंमा सबैभन्दा धेरै तरुल सर्लाहीबाट ल्याइन्छ ।
त्यस्तै सुनसरी, धादिङ, मकवानपुर, चितवनलगायतका जिल्लाबाट पनि काठमाडौंमा तरुल ल्याइन्छ ।
झापाको कमल ४ स्थित चुलाचुलीमा आज साँझ ४ः३० बजे दुईवटा मोटर साइकल र एउटा स्कुटर एक आपसमा ठक्कर खाँदा १ जनाको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्व तर्फ आउने क्रममा राजमार्ग पारगर्दै गरेको मे ६ प ३१५२ नम्बरको मोटरसाइकल, सोहि दिशाबाट आउँदै गरेको प्रदेश ०१ –०१६ प ८९९२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट गएको प्रदेश ०१–०१६ प ७१४० नम्बरको स्कुटर एक आपसमा ठोक्किएका थिए ।
प्रदेश ०१ –०१६ प ८९९२ नम्बरको मोटरसाइकलमा पछाडी सवार कन्काई ३ का ७० वर्षीय रघुनाथ भट्टराईको दुर्घटनामा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । उनलाई उपचारकालागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, मे ६ प ३१५२ नम्बरको मोटरसाइकलमा सवार कमल २ बस्ने अन्दाजी ५५ वर्षका वेदप्रसाद बजगांई सामान्य घाइते भएको जनाइएको छ । दुर्घटना भएका सवारी केर्खा प्रहरी चौकिको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
माओवादी केन्द्रले अगामी फागुन १ गतेदेखि ३ गतेसम्म विधान अधिवेशन गर्ने निर्णय गरेको छ।
शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेमा माओवादी केन्द्रको स्थायी समिति बैठकले विधान अधिवेशन गर्ने मिति तय गरेको हो।
स्थायी कमिटी सदस्य पम्फा भुसालको नेतृत्वको ७ सदस्यीय टोलीले विधानको मस्यौदा बुझाएको थियो। सो मस्यौदा तल्लो तहका कमिटीहरूमा छलफलका लागि २१ दिन समय दिने निर्णय भएको छ।
यस्तै पार्टीको सात वटै प्रदेशबाट पार्टीको अवस्थाबारे रिपोर्टिङ गरेका छन्। पार्टी एकता समायोजनका लागि समिति गठन गर्ने भने पनि त्यसको निर्णय भने भएको छैन।
झापाको बुद्वशान्तिकी एक महिला पाँचथरमा मृत भेटिएकी छन् । अ भिषेक बिककी श्रीमती इन्दिरा नेपाली पाँचथरको फिदिम नगरपालिका-४ स्थित गढीमा मृत अवस्थामा भेटिएकी हुन् ।
आहालगैरीदेखि क्याम्पसमोड जाने बाटोमा नवनिर्मित रिञ्जी शेर्पाको घर अगाडि बाटोको भित्तामा शव भेटिएको प्रहरीले जनाएको छ ।
सडक छेउको डिलदेखि झर्दा नेपालीको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । शव पोष्टमार्टमका लागि पाँचथर अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। घटनाका विषयमा अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।
स्वास्थ्य बिमामा आबद्ध भएकाहरुले आगामी माघ १ गतेदेखि २५ शय्यामाथिका स्वास्थ्य संस्थाबाट उपचार सेवा लिँदा १० प्रतिशत रकम भुक्तानी गर्नुपर्ने भएको छ ।
कुनै पनि स्वास्थ्य संस्थाबाट आकस्मिक सेवा लिनुपरेमा भने यो नियम लागु नहुने स्वास्थ्य बिमा बोर्डले जनाएको हो ।
पछिल्लो समय बिमितले जथाभावी उपचार गराउने गरेकाले सहभुक्तानीको व्यवस्था लागु गर्नुपरेको दाबी बोर्डको छ । स्वास्थ्य बिमामा हाल पाँच जनासम्मको परिवारले ३५ सय तिरेमा एक लाखसम्मको उपचार सेवा पाउने गरेकामा बोर्डले भुक्तानीको रकममा पुनरवलोकन गरी सुविधाको दायरा बढाउन लागेको हो ।
बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलाका अनुसार स्वास्थ्य संस्थाहरुलाई असारसम्मको भुक्तानी भइसकेको छ । हाल नेपालमा करिब ७५ लाख मानिस स्वास्थ्य बिमामा आबद्ध छन् ।
बुद्धशान्ति गाउँपालिका वडा नं ४ स्थित श्री माध्यमिक विद्यालय बर्नेमा हिजो वाट सुरू भएक वार्षिक उत्सव आज विभिन्न कार्यक्रम गर्दै सम्पन्न हुने भएको छ ।
विद्यालय व्यवस्थापन समिति कार्यवाहक अध्यक्ष दुर्गा पोख्रेल ढुङ्गेलको सभापतित्वमा हिजो उत्घाटन गरिएको ५६ औं वार्षिक उत्सव समारोह कार्यक्रममा बुद्धशान्ति गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्राविधिक सहायक झल्का अधिकारी भट्टराईको प्रमुख आतिथ्यतामा उत्घाटन गरिएको कार्यक्रममा पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालय संस्थापक, विद्यालय सल्लाहकार समिति पदाधिकारी, अक्षयकोषदाता, अभिभावक, समाजसेवी, बुद्धिजीवी लगायत सञ्चारकर्मीको आतिथ्यता रहेको थियो ।
कक्षा १० मा अध्ययनरत विद्यार्थी सुनैना मगरले उपस्थित सम्पुर्ण अतिथिहरूलाई स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन शिक्षक राज अर्याल र डम्बर शिवाकोटीले गर्नुभएको थियो ।
त्यस्तै कार्यक्रममा ५० वर्ष भन्दा माथिका पदाधिकारीहरूको सहभागितामा ट्रयाक उद्घाटन, विद्यार्थीहरूबीच विभिन्न विधामा प्रतियोगिता, बाल विकासदेखि कक्षा १० सम्मका विद्यार्थीहरूको दौड, भलिबल, अन्तरआमा समूहको हाजिरिजवाफ प्रतियोगिता, अन्तरटोल पुरुष लठ्ठातान प्रतियोगिता, विविध अक्षयकोषका छात्रवृत्ति वितरण जस्ता कार्यक्रम गरी उद्घाटन समारोह सम्पन्न गरिएको थियो ।
झापाको बुद्धशान्ति –४ बर्नेमा जारि च्यालेन्जकप नकआउट फुटबल प्रतियोगिताको हिजो भएको खेलमा धाईजन चारअालि लाई ०-१ गोल अन्तरले हराउदै चन्द्रगडि विजयी भएको छ ।
स्थानीय युनिटी युथ क्लब बर्नेको आयोजनामा हिजो भएको खेलमा ब्रदर्स युनाइटेड चन्द्रगडी र धाइजन चारआली फुटबल क्लब भिडेका थिए । जसमा ब्रदर्स युनाइटेड चन्द्रगडीका जर्सी नं १५ का खेलाडी प्रविन राईले १ गोल गर्दै १-० को अन्तरमा आफ्नो टिमलाई अग्रता दिलाएका थिए ।
पौष २१ गतेदेखि २८ गते सम्म बर्ने चिया कमानको खेल मैदानमा हुने खेल आयोजक समितिका संयोजक एवम् क्लबका अध्यक्ष डिल्ली मावोका अनुसार क्लब स्तरीय खुल्ला प्रतियोगिता हुने बताईएको छ ।
जसमा बिजेताले ५५ हजार ५ सय ५५ संगै मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछन् भने उपविजेताले २५ हजार ५ सय ५५ रुपैयाँ संगै मेडल, ट्रफी र प्रमाणपत्र पाउने खेल व्यवस्थापन समितिका मोहन कुमार मावोले बताउनु भयो ।
यसका साथै खेल अवधिभर खेलाडीलाई विधागत रुपमा समेत पु्स्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतेक खेलका गोल कर्तालाई १ गोल बराबर बुधबारे बर्खा स्मृति प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईं ले २ वटा रेडबुल प्रदान गरिने बताईएको छ ।
स्थानीय स्तरमा खेलाडी उत्पादन गर्नुका साथै खेल मैदानलाई स्तारोन्नती साथै खेलमा अनुशासनको महत्व सिकाउदै आन्तरिक पर्यटन प्रवर्धन गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको बताइएको छ ।
प्रतियोगिताको फाईनल खेल २८ गते हुने छ भने खेल सुरू हुनु अघि पत्रकार र कर्मचारी बिच सो म्याच समेत रहने बताईएको छ ।
साथै आज हुने खेलमा आदर्श युवा क्लब बुधबारे र फिक्कल इलाम बिच हुने बताईएको छ खेल २ बजे बाट सुरू हुने छ ।
झापाको बिर्तामोड विद्युतीय सवारी साधनप्रति यातायात व्यवसायीको विश्वास बढ्दै गएपछि झापाको बिर्तामोडमा पनि साइन रे मोटर्स (एसआरएम) र स्काइ वेल ब्राण्डका गाडी बिक्री सुरु गरिएको छ ।मेची अञ्चलका लागि आधिकारिक बिक्रेता विराट अटो ट्रेडिङ प्रालिले शनिबार एक कार्यक्रम गरी दुई मोडलका चीनमा उत्पादित विद्युतीय गाडी बिक्री सुरु गरेको जनाएको हो । ११ देखि २३ वटा सिट क्षमता भएको उक्त विद्युतीय गाडीको पुराना यातायात व्यवसायी कुलप्रसाद ओडारी र पूजा कन्ट्रक्सन नेपाल प्रालिका सिइओ विवेक विजुक्छेले रिबन काटेर उद्घाटन गरे ।
पूजा कन्ट्रक्सन विद्युतीय सवारी साधनको नेपालको आधिकारिक विक्रेता विशाल ग्रुपमातहत रहेको छ । आधिकारिक बिक्रेता विराट अटोका सञ्चालक देवराज प्रसाईले आजको आवश्यकतालाई मध्यनजर गर्दै व्यवसायीको माग र उपभोक्ताको हक हितलाई ध्यानमा राखी एसआरएम र स्काइ वेल ब्राण्डका विद्युतीय गाडी भित्र्याइएको बताए ।
समयको मागले इन्धनबाट चल्ने सवारीसाधनलाई विस्थापित गर्ने दाबी गरेका उनले विदेशी सवारी आयातलाई रोक्न, मुलुकको अर्थतन्त्र सुदृढ बनाउन, वातावरणमैत्री सवारीको प्रयोग र विदेशी मुद्रा बाहिर पठाउन विद्युतीय गाडीको प्रयोगले मद्दत गर्ने उल्लेख गरे ।
सार्वजनिक यातायात प्रबुद्ध समूह नेपालका संरक्षक होमप्रसाद अधिकारीले वातावरण र मानव स्वास्थ्यमैत्री विद्युतीय गाडी अहिलेसम्मकै राम्रो भएको दाबी गरे ।
उनले ब्रेक सिस्टम र बढी माइलेज दिने गाडी पूर्वबाट सुरुवात गरेको उनले सुनाए । कार्यक्रममा पूजा कन्ट्रक्सनका विवेक विजुक्छेले वातावरणमैत्री, सुरक्षित र आरामदायी यात्राका लागि यो गाडी होटल, स्कुल, हस्पिटल, कर्पोरेट अफिस र ट्राभल एजेन्सीका लागि अति उपयुक्त भएको दाबी गरे ।
यसैगरी, बिर्तामोड ५ का वडाध्यक्ष रोहित प्रसाईले विद्युतीय गाडी वातावरणमैत्री भएकाले इन्धन, इन्जिन मर्मतलगायतमा व्यवसायीले सुविधा लिनसक्ने बताए ।
एकपटक ब्याट्री चार्ज गरेपछि ३ सय किलोमिटर गुड्ने, ४५ मिनेटमै ८० प्रतिशत चार्ज हुने, प्रतिघण्टा १ सय किलोमिटर स्पीड भएको यस विद्युतीय गाडीको ग्राउण्ड क्लियरेन्स १८० एमएम भएको कम्पनीले जनाएको छ । अहिले बिर्तामोडमा एसआरएम ब्राण्डको ११ सिटको ४५ लाख ५० हजार र स्काइ वेल ब्राण्डको ५८ लाख ८० हजारमा बिक्री भइरहेको आधिकारिक बिक्रेता विराट अटो ट्रेडिङ प्रालिका सञ्चालक प्रसाईले जानकारी दिए ।
प्रतिकिलोमिटर २ रुपैयाँमात्र खर्च लाग्ने दाबी गरिएको यस गाडीको खरिदमा ५ वर्षको ग्यारेन्टी रहेको छ भने नबिल बैंकमार्फत फाइनान्सको व्यवस्था गरिएको बताइएको छ ।
सोही कार्यक्रममा स्वदेशी उद्योग बढाऔँ, विदेशी मुद्रा बचाऔँ भन्ने नाराका साथ वर्तमान अवस्थामा विद्युतीय गाडीको प्रवेश र चुनौती, राष्ट्रिय हितमा विद्युतीय गाडी या इन्धन गाडी विषयक अन्तरक्रिया पनि गरिएको थियो ।