December 31, 2025

बुद्धशान्ति गाउँपालिकाको एक मात्र उच्च शिक्षा अध्यापन हुने शैक्षिक संस्था सीतारमेश बहुमुखी क्याम्पसलाई अत्यावश्यक रहेको क्याम्पस बस आज हस्तान्तरण गरिएको छ।

गाउँपालिकाको तीन वर्षदेखि भएको निरन्तर प्रयासपछि नेपाल–भारत सहयोग कार्यक्रम अन्तर्गत नेपालका लागि भारतीय दूतावासमार्फत उक्त बस प्राप्त भएको हो।

बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईं, सीतारमेश बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष जयप्रसाद भण्डारी ,उपाध्यक्ष चन्द्र उप्रेती, क्याम्पस प्रमुख पुष्प रिजाल तथा सहायक क्याम्पस प्रमुख नरेन बरालको उपस्थितिमा बस हस्तान्तरण कार्यक्रम भएको थियो ।हिजो चुनावका बेलाको प्रतिबद्धता आज कार्यान्वयन भएको बुद्धशान्ति गाउँपालिका अध्यक्ष प्रसाईंले बताएका छन् । यता क्याम्पस प्रमुख रिजालले क्याम्पसमा बस ल्याउनका लागि गरेको पहललाई सफल बनाउन सहयोग गर्ने सम्पूर्णमा धन्यवाद दिएका छन् ।बस आएसंगै बुद्धशान्ति सहित छिमेकी जिल्ला इलामको रोङ गाउँपालिकाबाट धाएर अध्ययन् गर्न आउने विद्यार्थीलाई सहज हुने भएको छ ।

आश्विन शुक्ल प्रतिपदाका दिनलाई घटस्थापना भनिन्छ । यसै दिनदेखि नवरात्रि आरम्भ हुन्छ । यसै दिन दुई महत्त्वपूर्ण कृत्य सम्पन्न गरिन्छ ।एक कृत्य यस दिन जमरा राखिन्छ, अर्को यस दिन घट कलशको स्थापना गरी देवी(देवताको आवाहन गरिन्छ । यस दिन झिसमिसे बिहानीमै आत्मशुद्धि पश्चात् नदी, खोला, वगर या आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा या पञ्चमाटो ल्याई दसैँ घर या पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न जौ छरिन्छ । जौलाई वैदिक यज्ञको लागि अत्यावश्यक वस्तु मानिन्छ ।

माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकोले भगवतीलाई खुसी पार्नको लागि जमरा उमार्ने गरिएको हो । त्यसै स्थान नजीकै माटोको विशुद्ध जलपूर्ण घडा ९कलश०को वरिपरि नौवटा देवीको स्वरूपको प्रतिमूर्ति मानी गाईको गोबरले नौवटा देवीको वेदी बनाई लेपन गरिन्छ र घडाको वरिपरि जौ पनि गाडिन्छ ।

अनि जलपूर्ण कलशमा पञ्चपल्लवको पात चढाइ अनन्त शक्तिस्वरूपा महाकाली (संहार, महालक्ष्मी) सुरक्षा र महासरस्वती ९सृष्टि०को पञ्चोपचारले पूजाआजा गरिन्छ ।

ब्रह्मवैवर्त पुराण भन्ने ग्रन्थका अनुसार वर्णन गरिएका नवदुर्गाहरू यी हुन् स् प्रकति(पूर्व, चण्डिका(आग्नेय, भद्रकाली(दक्षिण, सर्वमङ्गला-वायव्य, वैष्णवी- उत्तर, शिवप्रिया-ईशान, जगदम्बिका) जल, थल र आकाश । यी नामहरूले दुर्गाहरू विभिन्न दिशाका अधिष्ठात्री देवीहरू भएको कुराको चाल पाइन्छ ।

हाम्रो धर्म, संस्कृति अनुसार घट कलशमै सम्पूर्ण देवीदेवता सप्तसागर, सप्तद्वीप, सम्पूर्ण नदी एवं तीर्थहरू निहित छन्, जुन कुरा कालिका पुराण भन्ने ग्रन्थमा उल्लेख भएको छ । यसका अतिरिक्त घटकलश अष्टमङ्गलका शुभ चिन्हहरूद्वारा समाहित गरिएको पाइन्छ ।

आधारहरूको कारण उपर्युक्त दिन घट कलश स्थापना गरी त्यसमै सम्पूर्ण देवीदेवता, तीर्थ, पावनतम नदी नाला, सप्त सागर, सप्त द्वीप आदि सबैलाई समाहित गरी दसैँ पूजाको थालनी गरिएको हो ।

यसैले दसैँको अवसरमा आ(आफ्नै आगमस्थित देवी भगवती जगदम्बाको पूजा गरिनुबाहेक अन्य देवीस्थलहरूमा गई देवीदेवताहरूको पूजा(उपासना, पुकार तथा दर्शनको लागि जानु आवश्यक नपर्ने वास्तविकतातिर औंल्याएको पाइन्छ ।यसै दिनदेखि नवमीसम्म प्रत्येक नेपालीहरूका घरघरमा र देवीका मन्दिरहरूमा पहिलो दिनकै बमोजिम भगवती दुर्गाको पूजा, आराधना र प्रार्थना गरिन्छ र शङ्ख, डमरू, घण्टी आदि बजाइ दुर्गासप्तशती (चण्डी), स्त्रोत्ररत्नावली, कालिकास्तोत्र, दुर्गाकवच, श्रीमद्देवीभागवत् आदि पाठ पनि पढिन्छ ।

पूजा गरिसकिएपछि प्रत्येक दिन बलि चाहिँ अनिवार्य दिनुपर्ने कुरा शास्त्रीय विधानमा उल्लेख गरिएको छ । बलि दिइसकेपछि यस दिनको कार्य समापन गरिन्छ।विकी मिडिया

आज कालीगढहरूले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदै छन्। प्रत्येक वर्ष झै कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजा गर्न लागिएको हो।

विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ। कलकारखानालाई विशेष रुपमा सजाएर मजदुरलाई सहभागी गराएर यो दिवस मनाइन्छ।

बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति बागमती मुहानस्थल सुन्दरीजल वा अन्य शुद्धस्थलमा लगी सेलाउने गरिन्छ। आज पूजा गरी बिहीबारदेखि नदीमा लगी मूर्ति सेलाइन्छ।

आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ।

द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरूले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ।

एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा मानी त्यसै समयदेखि पूजा आजा गर्ने परम्परा बसेको धर्मशास्त्रविद् प्रा तोयराज नेपाल बताउँछन्।

प्राचीन भारत वर्षका चार दिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रूपमा मानिन्छ। विश्वकर्माले निर्माण गरेको ‘भेद  द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ।

विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रूपमा मानिन्छ। ‘विश्वकर्मा प्रकाश’ नामक वास्तु शास्त्रको ग्रन्थ उनले नै रचना गरेको विश्वास गरिने वास्तुशास्त्री शिव पोखरेल बताउँछन्।

यही सम्झनामा नेपालका कालीगढहरूले आज भव्य रूपमा विश्वकर्मा बाबाको पूजा गरी उनको विद्वताको सम्मान गर्छन्। यसो गरेमा आफूमा विश्वकर्माको गुण प्राप्त हुने विश्वास गरिन्छ। यस विश्वासमा आज इञ्जिन जडान भएका यन्त्र सवारीसाधनमा समेत पूजा आराधना गरिन्छ।

वास्तुका शास्त्रका पुस्तकका लेखक एवं अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्हरूले वास्तु दिवसका रूपमा मनाउने गर्छन्। पछिल्लो समय नेपालमा वास्तु विद्याको पुनर्जागरण सुरु भएको छ।

चार उपवेदमध्येको एक स्थापत्यवेदमा वास्तु शास्त्रकै विषय उल्लेख गरिएको छ। लुप्तप्राय : भएको स्थापत्य वेदमा आधारित सहर एवं आवास निर्माण गर्नेको सङ्ख्या बढ्न थालेको छ। यसैले गर्दा अहिले वास्तु विद्याको महत्व बढेको छ।

मीनबहादुर गुरुङज्यू,

म अविधान सापकोटा। न्यायालयमा काम गर्ने एक साधारण सेवक। तर, आज यो पत्र कुनै पद वा जिम्मेवारीको हैसियतले होइन, एउटा नागरिक, बाबु, छिमेकी र आत्मीय ग्राहकको नाताले लेख्दै छु।

गुरुङज्यू, म कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट छेउमै बस्छु। हाम्रो परिवार (म, मेरी जीवनसंगिनी र मेरी आठ वर्षीया छोरी)लाई हरेक दिनजसो भाटभटेनी पस्ने बानी परेको छ। हामीसँग ‘मेम्बरसिप’ पनि छ। छोरीले बाहिरी संसार बुझ्न थालेदेखि नै भाटभटेनी उसको एउटा रंगीन र रमाइलो संसार मात्र होइन, एउटा अभिन्‍न साथी थियो।

तर दुर्भाग्यवश, त्यो रात जब अराजक भीडले आगोको लप्कामा हाम्रो आफ्नै परिवारजस्तै प्रिय भाटभटेनीलाई जलाइदियो, हामी स्तब्ध भयौँ। खबर सुन्नासाथ म, श्रीमती र छोरी दौडिँदै बाहिर निस्क्यौँ। केही गर्न सकिएला कि भन्‍ने आशाले। तर न प्रहरीलाई सम्पर्क गर्न सकियो, न आगो नियन्त्रणमा ल्याउन।

अन्ततः हामी बस्ने गरेको घरको छतबाट ५० मिटर टाढा दनदनी बलिरहेको आगो नियाल्न मात्र विवश भयौँ। छोरी निःशब्द भई टोलाइन्, आँखा रसाए। हामी कृष्ण भगवानलाई पूजा गर्ने हुँदा छोरीले हे! कृष्ण भगवान् पानी पारिदिनु होस् भनेर प्रार्थना पनि गरिन्, त्यो पीडादायी क्षणमा लाग्यो। यदि सम्भव हुन्थ्यो भने म आफैँ आगो लगाउनेलाई रोक्न, आवश्यक परे सजाय दिन पनि तयार हुन्थेँ।

भोलिपल्ट बिहान पनि धूवाँ र आगो बाँकी थियो। छोरीले हात तानेर ‘बाबा, हेर्न जाऔँ’ भनिन्। हामी फेरि त्यहाँ पुग्यौँ। तर त्यो दृश्य देख्दा मेरी छोरी धुरुधुरु रोइन्। उसलाई आइसक्रिमको माया लागेको होला, मिठाइको मोह लागेको होला। वा, केवल त्यो रमाइलो रौनक हराएको पीडा थियो। तर उसको आँशु देख्दा मलाई लाग्यो– त्यो उसका लागि पसल मात्र थिएन, त्यो उसको सानो संसार थियो। जसलाई उनले आफ्नै घर मानेकी थिइन्।

गुरुङज्यू ! तपाईँले नेपालमा भाटभटेनी सुरु गर्दा केवल एउटा सानो पसलबाट सुरू गर्नुभएको सुनेको थिएँ। तपाईँले एउटा परम्परा निर्माण गर्नुभएको थियो। रिटेल बजारको रूपान्तरणमार्फत हजारौं नेपालीलाई रोजगारी दिनुभयो। ग्राहकलाई मात्र होइन, यो देशलाई नै एक फरक उचाइमा पुर्‍याउनुभयो। हामीजस्ता साधारण ग्राहकका लागि भाटभटेनी केवल किनमेलको स्थान थिएन। त्यो त एउटा रमाइलो पार्कजस्तै थियो, एउटा परिवारिक भेटघाट स्थल, एउटा अपनत्वको संसार।

तर दुःखद सत्य के हो भने हाम्रो समाजमा इष्र्या, द्वेष र शत्रुताले अराजक रूप लिन थालेको छ। अरूको सफलता सहन नसक्ने जमात हरेक क्षेत्रमा बढ्दै गएको छ। तपाईँले नेपाललाई जुन साहसिक योगदान दिनुभयो, त्यो उद्यमशीलता सहन नसक्नेहरूको आँखाको काँडा बनेको छ। तपाईँले विभिन्न क्षेत्रमा गरेको दानलाई पनि गलत बुझियो।

तर सत्य के हो भने – दान पुण्य हो, उद्यमशीलता गौरव हो, प्रगति साझा सम्पत्ति हो। तर पनि, केही व्यक्तिहरूले त्यो गौरवलाई जलाउन खोजे। यसमा केवल अन्धकार छ, द्वेष छ, दानवत्व छ।गुरुङज्यू ! तपाईँ शून्यबाट शिखरमा पुगेको एउटा प्रेरणादायी नाम हुनुहुन्छ। तपाईँले जीवनभरको संघर्ष र इमानदारीको आधारमा भाटभटेनीलाई स्थापित गर्नुभयो। तपाईँले केवल व्यापार गर्नुभएन, तपाईँले हजारौं युवालाई रोजगार दिनुभयो, असंख्य परिवारलाई बाँच्ने आधार दिनुभयो।

मलाई अझै सम्झना छ– सर्वोच्च अदालतको निरीक्षणका क्रममा हामी कैलाली पुगेका थियौँ। फर्किँदा हामीले एक स्वरमा ‘भाटभटेनी जाऔँ’ भनेका थियौँ। कस्तो सबैको विश्वास, सबैको एकै स्वर! त्यो क्षणले मलाई प्रस्ट पारेको छ— भाटभटेनी केवल पसल होइन, यो त सर्वसाधारण नेपालीको विश्वास र आत्मीयताको प्रतीक हो।

हो, यो आगलागीले तपाईँलाई खर्बौँको क्षति पुर्‍याएको छ। यो घाउ केवल तपाईँको निजी होइन, हामी सबै नेपालीको साझा घाउ हो। तर तपाईँको जीवनयात्रा नै उदाहरण हो, तपाईँ बारम्बार उठ्ने क्षमता राख्नुहुन्छ। आज फेरि पनि तपाईँ उठ्नुपर्छ। जसरी तपाईँले छोटो समयमा भाटभटेनीलाई आकाशमा पुर्‍याउनुभयो, त्यस्तै प्रतिबद्धताले देशलाई पनि उज्यालो भविष्यतर्फ डोर्‍याउनुपर्नेछ। देश विकासको लागि भाटभटेनी पनि एउटा प्रेरणा अवश्य बनेको छ। अब तपाईँले सुरक्षा संयन्त्र अझ मजबुत बनाउनुपर्छ, कतै चुकेको पो छ कि! ता कि यस्ता त्रासदी पुनः कहिल्यै नदोहोरियोस्!

गुरुङज्यू! तपाईँ केवल व्यापारी होइन, यो राष्ट्रको लागि एउटा प्रेरणा, आधार र गौरव हो। भाटभटेनी केवल तपाईँको सम्पत्ति होइन, यो हाम्रो साझा भावनात्मक सम्पत्ति हो। हामी सबै तपाईँसँगै छौँ। तपाईँलाई सहानुभूति मात्र होइन, आत्मीय साथ र अटुट विश्वास पनि दिन्छौँ।
आज यो पत्र लेख्दा मेरा आँखा रसाइरहेका छन्। मेरी छोरीले भनेजस्तै ‘अब राधे राधे भाटभटेनी जाऔँ’ यो कुरा अब लाखौँ नेपालीको मुखमा छ। किनकि भाटभटेनी हाम्रो जीवनको अभिन्‍न अंगजस्तो भइसकेको छ।

हामी सबैको विश्वास छ–तपाईँ फेरि पनि उठ्नुहुनेछ, भाटभटेनी फेरि पनि उज्यालो बन्‍नेछ र तपाईँको नाम सदैव सम्मान र प्रेरणाको शिखरमा रहनेछ।

सरकारले आन्दोलनकारी शहीदलाई १५ लाख दिए पनि सोही आन्दोलनमा प्रदर्शनकारीहरुबाट मारिका प्रहरीको परिवारलाई राहत दिनेबारे कुनै निर्णय गरेन। जेन जी आन्दोलनका कारण बनेको सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्ले आन्दोलनमा मारिएका आन्दोलनकारीहरुलाई शहीद घोषणा गर्दै मृतकका परिवारलाई १५ लाख रुपैयाँ राज्यकोषबाट दिने निर्णय गर्‍याे।

आन्दोलनमा मारिने सुरक्षाकर्मीहरु पनि थिए तर उनीहरुबारे कार्की सरकारले कुनै निर्णय नगरेपछि नेपाल प्रहरीले भने आफूभित्रैबाट रकम संकलन गरेर भए पनि मृतक प्रहरीका परिवारलाई राहत दिने घोषणा गरेको छ। र, यसबारे सरकारले जस्तै विज्ञप्ति नै निकाले प्रहरीले अमर प्रहरीका परिवारलाई १० लाख दिने घोषणा गरेको हो।

आन्दोलनका क्रममा प्रहरीकै गोलीबाट जेन जीका आन्दोलनकारीहरु मारिएको त सरकारले देख्यो। तर, सरकारकै आदेश मानेर भीड नियन्त्रणमा खटिँदा आन्दोलनकारी एवं घुसपैठियाहरुबाट मारिएका प्रहरीहरुबारे सरकार देखेन।अर्थात् सहानुभूति आन्दोलनकारीतर्फ मात्र सरकारको देखिएपछि प्रहरीले छुट्टै निर्णय गरेको छ। नयाँ गृहमन्त्रीमा ओमप्रकाश अर्यालले पदभार ग्रहण गरेपछि बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय आन्दोलनका क्रममा ज्यान गुमाएका प्रहरीका परिवारलाई नसम्झेकोमा प्रहरीले मन दुखाएको एक उच्च अधिकारीले डिसी नेपाललाई बताए।

सरकारले बराबरीकै नजरले हेर्छ कि भन्ने थियो तर हेरेन, उनले भने, भोलि यो सरकारको आदेश पालना गरेर भीड नियन्त्रणका ज्यानको बाजी लगाउन प्रहरीलाई कसरी मोटिभेट गर्नु त?

तर उनले सरकारसँग जुध्न आफैं रकम उठाएर राहत दिने निर्णय नगरिएको दावी पनि गरे। भने, जुध्न होइन हाम्रा पनि मानिस मरेका छन्, तिनका पनि परिवार छन्, यो कुरा नयाँ सरकारले विस्तारै बुझ्ला भन्ने लागेको छ।

 

नेपाल सरकार गृह मन्त्रालयले जारी गरेको संघ संस्था दर्ता, नियमन तथा व्यवस्थापन सम्बन्धी कानुनलाई एकीकरण गर्न बनेको विधेयक, २०८२ बारे गैर सरकारी संस्था (गैसस) महासंघले इलामका सञ्चारकर्मीहरुसँग बुधबार छलफल गरेको छ । नेपाल पत्रकार महासंघ इलामको सभाहलमा सञ्चारकर्मीहरुसँग छलफल गर्दै गैसस महासंघ इलामले विधेयक मस्यौदा सच्याउन माग गरेको छ ।

गैसस महासंघ अध्यक्ष भक्त थामीले विधेयकको मस्यौदा संकुचित भएकाले यसका कमजोरी सच्याएर मात्रै अघि बढाउनुपर्नेमा जोड दिए ।

उनले मस्यौदा नागरिक संघ संस्थाको अधिकार हनन गर्ने खालको आएको टिप्पणी गरे ।

मस्यौदा पञ्चायतकालीन खालको आएको छ । अहिलेको कानुनलाई पनि संकुचन गर्ने खालको आएको छ’ अध्यक्ष थामीले भने, ‘यसलाई सच्याउनुपर्छ, सुनुवाई भएन भने  हामी चरणबद्ध आन्दोलनमा जान बाध्य हुनेछौं ।’

थामीले नागरिक संस्थाको तर्फबाट गैरसरकारी संस्था महासंघ इलाम र मानव अधिकार एलायन्स इलामले ५० भन्दी बढी तीन महले भरेर संसोधनका लागि सुझाव गृह मन्त्रालयमा पठाएको बताए । सरकारले हालै राष्ट्रिय निर्देशन ऐन, २०१८, सङ्घ संस्था ऐन, २०३४, र समाज कल्याण ऐन, २०४९ लाई एकीकृत गरी सङ्घ संस्था दर्ता नियमन तथा व्यवस्थापनसम्बन्धी कानुनलाई एकीकरण गर्न बनेको विधेयक, २०८२ को मस्यौदा सार्वजनिक गरी सर्वसाधारणको राय माग गरेको थियो ।

सोही बमोजिम आफूहरुले असहमतिका बुँदासहित राय सुझाव पेश गरिएको अध्यक्ष थामीले बताए ।
,स्रोत नयाँ बुलन्द ,

इलामको रोङ गाउँपालिकामा मासिक रुपमा प्रत्येक घरबाट एक दिन अनिवार्य आफ्नो गाउँको विकासमा श्रम गर्ने अभियान सञ्चालन गरिएको छ ।

गाउँपालिकाले कार्यविधि नै बनाएर मासिक रुपमा प्रत्येक घरले महिनामा एक दिन अनिवार्य श्रम गर्ने गरी कार्यविधि बनाएर लागू गरेपछि अभियान सञ्चालन गरिएको हो ।

गाउँपालिकामा रहेका ५७ वटा टोलविकास संस्थामार्फत प्रत्येक घरले महिनामा एक दिन श्रम गर्न थालिएको छ ।

स्थानीय स्तरका सडक मर्मत, नालीको सरसफई, विद्यालय घेराबार ,मठमन्दिरको पुनर्निर्माण, सामुदायिक वनमा वृक्षरोपणदेखि सरकारी, सार्वजनिक सम्पत्तिको संरक्षणमा स्थानीय नागरिक सक्रिय भएर लागेको रोङ गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले जानकारी दिनुभयो ।

उहाँले विकासपछिको व्यवस्थापनमा अहिलेसम्म ध्यान नपुगेका कारण विकाश भएर पनि संरक्षण हुन नसेका संरचनको संरक्षणका लागि नागरिकलाई नै सक्रिय गराइएको जानकारी दिनुभयो ।

गाउँपालिकाले सुरुमा कार्यविधि बनाएर गाउँपालिका भित्रका ५७ वटै टोल विकासका पदाधिकारीलाई टोल विकासको काम, कर्तव्य र अधिकारका विषयमा प्रशिक्षण दिएको थियो । पालिकालले टोल विकाशको मासिक बैठकलगायतका लागि आवश्यक सामग्रीसहित प्रत्येक टोल विकास सञ्चालनका लागि वार्षिक २० हजार रुपियाँका दरले बजेटको व्यवस्थापन गरेको छ । 
अनिवार्य श्रम नगरे वडाको सिफारिस रोक्नेसम्मको कानुन निर्माण गरेको गाउँपालिकाले नीति निर्माण गरेर स्थानीय स्तरको व्यवथापकीय पक्षलाई मजबुत बनाउनका लागि टोल विकास संस्थामार्फत नागरिक परिचालन गरीएको गाउँपालिका अध्यक्ष स्याङ्बोले जानकारी दिनुभयो । उहाले भन्नुभयो, ‘‘हामी सीमित बजेटमा काम गर्छौ, सबै ठाउँमा एकै पटक बिकास गर्न सम्भव छैन, नागरिकले सरकारलाई दोष मात्र दिइने होइन, सरकारले गरेका काममा सघाउनुपर्छ भन्ने बानीको विकास गराउन खोजेका हौँ ।’’

गाउँपालिकाको रम्भ्याङको थर्पु टोल विकास संस्थाका अध्यक्ष युवराज आचार्यले गाउँपालिकाले सुरु गरेको श्रम संस्कृतिको अभियानमा नागरिकले उल्लेखनीय साथ दिएको जानकारी दिनुभयो । उहाँले सडकमा थुपारिएको गोलिया(काठ) हटाउन र गोलिया ओसारपसार बन्द गर्न टोल विकास संस्था लागि रहेको जानकारी दिनुभयो । सडक किनारमा राखिने गोलियाका कारण र ठूला सवारीमा गोलिया बोकेपछि सडक भत्किएर जाने भएकाले त्यसलाई हटाउन रोक्ने काम गरी सडक मर्मतको काम उक्त क्षेत्रमा टोल विकासमार्फत नागरिकले गरिरहेका छन् ।

मेची राजमार्गले छोएर झापा र भारतसँग सिमाना जोडिएको उक्त गाउँपालिका भौगोलिक रुपमा निक्कै विकट छ । आफ्नै पालिकाका कतिपय वडा जानका लागि झापा भएर मात्र पुगिन्छ । नागरिकको सहभागितामा विकासका सानातिना काम गर्दा पालिकाको खर्च समेत कम भएर जाने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार चौहानले जानकारी दिनुभयो । उहाँले नागरिक आफैँ सहभागि भएर गरिएका काममा नागरिकको समेत दायित्व र अपनत्व हुने भएकाले श्रम संस्कृतिको विकास गर्नुपर्ने बताउनुभयो ।

स्थानीयले सडक मर्मतदेखि संरक्षणका काम गर्न थालेपछि अहिले गाउँपालिकाको मुहार फेरिँदै गएको छ । उक्त अभियानका कारण पालिकाभित्रका धार्मिक तथा पर्यटकीय स्थल स्वच्छ र सफा बन्दै गएको चामेटार टोल विकास संस्थाका अध्यक्ष प्रदीप भुजेलले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘गाउँपालिकाले कार्यविधि बनाएपछि हामीलाई सबैलाई काममा एकजुट गराउन सहज भएको छ, आफनो गाउँ आफैँ बनाउनुपर्छ भन्ने संस्कृतिको यो अभियानले विकास गरेको छ ।’’ श्रम अभियानमा पालिका र वडाका जनप्रतिनिधि समेत सँगसँगै खटने गरिएको गाउँपालिका विष्णुमाया खवासले जानकारी दिनुभयो । कृषि क्षेत्रअन्तर्गत गुन्द्रुक, करेला, सिस्नो , कुचो, बेसार, महलगायतको उत्पादन, ब्राण्डिङ र बजारीकरणमा लागेको गाउँपालिकाले शिक्षा क्षेत्रको गुणस्तर सुधारका लागि मासिक रुपमा अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।  स्रोत प्रेम अधिकारी 

झापाको  बुद्धशान्ति २ स्थित श्री आदर्श माध्यमिक विद्यालयमा दुई दिवसीय अभिभावक भेला र हस्तकला सामग्री प्रदर्शनी सम्पन्न भएको छ ।

मिति २०८२ भदौ १६ गते कक्षा १ – ५ र १७ गते कक्षा ६ र ७ का अभिभावकहरू र विद्यालय परिवारबिच अन्तरक्रियात्मक भेला सम्पन्न हो ।आधारभूत तहको शैक्षिक गुणस्तर कसरी बढाउने भन्ने विषयमा केन्द्रित भेलाको अध्यक्षता विव्यस अध्यक्ष जीवन कुमार पोखरेलज्यूले गर्नुभएको थियो भने सञ्चालन आधारभूत तह इन्चार्ज डालिमकान्त आचार्यले गर्नु भएको थियो।

पहिलो दिनको भेलामा शिक्षक प्रतिनिधि लीलाधर खतिवडा र दोस्रो दिनको भेलामा विद्यालयका प्रधानाध्यापक हरिप्रसाद पोखरेलले कार्यक्रमको औचित्यसहित अभिभावकहरूलाई शब्द सुमनद्वारा स्वागत गर्नु भएको थियो।

भेलामा उपस्थित पिटिए अध्यक्ष ज्योति श्रेष्ठ, सदस्य द्वय मेनुका चापागाई, दुर्गा कुइकेलले अभिभावक र विद्यालय बिचको अन्तरक्रियाले शैक्षिक गुणस्तर सुधार गर्न अहम भूमिका खेल्ने हुँदा समय समयमा भेला गराइराख्नुपर्ने कुरामा जोड दिनुभएको थियो।सभाध्यक्षको तर्फबाट विव्यस अध्यक्ष जीवन कुमार पोखरेलले कार्यक्रमको औचित्यतामाथि प्रकाश पार्दै विद्यार्थीहरूको शैक्षिक गुणस्तर सुधार गर्नु, विद्यार्थीमा संस्कारको विकास गर्नु, पठन संस्कृतिको विकास गर्नु विद्यालयको कर्तव्य हुने भएकोले यस्तो बेला आयोजना गरिएको हो भन्ने कुरामा जोड दिनु भएको थियो।

यस्तै गरी विद्यालयका पूर्व शिक्षक डम्बर प्रधानले, मिति २०८२ भदौ १७ गते, आफूले तयार पार्नु भएका विभिन्न जनावर, चराचुरुङ्गी, दैनिक जीवनमा प्रयोग हुने सामग्री, हाम्रा पुर्खाहरूले आफ्ना जीवनमा प्रयोग गर्नुभएका कृषि औजारका सामग्री लगायतका विविध सामग्रीहरु(आफ्ना हस्तकला) प्रदर्शन गर्नु भएको थियो

यस्ता कार्यले विद्यार्थीमा सिर्जनात्मक क्षमता वृद्धि गर्ने र आफ्नो कला भएका विद्यार्थीहरूका लागि कलामा निखारता ल्याउने कुरामा  जोड दिँदै यस्ता प्रदर्शनी भइरहनुपर्ने कुरा विद्यालयका प्र अ हरिप्रसाद पोखरेलज्यूले स्पष्ट पार्दै पूर्व शिक्षक डम्बर प्रधानज्यूलाई बधाई ज्ञापन गर्नु भयो।

प्रदर्शनीको सहजीकरण विद्यालयका शिक्षक प्रेम श्रेष्ठले  गर्नु भएको थियो।

सामाजिक कार्यमा सक्रिय दारी ग्याङ झापाको वार्षिक कार्यक्रम अन्तर्गत झापा जिल्ला  बुद्धशान्ति गाउँपालिकाको बुधबारे तल्लो चोकमा यहि २०८२ भदौ २३ गते सोमबार  वृहत् रक्तदान कार्यक्रम आयोजना हुने भएको छ।झापाका ब्लड बैंकहरुमा चरम अभाव भईरहेको रगतको माग लाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम प्रत्येक वर्ष आयोजना गरिएको र  उपस्थिति भई रक्तदान जस्तो महान पुण्यको कर्ममा सहभागिताका निम्ति दारी ग्याङ झापाका अध्यक्ष गोकुल पौडेलले सबैमा अनुरोध समेत गर्नु भएको छ ।

काम खोज्नेलाई काम र सेवा खोज्नेलाई सेवा उपलब्ध गराउने पहिलो नेपाली फ्रिलाइन्स प्लेटफर्म ‘yahachha.com’ सार्वजनिक गरिएको छ । झापाको बिर्तामोडस्थित किंङसवेरी एक भव्य समारोहका बीच सोमवार व्यवसायिक अनलाईन पोर्टल ‘यहा छ’ को सार्वजनिक गरिएको हो । बिर्तामोड नगर प्रमुख पवित्रादेवी महतारा प्रसाईले रुटदेभ्स सफ्टवेयर डेभलपमेन्ट प्रालि.ले निर्माण गरेको व्यवसायिक अनलाईन पोर्टलको सार्वजनिक गर्नुभएको हो । प्रविधिको क्षेत्रमा रोजगारी सिर्जना गर्ने र सो क्षेत्रबाट सेवा लिन अब उक्त पोर्टल सुरु गरिएको हो ।

प्रविधिसँग सम्बन्धित कुनै पनि सेवाका लागि काम गर्नु परे वा गराउनु परेमा यो प्लेटफर्मको प्रयोग गर्न सकिने कम्पनीका रविन थापाले जानकारी दिए । उनका अनुसार ल्यापटप र इन्टरनेट हुने जो कोहिले कुनै पनि ठाउँमा बसेर काम गर्न सकिने बताए ।

स्वदेशमा रोजगार छैन भन्नेहरुलाई उनले प्रविधिको ज्ञान भए विदेश जानु नपर्ने अवगत गराए । सन् २०१६ देखि अन्तराष्ट्रिय स्तरमा सेवा गर्दै आएको कम्पनीले नेपालभरका लागि नयाँ कार्यक्रम ल्याएको हो । अनलाईन सेवा मार्फत गरिने काममा भुक्तानी खल्तीबाट गर्ने व्यवस्था मिलाइएको छ ।

रोजगार र सीपलाई जोड्ने माध्यमका रुपमा सार्वजनिक गरिएको ‘यहा छ’ ले दुवै पक्षका समस्याहरु समाधान गर्ने विश्वास गरिएको छ । कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख प्रसाईले युवाहरुले नेपालमै संभावना देखाउन गरेको प्रयासको प्रशंसा गर्नुभयो ।

केही हुदैन भन्नेहरुका लागि यो कामले बलियो उदाहरण पेश गरेको उहाँको भनाई थियो । प्रविधिको युगमा अति आवश्यक अनलाईन व्यवसायिक पोर्टल निर्माण गरेकामा धन्यवाद समेत दिनुभयो ।

सो अवसरमा उक्त कार्यक्रम निर्माणका लागि आवश्यक सहयोग गर्ने युवा व्यवसायी पदम श्रेष्ठलाई सम्मान समेत गरिएको थियो ।

सल्लाहकार रविन चापागाईको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले बिर्तामोडका अध्यक्ष सुवास भट्टराई, बिर्तामोड उधोग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपाने लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

पत्रकार रमेश तिवारीले सञ्चालन गरेको कार्यक्रममा कम्पनीका नविन भण्डारीले स्वागत गर्नुभएको थियो ।