February 17, 2026

इलामको रोङ गाउँपालिकामा मासिक रुपमा प्रत्येक घरबाट एक दिन अनिवार्य आफ्नो गाउँको विकासमा श्रम गर्ने अभियान सञ्चालन गरिएको छ ।

गाउँपालिकाले कार्यविधि नै बनाएर मासिक रुपमा प्रत्येक घरले महिनामा एक दिन अनिवार्य श्रम गर्ने गरी कार्यविधि बनाएर लागू गरेपछि अभियान सञ्चालन गरिएको हो ।

गाउँपालिकामा रहेका ५७ वटा टोलविकास संस्थामार्फत प्रत्येक घरले महिनामा एक दिन श्रम गर्न थालिएको छ ।

स्थानीय स्तरका सडक मर्मत, नालीको सरसफई, विद्यालय घेराबार ,मठमन्दिरको पुनर्निर्माण, सामुदायिक वनमा वृक्षरोपणदेखि सरकारी, सार्वजनिक सम्पत्तिको संरक्षणमा स्थानीय नागरिक सक्रिय भएर लागेको रोङ गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले जानकारी दिनुभयो ।

उहाँले विकासपछिको व्यवस्थापनमा अहिलेसम्म ध्यान नपुगेका कारण विकाश भएर पनि संरक्षण हुन नसेका संरचनको संरक्षणका लागि नागरिकलाई नै सक्रिय गराइएको जानकारी दिनुभयो ।

गाउँपालिकाले सुरुमा कार्यविधि बनाएर गाउँपालिका भित्रका ५७ वटै टोल विकासका पदाधिकारीलाई टोल विकासको काम, कर्तव्य र अधिकारका विषयमा प्रशिक्षण दिएको थियो । पालिकालले टोल विकाशको मासिक बैठकलगायतका लागि आवश्यक सामग्रीसहित प्रत्येक टोल विकास सञ्चालनका लागि वार्षिक २० हजार रुपियाँका दरले बजेटको व्यवस्थापन गरेको छ । 
अनिवार्य श्रम नगरे वडाको सिफारिस रोक्नेसम्मको कानुन निर्माण गरेको गाउँपालिकाले नीति निर्माण गरेर स्थानीय स्तरको व्यवथापकीय पक्षलाई मजबुत बनाउनका लागि टोल विकास संस्थामार्फत नागरिक परिचालन गरीएको गाउँपालिका अध्यक्ष स्याङ्बोले जानकारी दिनुभयो । उहाले भन्नुभयो, ‘‘हामी सीमित बजेटमा काम गर्छौ, सबै ठाउँमा एकै पटक बिकास गर्न सम्भव छैन, नागरिकले सरकारलाई दोष मात्र दिइने होइन, सरकारले गरेका काममा सघाउनुपर्छ भन्ने बानीको विकास गराउन खोजेका हौँ ।’’

गाउँपालिकाको रम्भ्याङको थर्पु टोल विकास संस्थाका अध्यक्ष युवराज आचार्यले गाउँपालिकाले सुरु गरेको श्रम संस्कृतिको अभियानमा नागरिकले उल्लेखनीय साथ दिएको जानकारी दिनुभयो । उहाँले सडकमा थुपारिएको गोलिया(काठ) हटाउन र गोलिया ओसारपसार बन्द गर्न टोल विकास संस्था लागि रहेको जानकारी दिनुभयो । सडक किनारमा राखिने गोलियाका कारण र ठूला सवारीमा गोलिया बोकेपछि सडक भत्किएर जाने भएकाले त्यसलाई हटाउन रोक्ने काम गरी सडक मर्मतको काम उक्त क्षेत्रमा टोल विकासमार्फत नागरिकले गरिरहेका छन् ।

मेची राजमार्गले छोएर झापा र भारतसँग सिमाना जोडिएको उक्त गाउँपालिका भौगोलिक रुपमा निक्कै विकट छ । आफ्नै पालिकाका कतिपय वडा जानका लागि झापा भएर मात्र पुगिन्छ । नागरिकको सहभागितामा विकासका सानातिना काम गर्दा पालिकाको खर्च समेत कम भएर जाने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार चौहानले जानकारी दिनुभयो । उहाँले नागरिक आफैँ सहभागि भएर गरिएका काममा नागरिकको समेत दायित्व र अपनत्व हुने भएकाले श्रम संस्कृतिको विकास गर्नुपर्ने बताउनुभयो ।

स्थानीयले सडक मर्मतदेखि संरक्षणका काम गर्न थालेपछि अहिले गाउँपालिकाको मुहार फेरिँदै गएको छ । उक्त अभियानका कारण पालिकाभित्रका धार्मिक तथा पर्यटकीय स्थल स्वच्छ र सफा बन्दै गएको चामेटार टोल विकास संस्थाका अध्यक्ष प्रदीप भुजेलले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘गाउँपालिकाले कार्यविधि बनाएपछि हामीलाई सबैलाई काममा एकजुट गराउन सहज भएको छ, आफनो गाउँ आफैँ बनाउनुपर्छ भन्ने संस्कृतिको यो अभियानले विकास गरेको छ ।’’ श्रम अभियानमा पालिका र वडाका जनप्रतिनिधि समेत सँगसँगै खटने गरिएको गाउँपालिका विष्णुमाया खवासले जानकारी दिनुभयो । कृषि क्षेत्रअन्तर्गत गुन्द्रुक, करेला, सिस्नो , कुचो, बेसार, महलगायतको उत्पादन, ब्राण्डिङ र बजारीकरणमा लागेको गाउँपालिकाले शिक्षा क्षेत्रको गुणस्तर सुधारका लागि मासिक रुपमा अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।  स्रोत प्रेम अधिकारी 

झापाको  बुद्धशान्ति २ स्थित श्री आदर्श माध्यमिक विद्यालयमा दुई दिवसीय अभिभावक भेला र हस्तकला सामग्री प्रदर्शनी सम्पन्न भएको छ ।

मिति २०८२ भदौ १६ गते कक्षा १ – ५ र १७ गते कक्षा ६ र ७ का अभिभावकहरू र विद्यालय परिवारबिच अन्तरक्रियात्मक भेला सम्पन्न हो ।आधारभूत तहको शैक्षिक गुणस्तर कसरी बढाउने भन्ने विषयमा केन्द्रित भेलाको अध्यक्षता विव्यस अध्यक्ष जीवन कुमार पोखरेलज्यूले गर्नुभएको थियो भने सञ्चालन आधारभूत तह इन्चार्ज डालिमकान्त आचार्यले गर्नु भएको थियो।

पहिलो दिनको भेलामा शिक्षक प्रतिनिधि लीलाधर खतिवडा र दोस्रो दिनको भेलामा विद्यालयका प्रधानाध्यापक हरिप्रसाद पोखरेलले कार्यक्रमको औचित्यसहित अभिभावकहरूलाई शब्द सुमनद्वारा स्वागत गर्नु भएको थियो।

भेलामा उपस्थित पिटिए अध्यक्ष ज्योति श्रेष्ठ, सदस्य द्वय मेनुका चापागाई, दुर्गा कुइकेलले अभिभावक र विद्यालय बिचको अन्तरक्रियाले शैक्षिक गुणस्तर सुधार गर्न अहम भूमिका खेल्ने हुँदा समय समयमा भेला गराइराख्नुपर्ने कुरामा जोड दिनुभएको थियो।सभाध्यक्षको तर्फबाट विव्यस अध्यक्ष जीवन कुमार पोखरेलले कार्यक्रमको औचित्यतामाथि प्रकाश पार्दै विद्यार्थीहरूको शैक्षिक गुणस्तर सुधार गर्नु, विद्यार्थीमा संस्कारको विकास गर्नु, पठन संस्कृतिको विकास गर्नु विद्यालयको कर्तव्य हुने भएकोले यस्तो बेला आयोजना गरिएको हो भन्ने कुरामा जोड दिनु भएको थियो।

यस्तै गरी विद्यालयका पूर्व शिक्षक डम्बर प्रधानले, मिति २०८२ भदौ १७ गते, आफूले तयार पार्नु भएका विभिन्न जनावर, चराचुरुङ्गी, दैनिक जीवनमा प्रयोग हुने सामग्री, हाम्रा पुर्खाहरूले आफ्ना जीवनमा प्रयोग गर्नुभएका कृषि औजारका सामग्री लगायतका विविध सामग्रीहरु(आफ्ना हस्तकला) प्रदर्शन गर्नु भएको थियो

यस्ता कार्यले विद्यार्थीमा सिर्जनात्मक क्षमता वृद्धि गर्ने र आफ्नो कला भएका विद्यार्थीहरूका लागि कलामा निखारता ल्याउने कुरामा  जोड दिँदै यस्ता प्रदर्शनी भइरहनुपर्ने कुरा विद्यालयका प्र अ हरिप्रसाद पोखरेलज्यूले स्पष्ट पार्दै पूर्व शिक्षक डम्बर प्रधानज्यूलाई बधाई ज्ञापन गर्नु भयो।

प्रदर्शनीको सहजीकरण विद्यालयका शिक्षक प्रेम श्रेष्ठले  गर्नु भएको थियो।

सामाजिक कार्यमा सक्रिय दारी ग्याङ झापाको वार्षिक कार्यक्रम अन्तर्गत झापा जिल्ला  बुद्धशान्ति गाउँपालिकाको बुधबारे तल्लो चोकमा यहि २०८२ भदौ २३ गते सोमबार  वृहत् रक्तदान कार्यक्रम आयोजना हुने भएको छ।झापाका ब्लड बैंकहरुमा चरम अभाव भईरहेको रगतको माग लाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम प्रत्येक वर्ष आयोजना गरिएको र  उपस्थिति भई रक्तदान जस्तो महान पुण्यको कर्ममा सहभागिताका निम्ति दारी ग्याङ झापाका अध्यक्ष गोकुल पौडेलले सबैमा अनुरोध समेत गर्नु भएको छ ।

काम खोज्नेलाई काम र सेवा खोज्नेलाई सेवा उपलब्ध गराउने पहिलो नेपाली फ्रिलाइन्स प्लेटफर्म ‘yahachha.com’ सार्वजनिक गरिएको छ । झापाको बिर्तामोडस्थित किंङसवेरी एक भव्य समारोहका बीच सोमवार व्यवसायिक अनलाईन पोर्टल ‘यहा छ’ को सार्वजनिक गरिएको हो । बिर्तामोड नगर प्रमुख पवित्रादेवी महतारा प्रसाईले रुटदेभ्स सफ्टवेयर डेभलपमेन्ट प्रालि.ले निर्माण गरेको व्यवसायिक अनलाईन पोर्टलको सार्वजनिक गर्नुभएको हो । प्रविधिको क्षेत्रमा रोजगारी सिर्जना गर्ने र सो क्षेत्रबाट सेवा लिन अब उक्त पोर्टल सुरु गरिएको हो ।

प्रविधिसँग सम्बन्धित कुनै पनि सेवाका लागि काम गर्नु परे वा गराउनु परेमा यो प्लेटफर्मको प्रयोग गर्न सकिने कम्पनीका रविन थापाले जानकारी दिए । उनका अनुसार ल्यापटप र इन्टरनेट हुने जो कोहिले कुनै पनि ठाउँमा बसेर काम गर्न सकिने बताए ।

स्वदेशमा रोजगार छैन भन्नेहरुलाई उनले प्रविधिको ज्ञान भए विदेश जानु नपर्ने अवगत गराए । सन् २०१६ देखि अन्तराष्ट्रिय स्तरमा सेवा गर्दै आएको कम्पनीले नेपालभरका लागि नयाँ कार्यक्रम ल्याएको हो । अनलाईन सेवा मार्फत गरिने काममा भुक्तानी खल्तीबाट गर्ने व्यवस्था मिलाइएको छ ।

रोजगार र सीपलाई जोड्ने माध्यमका रुपमा सार्वजनिक गरिएको ‘यहा छ’ ले दुवै पक्षका समस्याहरु समाधान गर्ने विश्वास गरिएको छ । कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख प्रसाईले युवाहरुले नेपालमै संभावना देखाउन गरेको प्रयासको प्रशंसा गर्नुभयो ।

केही हुदैन भन्नेहरुका लागि यो कामले बलियो उदाहरण पेश गरेको उहाँको भनाई थियो । प्रविधिको युगमा अति आवश्यक अनलाईन व्यवसायिक पोर्टल निर्माण गरेकामा धन्यवाद समेत दिनुभयो ।

सो अवसरमा उक्त कार्यक्रम निर्माणका लागि आवश्यक सहयोग गर्ने युवा व्यवसायी पदम श्रेष्ठलाई सम्मान समेत गरिएको थियो ।

सल्लाहकार रविन चापागाईको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले बिर्तामोडका अध्यक्ष सुवास भट्टराई, बिर्तामोड उधोग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपाने लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

पत्रकार रमेश तिवारीले सञ्चालन गरेको कार्यक्रममा कम्पनीका नविन भण्डारीले स्वागत गर्नुभएको थियो ।

झापाको बिर्तामोड नगरपालिकाले भूमिहिन सुकुम्बासी ९ जनालाई जग्गाको धनीपुर्जा वितरण गरेको छ।

नगरपालिकामा आज आयोजित कार्यक्रममा वडा नम्बर ७ का ९ जनालाई नगरप्रमुख पवित्रा महतारा प्रसाईले धनीपुर्जा वितरण गर्नुभयो। धनीपुर्जा प्राप्त गर्नेहरुमा निरानध्वज लिम्बु (२ कट्ठा ४ धुर), अमृतबहादुर लिम्बु (२ कट्ठा १७ धुर), निर्मला लिम्बु (१० धुर), हरिकला मगर (१ कट्ठा ९ धुर), मसीप्रकाश राई (७ कट्ठा ५ धुर), आईतराज लिम्बु (१ कट्ठा ७ धुर), मैतीमाया लिम्बु (९ कट्ठा १८ धुर), गुरुदेव घिमिरे (१ कट्ठा साढे १८ धुर) र कृष्णबहादुर थापा (६ कट्ठा ५ धुर) रहेका छन्। यसअघि बिर्तामोड नगरपालिकाले ३ जनालाई धनीपुर्जा वितरण गरेको थियो।

कार्यक्रममा बोल्दै नगरप्रमुख पवित्रा महतारा प्रसाईले आवश्यक प्रक्रिया पूरा भएकाहरुलाई छिट्टै धनीपुर्जा वितरण गरिने बताउनुभयो। यसका लागि आयोगको नगरस्तरीय टिमलाई काम तीव्र पार्न निर्देशन समेत दिनुभयो। उहाँले बिर्तामोडका जनता अब ‘सुकुम्बासी होइन, नगरवासी’ बन्नुपर्नेमा जोड दिनुभयो।

यस्तै वडा नम्बर ७ का वडाअध्यक्ष अविरल कृष्ण खरेलले सबै वडाले प्रक्रिया अघि बढाइरहेकाले नगरका १२ सय भन्दा बढी भूमिहिन सुकुम्बासीलाई धनीपुर्जा वितरण गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार वडा नम्बर ७ मा मात्र ३९ जना दलित, ९३ जना सुकुम्बासी र २७७ जना अव्यवस्थित परिवार रहेकोले सिफारिस गरेर पठाउने तयारी भइरहेको छ।

जग्गा प्राप्त गरेका गुरुदेव घिमिरेले धनीपुर्जा पाएपछि धितो राखेर विभिन्न काम गर्न सकिने भन्दै खुसी व्यक्त गर्नुभयो।

जग्गा श्रेष्ता, मोठ कायम गरेर वितरण गरिएकाले बैंकमा कारोबार गर्न पाउने भए पनि १० वर्षसम्म बिक्री–वितरण गर्न नपाइने व्यवस्था रहेको भूमि समस्या समाधान आयोग बिर्तामोडका प्रमुख बिमल पोखरेलले जानकारी दिनुभयो।

धनीपुर्जा वितरण कार्यक्रममा शिक्षा शाखा प्रमुख उपसचिव तिलचन भण्डारी, वरिष्ठ कार्यक्रम अधिकृत जय तिम्सिनासहितको उपस्थिति थियो।

झापाको बिर्तामोड नगरपालिका–२ स्थित जीवन ढुंगानाले सञ्चालन गरेको ग्रिन पार्क स्विमिङ पुलमा पौडी खेल्ने क्रममा एक जनाको मृत्यु भएको छ। बिर्तामोड नगरपालिका–३ का ३३ वर्षीय प्रकाश प्रसाई र वडा नम्बर १० का ३३ वर्षीय केशव शिवाकोटी आज दिउँसो पार्कमा घुम्न तथा पौडी खेल्न गएका थिए। सोही क्रममा प्रसाईको स्विमिङ पुलमा डुबेर ज्यान गएको जनाइएको छ।

स्विमिङ पुल सञ्चालकले साँझ ८:०० बजे इलाका प्रहरी कार्यालय अनारमनीलाई जानकारी गराएका थिए। जानकारी पाउनासाथ प्रमुख नायब उपरीक्षकको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो। घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

<span;>अछाममा छाउपडी (महिनावारी) बारेर त्रिपालमा बसेकी एक महिला र एक बालिकाको ढुंगाले लागेर मृत्यु भएको छ ।  पञ्चदेवल विनायक नगरपालिका-८ बरालामा सेरापानीस्थित चुरेखोली टोलमा महिनावारी बार्न बारीमा त्रिपाल टाँगिरहेको अवस्थामा ढुंगा खस्दा २८ वर्षीया निम खनाल र ७ वर्षीया बालिका कविता भण्डारीको ज्यान गएको अछाम प्रहरी प्रमुख डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

<span;>मृतक बालिकाकी आमा ३६ वर्षीया रत्नकला भण्डारीको टाउकोमा गम्भीर चोट लागेकाले थप उपचारका लागि सुर्खेत पठाइएको डीएसपी खनालले बताए ।

<span;>’प्रहरीको टोली घटनास्थल पुगिसकेको छ । दुई जना महिला महिनावारी भएको र छोरीलाई पनि साथमा लगेर बारीमा त्रिपाल टाँगेर बसेका रहेछन्,’ प्रहरी प्रमुख खनालले भने, ‘गाउँमा छाउगोठ छैन । तर त्रिपाल टाँगेर बस्ने रहेछन् । महिनावारीको समयमा यसरी त्रिपालमा बस्न बाध्य बनाइएको भए कानुनी प्रक्रिया अगाडि बढाउँछौँ ।’

<span;>गए राति स्थानीय चुरकुली भन्ने स्थानमा महिनावारी भएको भन्दै घरको आँगनमा त्रिपालमुनि सुतेका तीन जनालाई माथिबाट आएको ढुंगा लागेको प्रहरीको भनाइ छ । अछाममा छाउगोठ भत्काइए महिनावारी हुँदा महिलाहरू त्रिपालमुनि र ओडारमा बस्न थालेका छन् । २०६३ यता अछाममा मात्रै छाउगोठ र त्रिपाल टाँगेर बसेका १९ जना महिला तथा किशोरीको ज्यान गइसकेको छ । स्रोत कान्तिपुर

भारतको दिल्ली प्रहरीले नेपालीलाई ठगी गर्ने गिरोहका दुई सदस्यलाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूबाट दिल्ली प्रहरीले १३ थान नेपाली पासपोर्ट बरामद गरेको छ । विशेष अपरेसनको क्रममा प्रमुख आरोपी जयकाब र रूपेशलाई पक्राउ गरिएको छ । उनीहरूबाट १३ नेपालीको पासपोर्ट र डिजिटल प्रमाणहरू बरामद गरिएको छ,” दिल्ली क्राइम ब्रान्चका डीसीपी विक्रम सिंहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । पक्राउ परेका दुवै भारतीय नागरिक हुन् ।

दिल्ली प्रहरीका अनुसार, गिरोहले १९ जना नेपालीबाट एक करोड १२ लाख रुपैयाँ (भारतीय रुपैयाँ ७० लाख) ठगी गरेका थिए । 

यही भदौ ६ गते २२ वर्षीया नेपाली युवती सुजा खड्काले दिल्ली अपराध शाखामा लिखित उजुरी दिएपछि दिल्ली प्रहरीले अनुसन्धान अघि बढाएको थियो । खड्का दिल्लीको पहाडगञ्जस्थित गिल गर्ग होटेलमा बस्दै आएकी थिइन् । 

दिल्ली प्रहरीका अनुसार, खड्कासहित १९ नेपालीलाई जैकाबले २०२४ को अप्रिलमा दिल्लीको सीलमपुरमा भेटेका थिए । भेटमा जैकाले नेपालीहरूलाई विदेशमा जागिर लगाइदिने आश्वासन दिएका थिए । 

उनले नक्कली सर्बियाली भिसा र वर्क परमिट देखाएर नेपालीहरूको विश्वास जितेका थिए र १९ जनाको नेपाली पासपोर्ट आफूसँगै लगेका थिए,” दिल्ली प्रहरीले जनाएको छ । 

सन् २०२४ मेमा आरोपीले प्रत्येक नेपालीसँग तीन हजार ५०० युरो मागेका थिए । उक्त रकम उनले क्यूआर कोडमार्फत आफ्नै बैंक खातामा राख्न लगाएका थिए । 

जुलाई २०२५ मा जब सबै पीडितहरू रेलबाट दिल्ली पुगे, आरोपीहरूले बहाना बनाउन थाले र अन्ततः राहदानी र पैसा फिर्ता गर्न अस्वीकार गरे,” दिल्ली प्रहरीले जनाएको छ, “जब उनीहरूले विरोध गरे, आरोपीहरूले उनीहरूलाई कुट्ने धम्की पनि दिए । पछि, अनुसन्धानको क्रममा देखाइएका सबै भिसाहरू पूर्ण रूपमा नक्कली भएको पत्ता लाग्यो ।”

दिल्ली प्रहरीले ठगी गिरोहका सदस्य जयकाबलाई नोयडाबाट र रुपेशलाई दिल्लीबाट पक्राउ गरेको थियो । जयकाबको साथबाट १३ थान नेपाली पासपोर्ट बरामद गरिएको थियो । 

सोधपुछको क्रममा जयकाबले आफ्ना साथीहरू सग्ची, जोन उर्फ बिजोज र रूपेशको नाम खुलाएका थिए । त्यसपछि दिल्लीको छावलाको छावलास्थित स्ट्रीट नम्बर १, तर्शुल कालोनी, डी–९९ निवासी रूपेशलाई पक्राउ गरिएको थियो । अन्य आरोपितको खोजी कार्य जारी रहेको दिल्ली प्रहरीले जनाएको छ ।

दिल्ली प्रहरीका अनुसार, आरोपितहरूले नेपाली युवाहरूलाई विदेशमा जागिर दिने आश्वासन दिएर लोभ्याउने गर्थे । उनीहरूले नक्कली भिसा र वर्क परमिट देखाएर विश्वास जित्ने काम गर्थे । “उनीहरूले डिजिटल वालेटमार्फत ठूलो रकम उठाउँथे र पासपोर्टहरू आफैँसँग राख्थे । पैसा पाएपछि उनीहरू बेपत्ता हुन्थे,” दिल्ली प्रहरीले जनाएको छ । 

सोधपुछका क्रममा नेपालबाट कुल ६० लाख भारतीय रुपैयाँ ल्याइएको खुलेको थियो । उक्त रकम आरोपी जयकाबलाई नेपालका राजारामबाट पुगेको दिल्ली प्रहरीले बताएको छ । नेपाली नागरिक आशिष पाण्डेले नेपालबाट बैंक खाताहरू मिलाइदिएको भनाई दिल्ली प्रहरीको छ । 

विदेशमा रोजगारी प्रदान गर्ने दाबी गर्ने नक्कली र्‍याकेटहरूबाट सावधान रहनुहोस् । अपराध शाखा यस्ता संगठित गिरोहलाई पक्राउ गर्न र दोषीहरूलाई न्यायको कठघरामा ल्याउन पूर्ण रूपमा प्रतिबद्ध छ,” दिल्ली प्रहरीले भनेको छ । स्रोत १२ खरी।

बुद्धशान्ति गाउँपालिकाले नसर्ने रोगको रोकथाम तथा व्यवस्थापनलाई प्रभाबुद्धशान्तिवकारी बनाउन महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।बुद्धशान्ति गाउँपालिकाले नसर्ने रोगको रोकथाम तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।

गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा, कोशी प्रदेश सरकारको सहयोग तथा स्वास्थ्य कार्यालय झापाको प्राविधिक समन्वयमा सातै वडाका महिला स्वास्थ्य स्वयंसेविकालाई एक/एक थान डिजिटल बीपी सेट र एक/एक थान डिजिटल ग्लुकोमिटर हस्तान्तरण गरिएको हो।कार्यक्रममा गाउँपालिका अध्यक्ष मनोज प्रसाई उपाध्यक्ष भवानी प्रसाद खतिवडा स्वास्थ्य शाखा प्रमुख धिरेन्द्र यादव साथै स्वास्थ्यकर्मी , जनप्रतिनिधि तथा सरोकारवालाको समेत उपस्थिति रहेको थियो।

यस कार्यक्रममार्फत गाउँपालिका क्षेत्रभित्र देखिन सक्ने सम्भावित नयाँ नसर्ने रोगका चिन्ह वा लक्षण भएका बिरामीको प्रारम्भिक स्वास्थ्य परीक्षण गर्ने उद्देश्य राखिएको छ। स्थानीय बस्तीमा सहज रूपमा स्वास्थ्य सेवा पुगोस् भन्ने लक्ष्यसहित स्वयंसेविकाहरूलाई स्वास्थ्य सामग्री वितरण गरिएको जनाइएको छ। गाउँपालिकाले गाउँ–टोलमा स्वास्थ्य परीक्षणका लागि आउने स्वयंसेविकालाई सहयोग गर्न सम्पूर्ण स्थानीयवासीलाई आग्रह समेत गरेको छ।

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा इलामको सूर्योदय नगरपालिका कोशी प्रदेशमै पहिलो भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को नतिजा अनुसार स्थानीय तहको कार्यप्रक्रिया र उपलब्धीको आधारमा ९० दशमलव ५० अङ्कसहित सूर्योदय नगरपालिका कोशी प्रदेशका एक सय ३७ पालिका मध्ये पहिलो भएको हो । नतिजा अनुसार सूर्योदय नगरपालिका इलामका १० पालिकामध्ये पहिलो तथा देशका सात सय ५३ पालिकामा छैटौं स्थानमा परेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आ.व. २०८०/०८१ को नतिजाको गुणस्तर परीक्षण गर्दा सूर्योदय नगरपालिकाले शासकीय प्रवन्धमा ९, सङ्गठन तथा प्रशासनमा ८, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ८ दशमलव ५०, वित्तीय एवम् आर्थिक व्यवस्थापनमा ११, सेवा प्रवाहमा १३ दशमलव ५०, न्यायिक कार्य सम्पादनमा ७, भौतिक पूर्वाधारमा ११, सामाजिक समावेशीकरणमा ९, वातावरण संरक्षण तथा बिपद् व्यवस्थापनमा ८, सहकार्य र समन्वयमा ५ दशमलव ५० अङ्क गरी जम्मा ९० दशमलव ५० अङ्क प्राप्त गरी जिल्ला तथा कोशी प्रदेशको पहिलो तथा देशकै छैटौ स्थानमा पर्न सफल भएको छ ।

इलामकै इलाम नगरपालिका ९० अङ्कसहित कोशी प्रदेश तथा इलाम जिल्लाको दोस्रो भएको छ । त्यस्तै विराटनगर महानगरपालिका  ८७ दशमलव २५ अङ्कसहित प्रदेशमा तेस्रो भएको छ ।

सूर्योदय नगरपालिकाका नगरप्रमुख रणबहादुर राईले सबै कामलाई दिगो विकासका लक्ष्यसँग जोडेर काम गर्दा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको मूल्याङ्कन परीक्षणमा कोशीकै पहिलो हुन सफल भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘हामीले सबै कानुन कार्यविधि बनाएका छौँ, हामी कानुन कार्यविधिभित्र रहेर काम गर्छौ, यो सफलता त्यसैको हो ।’’

उहाँले विगतको अवस्थालाई रहेर नगरपालिका कहा चुकेको छ भन्ने पत्ता लगाएर काम गर्ने गरिएको जानकारी दिनुभयो । सूर्योदय नगरपालिका यस अघि आर्थिक विकास तर्फ देशकै पहिलो भएको थियो ।

सूर्योदय नगरपालिकाले सडकको २५ वर्षे गुरुयोजना निर्माण गरी काम गर्दै आएको छ । कार्यपालिका बैठकसहित नगरका सार्वजनिक महत्त्वका कार्यक्रम प्रत्यक्ष प्रसारण गर्दै आएको नगरले प्रत्येक चौमासिकमा पारदर्शीताका लागि सार्वजनिक सुनुवाइ गर्दै आएको छ ।

नगरलाई डिजिटलाइज गरी पेपरलेस अभियानमा लागेको नगरले सामुदायिक बिद्यालयको गुणस्तर सुधारका लागि निरन्तर प्रयास  गर्दै आएको छ । बालमैत्री नगर घोषणा गरीएको सूर्योदयले यस अघि नै वडा नं। ८ र ९ लाई वातावरणमैत्री नगरपालिका घोषणा गरीसकेको छ ।

नगरले वडा नं। ७ र ९ लाई पोषणमैत्री वडा घोषणाका लागि काम गरिरहेको छ ।

दिगो विकासका लक्ष्यलाई स्थानीयकरण गर्न लागि रहेको यस नगरलाई कोशी प्रदेश सरकारले यस अघि नै पर्यटकीय नगरी घोषणा गरेको थियो ।

इलाम जिल्ला तथा प्रदेशमै  सूर्योदय पहिलो र इलाम दोस्रो हुँदा ७९ दशमलव ५० अङ्कसहित सन्दकपुर गाउँपालिका जिल्लामा तेस्रो भएको छ ।

फाकफोकथुम गाउँपालिका ७८ दशमलव २५ अङ्कसहित चौथो, रोङ गाउँपालिका ७८ अङ्कसहित पाँचौँ, देउमाई नगरपालिका ७७ अङ्कसहित छैटौँ, माङ्सेबुङ गाउँपालिका ७४ अङ्कसहित सातौँ, चुलाचुली गाउँपालिका ७१ दशमलव ५० अङ्कसहित आठौँ, माई नगरपालिका ६६ दशमलव ५० अङ्कसहित नवौँ र माईजोगमाई गाउँपालिका ६१ दशमलव ७५ अङ्कसहित दशौँ तथा अन्तिम भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।